ठिनी खोलामा निर्माणधीन पक्की पुल सञ्चालनमा

मुस्ताङको घरपझोङ गाउँपालिका—५ स्थित ठिनी खोलामा पक्की मोटरेबल निर्माण गरिएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयन गरिएको ठिनी खोला पक्की मोटरेबल सम्झौता अगावै सम्पन्न भएको हो ।

 योसंगै चालु वर्ष घरपझोङ चक्रपथ संगसंगै ठिनी खोलामा निर्माणधीन पक्की मोटरेबल निर्माण एकैसाथ सम्पन्न भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले उल्लेख गरेको छ । दुई वर्ष सम्झौता अवधि रहेको ठिनी खोला मोटरेबल आगामी आवको साउन २० गतेसम्म सम्झौता म्याद कायम थियो । निर्माण कम्पनीको तदारुकताका कारण घरपझोङ गाउँपालिकाको पाँचै वडा जाड्ने चक्रपथ सडकको ठिनी खोला मोटरेबल तोकिएको समय अगावै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका ईन्जिनीयर सुरेश पाण्डेले जानकारी दिनुभयो । यसअघि ६ पटकसम्म म्याद थप हुँदै आएको घरपझोङ चक्रपथ सडक चालु वर्षमै सकिएको ईन्जिनीयर पाण्डेको भनाई छ ।

 मुस्ताङ सदरमुकाम जोमसोमबाट ठिनी खोला हुँदै ढुम्बाताल, छैरो,मार्फा ,स्याङ र जोमसोम जोड्ने चक्रपथ सम्पन्न भएकोमा यसैवर्ष उक्त चक्रपथ जोड्ने ठिनी खोला पुल निर्माणले घरपझोङका पाँचै वडाको आवतजावतलाई थप सहज पु¥याएको छ ।

 चार करोड ४६ लाख लागतमा ठेक्का सम्झौता भएको ३५ मिटर लम्बाई एक स्पानको ठिनी खोला मोटरेबल पुल निर्माणको जिम्मा अमित अशेष जेभी कन्ट्रक्सनले लिएको थियो । पुलको चाडाई फुटपाथसहित  आठ दशमलव ४ मिटर छ । निर्माण कम्पनीले ठिनी खोलामा दुईतर्फी पाउन्डेसन, स्लाप ढलान र एप्रोज सडकसहित फिनिसिङको काम सम्पन्न गरी सञ्चालनमा ल्याईएको हो ।पुल निर्माण सम्पन्न भएको र परीक्षण अवधिमा एक वर्ष रहने गरी कार्यालयलाई हस्तान्तरणको तयारी गरिएको छ ।

 घरपझोङको दश दशमलव ५ किलोमिटर चक्रपथ सडकको ठिनी खोलामा निर्माणधीन पक्की पुल सोमबारदेखि सञ्चालनमा आएको निर्माण कम्पनीका प्रतिनिधि सुरेश भट्टराईले जानकारी दिनुभयो । ठिनी खोला पुल सञ्चालनमा आएसंगै मुक्तिनाथ पुगेर फर्किएका दर्शनार्थीहरुलाई ढुम्बातालको अवलोकन गर्न सहज भएको छ । यसैगरी ढुम्बा,सम्ले  लगायतका गाउँहरुको कृषि उपजको बजारिकरण गर्नमा सहयोग पुग्ने भएको छ ।

 यसअघि मुस्ताङको घरपझोङ—५ स्थित ठिनी खोलामा पक्की पुल नहुँदा पर्यटक तथा स्थानीयलाई बर्खायामको मौसम आवतजावत गर्न निकै समस्या हुने गरेको थियो । पुल सञ्चालनमा आएसंगै ठिनी खोलामा बाह्रै महिना सवारी साधनको आवागमन सहज भईसकेको छ ।


प्रतिक्रिया