कोरला सडकको दुई पुल र छुसाङ वस्ती जोखिममा

राष्ट्रिय गौरवको जोमसोम—कोरला सडक अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३  छुसाङमा अवस्थित दुई पक्की मोटरेबल पुलसहित छुसाङ वस्ती नदी कटानको उच्च जोखिम परेका छन् । बर्सेनि छुसाङ  स्थित नरसिंह ठाँडो खोला र (छुसाङ—चैले ) स्थित कालिगण्डकी नदीको उकास वृद्धि हुँदा कालिगण्डकी करिडोर अन्तर्गत कोरलानाका जोड्ने दुई पुल नदी कटानको जोखिममा परेको हो ।

बर्खायामको मनसुन र तापक्रम वृद्धि भई हिमऋखंला पग्लिएर कालिगण्डकी नदी र शाखा नदीको वहाव र शाखा नदीहरु उच्च हुँदा कालिगण्डकी नदीको तटीय वस्ती र सडक संरचना तथा पुलपुलेसाहरु जोखिममा पर्ने गरेका छन् । कमजोर भूबनोटका कारण बाढीले लेदो माटोसहितको ग्रेगानहरु बगाएर ल्याउँदा छुसाङको नरसिंह खोला र चैले खोलाको नदी उकास वृद्धि भएको हो ।

अघिल्लो शनिबार असार २७ गते दिउँसो कोरलानाका जोड्ने पक्की मोटरेबल पुलको पूर्वतर्फ नदी उकास बढेपछि छुसाङ स्थित नरसिंह खोला पुल र वस्ती जोखिममा परेको थियो । नरसिंह खोलाको वहाव उच्च भई बाढीले पुलको संरचना जोगाउँन लगाइएको ग्याविन वाल भत्काउँदा छुसाङ दक्षिणतर्फको तटीय वस्ती क्षेत्र जलमग्न भएको राष्ट्रिय प्रकृति संरक्षण कोष ,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका संरक्षण अधिकृत राजेश गुप्ताले जानकारी दिनुभयो । पुल क्षेत्रमा ग्रेगान भरिएर नदी उकास बढेपछि छुसाङ वस्ती भित्र बाढी पसेको संरक्षण अधिकृत गुप्तले जानकारी दिनुभयो । नरसिंह खोलाको बाढीले स्थानीयले भण्डारण गरी राखेको पशुचौपायाको मल बगाएको उहाँले उल्लेख गर्नुभयो ।

नरसिंह खोलामा नदी उकासका कारण पुल र वस्ती जोखिममा परेका कारण त्यहाँका वडाध्यक्ष बिनोद गुरुङसहित छुसाङका स्थानीयबासी र संरक्षण क्षेत्र व्यवस्थापन समितिले नरसिंह खोलालाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

 यसैगरी वारागुङ—३ स्थित छुसाङ—चैले जोड्ने कालिगण्डकी नदीमा अवस्थित पक्की पुल समेत नदी उकासका कारण जोखिममा परेको छ । चैले स्थित पक्की पुलमाथि उत्तरतर्फको फलामे साँगो पुलको माथि खोंचमा ग्रेगान थुप्रिएर नदी उकास बढेको एक्याप संरक्षण अधिकृत गुप्ताले बताउँनुभयो । उक्त खोलामा पनि नदी उकास घटाएर पुलको जोखिम कम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।

छुसाङ स्थित कोरलानाका जोड्ने दुई पक्की पुल र वस्ती नदी उकासका कारण जोखिममा परेसंगै बिहिबार जिल्ला सुरक्षा समितिको टोलीले उक्त क्षेत्रको स्थलगत अवलोकन गरेको छ । प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेनासहित एक्याप,वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाका प्रतिनिधिहरुले छुसाङमा अवस्थित जोखिममा परेको पुल र वस्ती क्षेत्रको निरीक्षण गरेको एक्याप प्रमुख गुप्तले जानकारी दिनुभयो ।

 जोखिम क्षेत्रमा पुगेको जिल्ला सुरक्षा समितिको टोलीले नरसिंह खोला र चैले खोलामा बाढीका कारण थुप्रिएको नदी उकास कम गर्न आवश्यक पहल गर्ने निर्णय गरेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका,कालिगण्डकी करिडोर र एक्याप लगायत स्थानीयको सहयोगमा स्काभेटर (डोजर) परिचालन गरी छुसाङ पुल र चैले पुलको नदी उकास घटाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उपकरणको व्यवस्था गरी छुसाङ पुल र चैले पुलको नदीजन्य गेग्रान पन्छाएर जोखिम कम गरिने अध्यक्ष गुरुङको भनाई छ ।

 यसैगरी कोरला सडक अन्तर्गत घरपझोङ गाउँपालिका—३ स्याङ खोलामा नदी उकास बढेपछि मार्फा संरक्षण व्यवस्थापन समितिको पहलमा अमित बिल्डर्सको निःशुल्क डोजर सहायत गरिएपनि स्याङ खोलाको वाहवलाई प्राकृतिक धारमा बग्ने गरी नियन्त्रणमा लिइएको थियो ।

यस्तै, कोरला सडक अन्तर्गत मार्फा खोलामा पनि बेनी—जोमसोम—कोरला सडक आयोजनाले नदी उकास घटाउन उपकरण परिचालन गरेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । मार्फा राज खोलाको प्राकृतिक धारमा नदीजन्य पदार्थले उकास बढेकाले जोखिम कम गर्न गेग्रान पन्छाउने कार्य भईरहेको उहाँको भनाई छ ।


प्रतिक्रिया