जोमसोम—गएको स्थानीय तह निर्वाचन २०७९ मा नेकपा(एमाले) पार्टीकातर्फबाट मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फाका युवा नेता दिपक लालचन घरपझोङ गाउँपालिकाको अध्यक्ष पदका लागि प्रत्यासी थिए । त्यस समय उनीसंगै आधा दर्जन आकांक्षी एमालेबाट घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेवारी दिने लाईनमा थिए । लालचन त्यससमय आफुलाई अब्बल सावित गर्दै घरपझोङको अध्यक्ष बन्न पार्टीमा लबिङ गरे ।
एमाले जिल्ला कमिटीमा घरपझोङ गाउँपालिकाको उम्मेदवार छान्न निकै सकस प¥यो । अन्तत एमालेबाट मार्फाका युवा नेता लालचनले उम्मेदवारको टिकट आफ्नो पोल्टोमा पारे । दिनभरीको बैठकले साँझ जिल्ला कमिटी मुस्ताङले लालचनलाई घरपझोङको अध्यक्ष पदमा उठाउने गरी टिकट सुम्पियो । तर, एमाले मुस्ताङले सुम्पिएको त्यो टिकट २४ घण्टा पनि टिक्न सकेन ।
त्यस समय एमालेबाट अनुमोदन भएको टिकट लिएर घर पुगेका लालचन राति पूनः युटर्न भए । उनले पारिवारिक समस्या र आफ्नो आन्तरिक कारण दर्शाउदै आफुले पाएको अध्यक्षको टिकट पार्टीलाई फिर्ता गर्दै आफु अध्यक्ष नबन्ने सार्वजनिक गरे । त्यसपछि एमाले मुस्ताङमा उम्मेदवार को बन्ने भन्ने खैलाबैला मच्चियो । त्यसबेला चुनावी सरगर्मीकाबीचमा लालचनको युटर्नले पार्टीमा एक खाले निरासा जन्मायो । लालचन युटर्न भएपछि एमाले मुस्ताङले फेरी घरपझोङ—१ चिमाङका संञ्जयकुमार थकालीलाई अध्यक्ष पदमा सिफारिस ग¥यो । संञ्जय गएको स्थानीय तह निर्वाचनमा मार्फाका मोहनसिंह लालचनसंग २ मतको अन्तरले पराजित हुन पुगे । त्यससमय लालचन युटर्न नभएको भए एमालेले घरपझोङको अध्यक्ष पदमा बिजय हासिल गर्ने संम्भावना बलियो थियो ।
गएको स्थानीय तह निर्वाचनमा पाएको टिकट त्यागेका लालचनको विश्वसनीयता माथि एमाले मुस्ताङले अविश्वास र आशंकाले हेर्ने थाल्यो । तर, लालचन त्यससमय आफुले कारणवश पार्टीप्रती गुमाएको धब्बा मेट्न चाहन्थे । यही मनसायका साथ लालचन शिङ्गो एमाले मुस्ताङको बागडोर हाक्ने रेशमा उभिए । उनलाई मैले पार्टीलाई धोका दिएको होईन, बाध्यता र परिस्थितीले धोका दिएको प्रमाणित गर्न चाहन्थे ।
शनिबार एमाले मुस्ताङको अधिवेशन रोनक जोमसोममा थियो । पार्टीका केन्द्रिय उपमहासचिव पिस.एस. गुरुङ,सचिव गोकर्णराज बिष्ट र गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा लगायतको टोली अधिवेशनका लागि जोमसोम आईपुगे । गएको संघ तथा प्रदेश निर्वाचनमा क्लीनसीप भएको एमाले मुस्ताङले आफुलाई संगठन मजबुद गर्ने दर्बिलो नेतृत्वको खोजी गर्दै थियो । त्यही एमाले मुस्ताङके अध्यक्ष बन्ने रेशमा थिए शर्मिला गुरुङ,बिनोद बिसी र दिपक लालचन । ३ जना प्रत्यासीकाबीचमा पार्टी पंक्तिमा घनिभुत छलफल भयो, ५ तहका नेताकर्तासंग रायसंकलन लिईयो । त्यसपछि पार्टी नेता तथा कार्यकर्ताको नजरमा परे मार्फाका युवा नेता लालचन । शनिबार साँझ सम्पन्न एमाले मुस्ताङको ८ औं जिल्ला अधिवेशनमा लालचनलाई सर्वसम्वत हुनेगरी एकल उम्मेवारी दिन लगाईयो । फलत ः लालचन एमालेको ८ औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भई छाडे ।
मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फाका स्थानीय लालचन कृषि र यातायात व्यवसायी हुन् ।उनी अहिले ५२ वर्ष पुगे । नेकपा(एमाले) मुस्ताङको ३ कार्यकाल जिल्ला कमिटी सदस्य र पार्टीको संगठित सदस्यसमेत रहेका लालचनको सामाजिक क्षेत्रमा समेत निकै ठुलो योगदान छ । उनी थाक खेलकुद विकास समितिको पूर्वसचिव भई काम गरेका थिए । पार्टी जिवनका लागि निकै ठुलो त्याग गर्न सक्ने लालचन एमाले मुस्ताङको सीपाईको रुपमा समेत प्रस्तुत हुन्छन् ।
एमाले मुस्ताङका लागि लालचन एक भाग्यमानी पात्रको रुपमा लिईन्छ ।उनलाई पार्टीले अध्यक्ष बनाउने निर्णय गर्दा यसअघि अध्यक्ष पदमा उम्मेदवारी बनाउने निर्णयको धोकाको बिषयमा समेत पार्टीले प्रश्न राखेको थिए । नवनिर्वाचित अध्यक्ष लालचनले आफु पदका लागि नभई पार्टी र संगठनलाई मजबुद बनाउन र पार्टीलाई स्पष्ट नतिजा ल्याउने चाहाने अध्यक्ष बनेको बताए ।‘ मलाई एमाले मुस्ताङले ठुलो विश्वास र जिम्मेवारी दिएको छ ,म भन्दा सिनियर कमरेडहरु पनि हुनुहुन्थ्यो ,’उनले भने, अब पार्टीको उद्देश्य र भिजनलाई शीरमा लिएर अहोरात्र खटिने छु , सबै सिङ्गो पार्टी कमिटीले मेरो विश्वास र भरोसालाई सहयोग पु¥याउनु हुनेछ । उनले पार्टी भित्रको सामान्य असन्तुष्टी र मनमुटाब छन् भने त्यसलाई आगामी दिनमा समाधान गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।‘ पार्टी जिवनमा लाग्दा कसैको हार र कसैको जीत हुन्छ,अवसर गुमाउने साथीहरुलाई निराश हुन आवश्यक छैन,यसप्रकार अवसर र चुनौतीहरु फेरी पनि आउँछन् , म सबै पार्टी जिवनमा समर्पित कमरेडहरुलाई समन्वय र सहकार्य गरी अघि बढ्ने छु । सबैको सल्लाह र सुझावले मात्रै पार्टीको धरातल बलियो हुने नवनिर्वाचित अध्यक्ष लालचनको भनाई छ ।
अध्यक्ष लालचनले अबको सिङ्गो जिल्ला कमिटी टिम मिसन २०८४ का लागि तयार हुन अनुरोध गरे । अध्यक्ष लालचनले भने,‘सबै नयाँ युवा जोश जाँगरले भरिएका साथीहरु आउनु भएको छ,यसले पार्टीलाई थप जिवन्त र मजबुद बनाउन कुनै कठिनाई हुँदैन ।’