कालीगण्डकी नदी उकासले तटीय वस्ती जोखिममा

बर्सेनि कालीगण्डकी नदी उकासले घरपझोङ गाउँपालिका भित्रको तटीय बजार क्षेत्र र वस्तीहरु जोखिम परेको छ । बुधबार यहाँ आयोजित घरपझोङ गाउँपालिकाको अठारौं गाउँसभा अधिवेशनमा उपाध्यक्ष जमुना थकालीले कालीगण्डकी नदी किनारका दहत्तर बहत्तर संकलन सम्वन्धी प्रस्तावमा यस्तो बताईएको हो ।

उपाध्यक्ष थकालीले कालीगण्डकी नदी किनारामा सदिंयौदेखि जमेर बसेको नदीजन्य ढुंगा,गिट्टी, बालुवा र गेग्रानले निकट भविष्यमा घरपझोङ गाउँपालिका भित्र पर्ने बजार क्षेत्र र वस्ती क्षेत्र प्रभावित हुने गाउँसभा अधिवेशनमा उल्लेख गर्नुभयो । उपाध्यक्ष थकालीले नदीजन्य पदार्थको उपयोगिता र औचित्यता माथि यसप्रकारको प्रस्ताव पेश गर्नुभएको हो ।

 घरपझोङ गाउँपालिका अन्तर्गत कालीगण्डकी नदी किनारमा बर्सेनि थुप्रिने दहत्तर÷बहत्तर (ढुंगा,गिट्टी,बालुवा,गेग्रान)को वैज्ञानिक एवं व्यवस्थित संकलनबाट तटीय वस्तीको संरक्षण गर्न सकिने प्रस्तावमा उल्लेख छ । कालीगण्डकी नदीजन्य पदार्थको समुचित व्यवस्थापनले स्थानीय पूर्वाधार निर्माणका लागि कच्चा पदार्थ सहज हुने ,स्थानीय सरकारको आन्तरिक राजश्व वृद्धि हुने , नदीको बहाव नियमित भई बाढीको जोखिम घट्ने र नदीजन्य पदार्थको व्यवस्थित उत्खनन तथा बिक्री वितरणबाट स्थानीय तहको आन्तरिक आयस्रोत वृद्धि भई गाउँ पालिकाको विकास निर्माणमा खर्च गर्न सकिने उपाध्यक्ष थकालीले गाउँसभामा उल्लेख गर्नुभयो ।

गाउँसभामा प्रस्तुत प्रस्ताव अनुसार स्थानीय स्तरमै ढुंगा,गिट्टी र बालुवाको सहज र सस्तो मुल्यमा उपलब्ध हुनसके गाउँपालिका भित्रको सडक,भवन तथा अन्य पूर्वाधार निर्माण कार्यले समेत गति लिने उल्लेख छ । बर्सेनि बर्खायामको मौसममा नदी किनारा वा कालीगण्डकी बगरमा थुप्रिने दहत्तर÷बहत्तर (नदीजन्य पदार्थ)ले नदीको बहावलाई अवरोध सृजना गर्ने हुँदा कालीगण्डकी नदीको धार परिवर्तन भई वस्ती तथा खेतीयोग्य जमिन कटान गरी जोखिममा पर्ने गरेको उपाध्यक्ष थकालीको प्रस्तावमा उल्लेख गरिएको छ ।

नदीजन्य पदार्थहरुको व्यवस्थित संकलन हुनसके नदीको बहावलाई नियमित गराई विपदको जोखिम न्यूनिकरण हुने प्रस्तावमा भनीएको छ । यसैगरी कालीगण्डकी नदीमा रहेका प्राकृतिक स्रोत (ढुगा,गिट्टी,बालुवा)हरुको संकलन तथा ढुवानी हुँदा स्थानीय मजदुरहरुका लागि अल्पकालीन तथा दीर्घकालीन रोजगारीको अवसर सिर्जना हुने उपाध्यक्ष थकालीले बताउँनुभयो । कालीगण्डकी किनार धार्मिक तथा पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण क्षेत्र रहेको उपाध्यक्ष थकालीको भनाई छ । कालीगण्डकी नदीक्षेत्रमा थुप्रिने अनावश्यक ढुंगा र बालुवाहरुको समुचित व्यवस्थापनले मात्रै नदी किनारा स्वच्छ र सफा रहने र यसले नदी क्षेत्रका भौतिक संरचनाहरु सुरक्षित राख्न सकिने उपाध्यक्ष थकालीको प्रस्ताव जनाईएको छ ।

गाउँ सभामा कालीगण्डकी दहत्तर÷बहत्तर (ढुंगा,गिट्टी,बालुवा) संकलन तथा व्यवस्थापन गर्दा वातावरण सरक्षण ऐन  र यससंग सम्वन्धित प्रदेश सरकारले बनाएको कानुनी व्यवस्थाका साथै स्थानीय तहको कार्यविधि निर्माण गरी सोही बमोजिम वातावरणीय प्रभाव मूल्यांकन (ईआए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईई) गर्नुपर्ने उल्लेख छ । 

 तोकिएको मापदण्ड र समयसीमाभित्र मात्र उत्खनन् हुनेगरी गाउँ कार्यपालिकाले निर्णय लिनुपर्ने र कालीगण्डकी नदीको दहत्तर÷बहत्तरको ठेक्का प्रक्रियाबाट व्यवस्थापन गर्नुपर्ने सम्वन्धी प्रस्ताव गाउँसभा अधिवेशनमा पेश गर्नुभयो । उपाध्यक्ष थकालीले पेश गर्नुभयो कालीगण्डकी नदीको दहत्तर बहत्तर (ढुंगा,गिट्टी,बालुवा) संकलन तथा व्यवस्थापन सम्वन्धी प्रस्ताव गाउँसभाले पारित गरेको छ ।

 कालीगण्डकी नदी उत्खनन् सम्वन्धी प्रस्तावपछि उपाध्यक्ष थकालीले विपद् जोखिम न्यूनिकरणका लागि र स्थानीय तहको आन्तरिक स्रोत वृद्धि गर्ने उद्देश्यले प्रस्ताव पेश गरिएको बताउँनुभयो । संघीय तथा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली लगायतका कानुनी जटिलता कायम रहेपनि यसलाई विपद जोखिम न्यूनिकरण गर्ने गरी कार्यान्वयनमा ल्याउन सकिने बताउँनुभयो ।

यता, राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एक्याप मातहतको सरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी)ले कालिगण्डकी नदी उत्खनन् तथा संकलन र बिक्री वितरणको अनुमति दिने गरेको छ । एक्यापले बर्सेनि असार,साउन र भदौ महिनामा उत्खननमा प्रतिबन्ध लगाउँदै अन्य समयमा नदी जन्य पदार्थको उत्खखन् फुकुवा गर्ने गरेको छ ।

एक्याप क्षेत्राधिकारको कालीगण्डकी नदी उत्खनन स्थानीय उपयोग दस्तुर उठाउनका लागि सम्बन्धित सिएमसीले एक्याप कार्यालयको रोहवरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट अनुमति लिनुपर्ने कार्यालय प्रमुख राजेश गुप्तले बताउनुभयो । एक्यापले मुस्ताङको संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी)हरुलाई नदी स्रोतको दस्तुर उठाउन अख्तियारी दिएपछि मुस्ताङका पाँचवटा समितिले स्थानीय उपयोगका लागि नदीजन्य दस्तुर उठाउन थालिसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया