मुस्ताङको घार गुम्बामा आवास भवन उद्घाटन

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ मराङमा अवस्थित विश्वकै पहिलो र पुरानो दावी गरिएको तेह्र सय वर्ष पुरानो ऐतिहाँसिक तथा धार्मिक महत्वको लोघेकर गुम्बा अर्थात घार गुम्बाको आवासिय भवन शुक्रबार उद्घाटन गरिएको छ ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका नागरिकहरुको उल्लेख्य उपस्थितीमा शुक्रबार बौद्ध धर्म गुरु परमपूज्यनीय ४२ औँ साक्या त्रिजिन रत्न वज्र रिन्पोर्छेद्वारा गुम्बाको दुई तले आवासिय भवनको उद्घाटन गरिएको हो । 


उपल्लो मुस्ताङको मराङमा अवस्थित लोघेकर(घार) गुम्बा आठौ शताब्दीमा गुरु पद्यसम्भवले निर्माण गरिएको बौद्ध धर्मग्रन्थहरुमा उल्लेख छ । ऐतिहाँसिक ,धार्मिक र सांस्कृतिक दृष्ट्रिकोणले अत्यन्तै महत्वपूर्ण घार गुम्बाको निर्माणपछि नेपालमा बौद्ध धर्म स्थापित हुन थालेको बताईन्छ ।

 समून्द्री सतहको करिव चार हजार ५०० मिटरको उचाईमा अवस्थित मराङ गाउँको भिरालो पाखोमा त्यससमय गुरु पद्यसम्भवले गुम्बा निर्माण गरेको बताईन्छ । गुरु पद्यसम्भवले निर्माण गरेको ऐतिहाँसिक घार गुम्बाको स्थापना सम्वन्धी निकै चाखलाग्दो कथा रहेको छ । तिब्बतका साम्य गुम्बा निर्माणको सहायताका लागि आएका गुरु पद्यसम्भवले गुम्बा निर्माण गरेको स्थानमा राक्षसको अन्तिम समाधि गरेको धार्मिक किंवदन्ती रहेको छ ।

विश्वकै पहिलो र पुरानो दावी गरिएको ऐतिहाँसिक तथा धार्मिक महत्वको लोघेकर (घार) गुम्बामा बस्ने गुरुहरु बौद्ध भिक्षु,अध्ययन अनुसन्धानका लाग आउने विद्यार्थी,साधक, तीर्थयात्री तथा स्वदेश तथा विदेशी श्रद्धालुहरुका लागि आवश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले गुम्बाको सुविधा सम्पन्न आवासिय भवन निर्माण गरिएको हो । भवन निर्माणसंगै धार्मिक पर्यटनको विकाससंगै स्थानीयको आर्थिक गतिविधि र सांस्कतिक आदान—प्रदानलाई थप सुदृढ तुल्याउने अपेक्षा गरिएको छ ।


ऐतिहाँसिक लोघेकर (घार)गुम्बाको दर्शन गर्न आउने भक्तजन तथा भिक्षुहरुको खाने बस्ने लगायतको व्यवस्थापनका लागि संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा आवासिय भवन लगायतका पूर्वाधारहरु निर्माण सम्पन्न र निर्माणको चरणमा रहेको बताईएको छ ।

लोघेकर (घार) गुम्बाको आवासिय भवन तथा अन्य पूर्वाधारका लागि हालसम्म  पाँच करोड ७८ लाख बढी बजेट खर्च भईसकेको  गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । अध्यक्ष बिष्टका अनुसार  गुम्बाको आवासीय भवन निर्माण गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट तीन करोड ११ लाख र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट एक करोड ४७ लाख गरी चार करोड ५९ लाख बढी लागतमा सुविधा सम्पन्न दुई तले आवासीय भवन निर्माण सम्पन्न भएको हो ।

 गाउँपालिकाका अनुसार ऐतिहाँसिक तथा धार्मिक गुम्बा व्यवस्थापनका लागि आव २०७६/०७७ मा गुम्बाको पुरानो स्टोर कोठा मर्मतका लागि दश लाख, आव २०८१/०८२ मा गुम्बा परिसरमा छप्पनी ढुगा बिच्छ्याउन उन्नाईस लाख ७८ हजार रुपैया खर्च गरिएको छ ।

 यसैगरी आव २०८२ /०८३ मा  छप्पनी ढुंगा बिच्याउने प्रयोजनका लागि एकहत्तर हजार ४६ लाख बिनियोजन भएको थियो भने चालु वर्ष गुम्बा रहेको स्थानमा घेराबारसहितको पार्किङ स्थल निर्माण गर्न अठार लाख रुपैया बजेट विनियोजन भईसकेको छ ।

यसअघि गुम्बाको आवासीय भवन उद्घाटनका अवसरमा बौद्ध धर्म गुरु परमपूज्यनीय ४२ औँ साक्या त्रिजिन रत्न वज्र रिन्पोर्छे लगायत बौद्ध भिक्षुहरुले विशेष धार्मिक पुजापाठ गर्नुभएको थियो । सो अवसरमा गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले विश्वकै पहिलो र पुरानो दावी गरिएको लोघेकर (घार) गुम्बाको संरक्षण,सम्वद्धन र प्रवद्र्धनमा सरकारले उच्च प्राथमिकता दिएको बताउँनुभयो । सरकारले गुम्बाको पूर्वाधार निर्माणका साथै घार गुम्बालाई विश्व समुदाय माँझ यसको महत्व झल्काउने नेपाली सिक्कामा घार गुम्बाको फोटो राख्ने तयारी भईरहेको उल्लेख गर्नुभयो ।

 गाउँपालिका उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले उपल्लो मुस्ताङको धार्मिक ऐतिहाँसिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गर्न सकिएमात्रै यस क्षेत्रको धार्मिक पर्यटनमा टेवा पुग्ने उल्लेख गर्नुभयो । घार गुम्बा उपल्लो मुस्ताङको प्रमुख धार्मिक स्थल रहेकाले यसको महिमा अधिक रहेको उपाध्यक्ष गुरुङको भनाई छ ।

 झन्डै तेह्र सय वर्ष पुरानो ऐतिहाँसिक तथा धार्मिक महत्वको लोघेकर (घार)गुम्बा २०७२ सालको महाभुकम्पको पराकम्पनले गुम्बाको भौतिक संरचनामा क्षति पुगेको थियो । गुम्बाको पूननिर्माण तथा जिर्णोद्धारका लागि अमेरिकी राजदुताबासले आर्थिक सहयोग गरेको थियो ।

गुम्बाको अमेरिकी राजदुताबासको सांस्कृतिक कोषको अनुदान दुई लाख ८५ हजार अमेरिकी डलर सहयोगमा  सन् २०२३ मा  नर्वुसुङ फाउन्डेसनले साविकको भौतिक संरचना नमासिने गरी जिर्णोद्धार सम्पन्न गरेको थियो ।


प्रतिक्रिया