वारागुङको समरमा गुफा र गिद्ध अवलोकन क्षेत्रलाई प्रवद्र्धन गर्दै एक्याप

यहाँको उपल्लो मुस्ताङ स्थित वारागुङ मुक्तिक्षेत्र—३ स्थित समर गाउँ नजिकै अवस्थित मानव निर्मित ऐतिहाँसिक गुफा र गिद्ध अवलोकन केन्द्र पर्यटकको पर्खाईमा छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले पछिल्लो समय यहाँको गुफा र गिद्ध अवलोकन गर्न मिल्ने ठाउँलाई नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न पहल गरिएको छ ।

समरको माथिल्लो गाउँबाट करिव ९०० मिटर दुरी पैदल हिडेर २० मिनेटमै सजिलै पुग्न सकिने सदिंयौ वर्ष पुरानो मानव निर्मित तीन तले समर गुफालाई नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न खोजिएको हो ।  एक्याप लोमान्थाङले यहाँको गुफालाई पर्यटन प्रवद्र्धन  खोजेको एक्याप लोमान्थाङ प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।

ठिङ्ग उभिएको अजंगको विशाल पहाडमा अवस्थित तीन तलाको समर गुफा भित्र १५ वटा कोठाहरु छन् । सदिंयौ वर्ष पहिले यहाँको गुफा भित्र मानिसहरु आश्रय लिएर बस्ने गरेको त्यहाँको वस्तुस्थितीले झल्काउछ । पहाडै खोपेर निर्माण गरिएको समर गुफाले कुनै बेला त्यहाँ मानिस बस्ने गरेको तथ्यहरु अवलोकन गर्न सकिन्छ । विशाल पहाडमा चट्टान खोपेर निर्माण गरिएको गुफा भित्र खाने बस्ने गर्दा धुवाँका दागहरु देखिन्छ । तर, गुफा भित्र कुनै भिक्षुहरु  ध्यान साधना गरिबसेको तथ्यहरु भने फेला पर्न सकेको छैन । गुफा रहेको पहाड जमिनको सतहदेखि करिव १२ मिटर माथिबाट चट्टान खोपेर निर्माण गरिएको देखिन्छ ।

 समर गुफा नजिकै अवस्थित गुफालाई पर्यटन प्रर्वद्धन गर्न एक्यापले पहल थालेको प्रमुख पौडेलले जानकारी दिनुभयो । पर्यटकीय संम्भावना बोकेकाले गुफा जाने बाटो र आवश्यक पूर्वाधार निर्माणमा एक्यापले गतवर्षदेखि कार्य गरिरहेको प्रमुख पौडेलको भनाई छ ।

 हालसम्म गुमनाम जस्तै रहेको समर गुफालाई पर्यटनसंग जोड्ने गरी गतवर्ष समर गाउँबाट गुफासम्मको ९०० मिटर दुरीमा पदमार्ग मर्मत सुधार तथा स्तरोन्नति गरिएको छ । यसैगरी चालु वर्ष समर गुफा चढ्ने स्थानको वरिपरी फलामे रेलिङ बारले घेरिएको छ भने गुफा जानका लागि करिव १२ मिटर अग्लो फलामे भञ्याङ चढ्ने व्यवस्था गरिएको एक्याप प्रमुख पौडेलले जानकारी दिनुभयो । गुफा अवलोकन गर्न आउने पर्यटकहरुलाई सुरक्षित र सहज रुपमा आवतजावत गर्ने व्यवस्था मिलाउने फलामे ट्रप्सको भञ्याङ राखिएको प्रमुख पौडेलको भनाई छ ।

 यसैगरी एक्यापले यहाँको समर गाउँ नजिकै रहेको मानव निर्मित ऐतिहाँसक गुफाबाट करिव डेढ किलोमटर पर गिद्ध अवलोकन केन्द्र  स्थापना गरेको छ । गुफा अवलोकन गर्न आएका पर्यटकले बिहान र सुर्यास्तपछि उक्त स्थानमा गिद्धको सहजै अवलोकन गर्न सकिने प्रमुख पौडेलले जानकारी दिनुभयो ।

 गिद्धहरुको बाँसस्थान रहेको उक्त स्थानबाट दिउँसोको समय आहाराको खोजीमा निस्किएका गिद्धहरु साँझ बासस्थान पछ्याउँदै गिद्ध अवलोकन केन्द्र रहेको स्थानमा फर्किने गरेको प्रमुख पौडेलले बताउँनु भयो । प्रकृतिको कुचिकार वातावरणीय स्वच्छता, रोग फैलिनबाट जोगाउन र पारिस्थितिक सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पू¥याउने गर्छ । 

 एक्याप प्रमुख पौडेलले समरको गिद्ध अवलोकन केन्द्रमा करिव एक दर्जन बढी गिद्धहरुमा आफुले प्रत्यक्ष देख्न पाएको बताउँनुभयो । गिद्धहरुको अवलोकन र गिद्ध सम्वन्धि अध्ययन अनुसन्धानका लागि उक्त स्थान महत्वपूर्ण पर्यटक केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । समर गाउँबाट गुफा र गिद्ध अवलोकन गरी सकिएपछि समर गाउँसम्म आउन करिव डेढ किलोमिटर दुरी रहेको प्रमुख पौडेलले जनाउँनुभयो ।

 एक्याप लोमान्थाङले समर गाउँमा अवस्थित गुफा र गिद्ध अवलोकन केन्द्रमा जाने पदमार्गका लागि साईन पोस्टिङ समेत गरिसकेको छ । एक्यापले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुको खोजी गर्दै पर्यटन विकासमा टेवा पु¥याउन समर गाउँ नजिकैको गुफा र गिद्ध अवलोकन केन्द्रलाई व्यवस्थापन कार्यमा जोड दिएको हो । एक्यापले यसको पर्याप्त प्रचार÷प्रसार गर्न सकिएमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताएको छ ।


प्रतिक्रिया