थाक सात सयका मिरमुखिया भट्टचनको निधन

 यहाँको थासाङ गाउँपालिका स्थित १३ गाउँको मिरमुखिया जवाहर भट्टचनको निधन भएको छ । विस १९९७ साल  जेठ २ गते जन्मिनु भएका मिर मुखिया भट्टचनको ८६ वर्षको उमेर मुस्ताङको थासाङ—२ कोवाङ स्थित आफ्नै निवासमा बिहिबार निधन भएको हो ।

 शिक्षा तथा समाजसेवाप्रति निकै सक्रिय भूमिकामा रहेको मिर मुखिया भट्टचन पछिल्लो दश वर्ष बढी थासाङ गाउँको मिर मुखियाको भूमिकामा रहेर काम गर्दैआईरहेका थिए । थासाङ—२ स्थित जनआदर्श अम्मरसिंह माध्यमिक विद्यालयको पूर्व प्रधानाध्यापक समेत रहेका मिर मुखियाको निधनमा सिंगो थासाङ थाक सात सय क्षेत्र स्तब्ध बनेको छ ।

 थकाली चारचन समुदायहरुको उद्गम स्थल थाकसात सय क्षेत्र मुस्ताङको टुकुचेदेखि तल्लो क्षेत्र पैरोथाप्लासम्म पर्दछ । थासाङ क्षेत्रमा रहेका १३ गाउँका मुखियाहरुको प्रतिनिधिमूलक अभिभावकको रुपमा मिर मुखियालाई लिने गरिएको छ । थासाङ स्थित थाक सात सय क्षेत्रमा विभिन्न १३ गाउँमा मुखिया चुन्ने धार्मिक तथा सांस्कृतिक प्रचलन रहेको छ । यो प्रचलन सदिंयौ वर्ष पुरानो हो ।

 थासाङमा प्रत्येक गाउँबाट चुनिएका गाउँ मुखियाहरुको प्रतिनिधि गर्ने सामाजिक संस्था मिर मुखिया थाक सात सय क्षेत्रको ऐतिहाँसिक सांस्कृतिक धरोहरको रुपमा लिने गरिएको छ । समाजमा गाउँ मुखियाहरुको गर्न नसकेका कार्यहरु,बाधा अवरोध, समस्या र चुनौतिहरुलाई गाउँ मुखियाको अनुरोधमा मिर मुखियाले समाधान निकाल्ने सांस्कृतिक प्रचलन छ । गाउँका मुखियाहरुले मिर मुखियालाई मुख्य नेतृत्व गर्ने व्यक्तिको रुपमा लिने गरिएको छ ।

 यीनै थासाङ स्थित १३ गाउँको नेतृत्व गर्नु भएका मिर मुखिया भट्टचनको निधन भएको  थासाङ थाक सात सय क्षेत्रका स्थानीय रमेश भट्टचनले जानकारी दिनुभयो । सामाजिक कार्य र गाउहरुमा परेको अप्ठ्यारो समस्याहरुलाई समाधान गर्ने मिर मुखियाको निधनले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा निकै ठुलो क्षति भएकोे स्थानीय भट्टचनको भनाई छ ।

 मिर मुखिया भट्टचनको शुक्रबार धार्मिक विधिपूर्वक अन्त्यष्टि गरिने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया