मुस्ताङमा बेपत्ता युवाको शव फेला प¥यो

जोमसोम ।

मुस्ताङमा जंगलमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका एक युवाको शव फेला परेको छ ।

बाग्लुङको निसी खोला गाउँपालिका—६ घर भई हाल मुस्ताङको घरपझोङ गाउँपालिका—५ फेन्ताङस्थित ईको ब्रो कृषि फार्ममा कार्यरत अन्दाजी २३ वर्षीय हिमाल बिक श्रीमतीसहित पाँच जनाको टोली शुक्रबार दिउँसो करिव ४ बजेको समयमा जंगलमा च्याउ टिप्न जादा धुम्बा खोला तर्ने क्रममा अचानक आएको लेदोसहितको बाढीले बगाउँदा निज बिकलाई बेपत्ता भएका थिए ।

धुम्बा खोलाको बाढीले युवालाई बगाउँदा बेपत्ता भएको सूचना सोही स्थानमा बस्ने डिल्लीजंग गुरुङले जानकारी गराएका थिए । घटना लगत्तै शुक्रबार सांझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली दुई समुहमा विभाजन भएर बेपत्ता युवाको खोजतलास सुरु गरिएको थियो । 

बेपत्ता युवाको ब्यापक खोजतलास गरिएको भएपनि पहिलोदिन बेपत्ता युवा फेला पर्न सकेन । घटनाको पहिलोदिन युवा फेला नपरेपछि आज दोस्रोदिन शनिबार बिहानैबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक बिकास क्षेत्रको कमाण्डमा नेपाल प्रहरीबाट ७ जना ,सशस्त्र प्रहरीबाट ७ जना ,नेपाली सेनाबाट १३ जना र एक्यापबाट २ जना गरी २९ जनाको टोलीले बेपत्ता युवाको खोजतलास सुरु गरेको थियो । 

प्रहरी निरीक्षक बिकास क्षेत्रीका अनुसार बेपत्ता युवाको खोजतलास गर्ने क्रममा घटना स्थलबाट  अन्दाजी ५ किलोमिटर तल साँझ ४ बजे फेला परेको थियो । धुम्बा खोला किनाराको बगरमा उत्तानो आधा शरिर हिलो बगरमा गडेको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक क्षेत्रीले बताउँनुभयो ।

घटनाबारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।


प्रतिक्रिया