मुस्ताङमा जुवाखालबाट एक लाख २१ हजार नगदसहित १२ जना व्यक्ति पक्राउ

यहाँको घरपझोङ गाउँपालिका—४ जोमसोममा एक लाख  २१ हजार ६४० रुपैयाँ नगद र चार बुक ताससहित १२ जना जुवाडे शुक्रबार साँझ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट एक किलोमिटरको दुरीमा पर्ने जोमसोम स्थित गणेश मन्दिर नजिकै संञ्चालनमा रहेको जोमसोम ईन क्याफे एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेका अवस्थामा प्रहरीले १२ जना जुवाडेहरुलाई रंगेहात पक्राउ गरेको हो ।

 स्थानीय गणेश शेरचनले संञ्चालन गरेको जोमसोम ईन क्याफे एण्ड रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने विशेष गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा १५ जनाको प्रहरी टोलीले उक्त क्याफे एण्ड रेष्टुरेन्टमा छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक बस्यालले होटल संञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका मुस्ताङका अनुसार मुस्ताङको जोमसोममा जुवातास खेलिरहेको अवस्थामा उक्त क्याफे एण्ड रेष्टुरेन्टका संञ्चालक शेरचनसहित घरपझोङ—४ जोमसोम बस्ने ५४ वर्षीय सुनिलकुमार शेरचन, ५८ वर्षीय राजेन्द्र शेरचन,घरपझोङ—५ ठिनी बस्ने ४५ वर्षीय संञ्जय थकाली, ४१ वर्षीय समतोङ गुरुङ, ३८ वर्षीय महेश थकाली र ५२ वर्षीय रविकुमार थकाली पक्राउ परेका हुन् ।

 यसैगरी घरपझोङ—३ स्याङका ४३ वर्षीय सन्त बहादुर मजाकोटी, ६७ वर्षीय फलेन्द्रप्रसाद थकाली, कास्की पोखरा महानगर पालिका—१७ घरभई हाल जोमसोम बस्ने ४३ वर्षीय श्यामराज बराल,रामेछाप उमाकुण्ड गाउँपालिका—३ घर भई हाल जोमसोम बस्ने ४६ वर्षीय आङपासाङ शेर्पा र गोरखा जिल्ला गोरखा नगरपालिका—९ घर भई हाल जोमसोम बस्ने ३४ वर्षीय सदिप रानालाई जुवाखालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ परेका जुवाडेहरुलाई आवश्यक कारवाहीका लागि आईतबार म्याद थप गरिने जनाएको छ ।

प्रतिक्रिया