मुस्ताङ,७, साउन ।
आव २०८२÷०८३ को साउनदेखि असार महिनासम्म सात लाख ७७ हजार ७६६ जना पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । यसअघिको आव २०८१÷०८२ मा सात लाख ५ हजार ७७९ जना पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार आव २०८१÷०८२ भन्दा आव २०८२÷०८३ मा स्वदेशी र विदेशी गरी एकहत्तर हजार ९८७ जना पर्यटक वृद्धि भएको हो । यो संख्या अघिल्लो आवमा भन्दा गत आवमा (१०.१९) प्रतिशतले वृद्धि भएको हो ।
आव २०८२÷०८३ को बाह्र महिनामा स्वदेशी पर्यटक चार लाख ८२ हजार ५३७ जना र विदेशी पर्यटक दुई लाख ९५ हजार २२९ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेका हुन् ।
आव २०८१÷०८२ को तुलनामा आव २०८२÷०८३ मा हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने स्वदेशी पर्यटक संख्या घटेको छ भने विदेशी पर्यटकको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले प्रविष्ट गरेको पर्यटक तथ्यांक अनुसार आव २०८१÷०८२ को भन्दा आव २०८२÷०८३ मा स्वदेशी पर्यटक बहत्तर हजार ७८९ जना अर्थात (१५.०८) प्रतिशतले घटेको छ । विदेशी पर्यटक एक लाख ४४ हजार ७७६ जना अर्थात ( ९६.२२ं) प्रतिशतले बढेको हो ।
आव २०८१÷०८२ को बाह्र महिनामा स्वदेशी पर्यटक पाँच लाख ५५ हजार ३२६ जना र विदेशी पर्यटक एक लाख ५० हजार ४५३ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । यसैगरी आव २०८०÷०८१ मा स्वदेशी तथा विदेशी पर्यटक गरी चार लाख ५४ हजार ३२६ जनाले मुस्ताङको भ्रमण गरेका थिए । जसमध्ये स्वदेशी पर्यटक तीन लाख ५४ हजार ९२७ जना र विदेशी पर्यटक उनान्सय हजार ३९९ जनाले मुस्ताङको भ्रमण गरेको प्रहरीले प्रविष्ट गरेको तथ्यांकमा उल्लेख छ ।
आव २०८२÷०८३ को साउनदेखि असार महिनासम्मको तुलनामा सबै भन्दा बढी पर्यटक बैशाखमा एक लाख ५ हजार ५०३ जना र जेठ महिनामा एक लाख ३१ हजार ७७७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो । यसैगरी सबैभन्दा कम पर्यटक साउन महिनामा उन्नाईस हजार ७८१ जना र भदौ महिनामा तेईस हजार २०५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।
मुस्ताङमा आव २०८२÷०८३ मा सबैभन्दा बढी विदेशी पर्यटक जेठ महिनामा नब्बे हजार ९३९ जना र सबै भन्दा कम विदेशी पर्यटक माघ महिनामा एक हजार ८६० जना र साउन महिनामा दुई हजार ११७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक महतले उल्लेख गर्नुभयो ।
आव २०८१÷०८२ को जेठ महिना भन्दा आव २०८२÷०८३ को जेठ महिनामा छैसठ्ठी हजार ५६७ जना अर्थात (२७३.१२) प्रतिशतले विदेशी पर्यटकको सख्या वृद्धि भएको हो । आव २०८१÷०८२ को जेठ महिनामा चौबिस हजार ३७२ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेकामा आव २०८२÷०८३ को जेठ महिनामा नब्बे हजार ९३९ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका प्रहरी निरीक्षक महतको भनाई छ ।
मुस्ताङमा पछिल्लो समय भारतीय पर्यटकको आगमन संख्या अपेक्षाकृत वृद्धि भईरहेको छ । गत बैशाखदेखि जेठ महिनासम्म मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको उपस्थिती उल्लेख्य रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । भारतमा अत्यधिक गर्मी बढेकाले भारतीय पर्यटक गर्मी छल्न मुस्ताङ आएको प्रहरीको भनाई छ । मुस्ताङ भित्रिएका विदेशी पर्यटकको संख्या मध्ये ८५ प्रतिशत बढी भारतीय पर्यटक रहेको प्रहरीको भनाई छ ।
मुस्ताङमा विदेशी पर्यटकको संख्या वृद्धि भईरहेपनि गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलन प्रभावका कारण स्वदेशी पर्यटकको मुस्ताङ आगमन अपेक्षाकृत रुपमा घट्न पुगेको हो ।
धार्मिक तथा पर्यटक जिल्ला मुस्ताङमा स्वदेशी तथा विदेशी पर्यटकको मुख्य गन्तब्य मुक्तिनाथ मन्दिरको दर्शन हुने गरेको छ । मुस्ताङ भित्रिएका अधिकाँश भारतीय तथा नेपाली पर्यटकहरु मुक्तिनाथ दर्शन गरी फर्किने गरेका छन् ।
यसैगरी अन्य मुलुकका विदेशी पर्यटक भने राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग हुँदै मुस्ताङ भित्रिने गरेका छन् कतिपय उपल्लो मुस्ताङको भ्रमण गरी फर्किने गरेको पाईएको छ । पछिल्लो समय मुक्तिनाथ दर्शनका लागि आएका स्वदेशी पर्यटक मध्ये आशिंकले मात्रै उपल्लो मुस्ताङ र कोरलानाका पुगेर फर्किने गरेका छन् ।
ऐतिहाँसिक,धार्मिक ,सांस्कृतिक,जैविक विविधता र मुस्ताङको प्राकृतिक सौन्दर्य अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकले रुचि देखाउने गरेका छन् । कोरलानाका,लोमान्थाङ दरबार,झोङ गुफा,चराङ गुफा,लोघेकर गुम्बा,चिउसी गुफा,कागबेनी,ढुम्बाताल, यारुझो भ्युटावर लगायतका पर्यटक गन्तब्यहरुको अवलोकन गर्न विदेशी पर्यटकको आगमन संख्या वृद्धि हुँदै जान थालेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली