जोमसोम ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि यहाँको थासाङ गाउँपालिका स्थित ५ वटा मतदान स्थल तथ मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल र प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला सुरक्षा समिति,जिल्ला निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवाली र स्थानीय सञ्चारकर्मी लगायतको संयुक्त टोलीले मुस्ताङको थासाङ गाउँपालिकामा रहेका ८ वटा मतदान केन्द्र तथा मतदान स्थल मध्ये ५ वटाको संयुक्त अनुगमन सम्पन्न गरेको हो ।
आगामी फागुन २१ गते हुने घोषित निर्वाचनलाई निश्पक्ष,सोतन्त्र,भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि मतदान केन्द्रको शान्तिसुरक्षाको अवस्था तथा मतदान केन्द्र तथा मतदान स्थलहरुको वस्तुगत अवस्था र मतदानदाताहरुलाई निर्भिकतापूवर्क मतदान गर्न पाउँने संवैधानिक हक अधिकारको सुनिश्चितता गराउने उद्देश्यले यहाँका मतदान केन्द्र तथा मतदान स्थलहरुको स्थलगत अनुगमन गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । मुस्ताङको थासाङ गाउपालिका स्थित घाँसा,छयो,लेते,कोवाङ र कोवाङ मतदान केन्द्र तथा मतदान स्थलहरुमा पुगेर प्रत्यक्ष अनुगमन गरिएको उहाँको भनाई छ ।
यसैगरी थासाङमा बाँकी रहेका कालिगण्डकी पारीका सौरु, कुञ्जो र झिप्रा देउराली लगायतका मतदान स्थलको अर्को चरणमा अनुमगन गरिने निर्वाचन अधिकारी ज्ञवालीले बताउँनुभयो ।
मुस्ताङमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार मनोनयपत्र दाखिला,दावी बिरोध,अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने लगायतका कामहरु सकिए लगत्तै थासाङ गाउँपालिकामा मतदान केन्द्र तथा मतदान स्थलहरुको अनुगमन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले बताउँनुभयो ।
यसअघि जिल्ला सुरक्षा समिति मुस्ताङले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी उपल्लो मुस्ताङका विभिन्न मतदान केन्द्र तथा मतदान स्थलहरुको अनुमगन सम्पन्न गरेको थियो । प्रजिअ अजिता शर्मा नेतृत्वको जिल्ला सुरक्षा समिति लगायतको टोलीले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २८ वटा मतदान केन्द्र तथा मतदान स्थलहरु मध्ये २५ वटाको स्थलगत अनुगमन सम्पन्न गरेको थियो । माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड स्थित ताङ्ग्या र ढी मतदान स्थल र वारागुङ मुक्तिक्षेत्रको साङ्ता मतदान स्थलको अनुमगन गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
घोषित प्रतिनिधि सभा निर्वाचनका लागि मुस्ताङका पाँच पालिकामा ३९ वटा मतदान केन्द्र स्थल रहेका छन् । जसअन्तर्गत माथिल्लो मुस्ताङको लोमान्थाङ—२ सम्जुङ मतदान केन्द्रलाई सोही वडाको दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा ठाउँ सारी (मर्ज) गरिएको छ । लोघेकर दामोदरकुण्ड—४ मा यसअघिको मतदान केन्द्र रहेकोमा थप अर्को एक मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रबहादुर ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतिनिधि निर्वाचनका लागि मुस्ताङमा ११ हजार ३२८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँको घरपझोङमा दुई हजार ४९२,थासाङमा दुई हजार ९०७,वारागुङ मुक्तिक्षेत्रमा दुई हजार ३९, लोघेकर दामोदरकुण्डमा एक हजार ५४२ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली