उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा हिउँ चितुवा र ब्वासोको आक्रमणबाट पाँच सय ४४ पशुधन क्षति भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) लोमान्थाङको विवरण अनुसार पछिल्लो तीन आर्थिक वर्षमा हिउँ चितुवा र ब्वाँसोको आक्रमणबाट उपल्लो मुस्ताङमा उक्त संख्यामा पशुधनमा क्षति हुँदा एक सय ९० वटा घटना दर्ता भएका छन् ।
एक्याप लोमान्थाङ प्रमुख उमेश पौडेलका अनुसार पछिल्लो तीन आवमा उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणमा परी चार सय ६ वटा र ब्वाँसोको आक्रमणमा परी एक सय ३८ वटा पशुधनमा क्षति पुगेको हो । हिउँ चितुवा र ब्वाँसोको आक्रमणबाट गाई ९,च्यांग्रा ३८६,भेडा ६६, याक ३८ र घोडा ४५ वटा पशुधन क्षति भएको एक्याप प्रमुख पौडेलले जानकारी दिनुभयो ।
एक्यापले वन्यजन्तुबाट पशुधनमा क्षति भएका किसान घरधुरीहरुलाई वन्यजन्तु क्षति राहत निर्देशिका बमोजिम राहत रकम उपलब्ध गराउने गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोेदरकुण्डमा हिउँ चितुवा र ब्वाँसोको आक्रमणबाट पशुधनमा क्षति व्यवहोर्न पुगेका किसान घरधुरीहरुलाई एक्याप लोमान्थाङले तीन आर्थिक वर्षको पशुधन क्षति राहत रकम दुई आर्थिक वर्षमा भुक्तानी गरिसकेको छ ।

एक्याप लोमान्थाङले वन्यजन्तुबाट भएको पशुधन क्षति वापतको राहत रकम आव २०८१/०८२ मा उन्नाईस लाख २० हजार र आव २०८२/०८३ मा चवालिस लाख २९ हजार ५०० रुपैया गरी उन्साठी लाख ४९ हजार ५०० रुपैया पशुधन क्षति भएका सम्वन्धीत किसानहरुको बैंक खातामा भुक्तानी दिलाईसकेको जनाएको छ । एक्याप लोमान्थाङ प्रमुख पौडेलले तीन आर्थिक वर्ष वन्यजन्तु क्षति वापतको पशुधन राहत दुई आवमा पुरै भुक्तानी गरेको बताउँनुभयो ।
एक्यापले वन्यजन्तु र मानवबीच सहअस्तित्व कायम गर्न पशुधन क्षति भएका पीडित पशुपालक किसानलाई निर्देशिकामा उल्लेख भएअनुरुप राहत रकम सम्वन्धीत किसानलाई उपलब्ध गराउँदै आईरहेको जनाएको छ ।
एक्याप क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति हुने किसानलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट राहत रकम उपलब्ध हुन्छ । तर, विभागबाट प्राप्त हुने राहत रकम समयमै उपलब्ध नहुँदा पशुपालक किसानहरु समस्यामा पर्ने गरेका थिए । पछिल्लो समय विभागबाट प्राप्त हुने क्षति राहत रकम समयमै उपलब्ध नभएपनि एक्याप कार्यालयको आन्तरिक कोषबाट उपलब्ध गराउने गरी पशुधन क्षति राहत रकम वितरण प्रक्रियालाई छिटो छरितो तुल्याउने गरिएको प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।
पछिल्लो समय उपल्लो मुस्ताङमा हिउँ चितुवा र ब्वाँसोको आक्रमणबाट पशुधनमा क्षति हुने घटनाहरु बढ्दै जान थालेको छ । स्थानीय किसानले पालन गरेका पशुधनहरुलाई चरनक्षेत्र र गोठमै हिउँ चितुवा र ब्वाँसोले आक्रमण गरी क्षति पु¥याउँने घटनाले पशुपालन व्यवसायनै संकटमा पर्न थालेको हो । सदिंयौं वर्षदेखि पुख्यौली व्यवसायका रुपमा पालन हुँदै आईरहेको याकचौरी, भेडाच्यांग्रा र घोडाहरुमा वन्यजन्तुको जोखिम बढेका कारण स्थानीय किसानहरु चिन्तित छन् ।
एक्यापले वन्यजन्तुको जोखिम न्यूनिकरण गर्ने उद्देश्यले गोठ र खोर सुधारका साथै फक्स लाईट उपकरणहरु समेत वितरण गर्दै आईरहेको जनाएको छ ।
जलवायु परिवर्तनका कारण उच्चलेंक,खर्क र पाटनहरुमा पानीको मुहान घट्दै जाने, चरनक्षेत्रमा अनाधिकृत घाँसहरु पलाउँदै जाने लगायतका कारण हिमालका वन्यजन्तुहरु वस्ती नजिक देखा पर्न थालेका छन् । हिउँ चितुवाको आहारा प्रजाती नाउर आहाराको खोजीमा तल झर्ने भएका कारण हिउँ चितुवाको जोखिम बढ्दै जान थालेको किसानहरु बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली