उपल्लो मुस्ताङको (छुसाङ — पा—ताङ्ग्या) पदमार्गको मर्मत तथा स्तरोन्नति गरिंदै

उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले यहाँका पर्यटकीय पदमार्गहरुको मर्मत तथा स्तरोन्नति सुरु गरेको छ । एक्याप लोमान्थाङ र एक्याप जोमसोम कार्यक्षेत्र भित्र रहेका स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी)ले वारागुङ मुत्तिक्षेत्र गाउँपालिका—३ छुसाङदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका—५ ताङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति गरिहेको हो ।

झन्डै नौ घण्टा पैदल दुरीको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङ देखि पा हुँदै लोघेकर दामोदरकुण्ड गाउँपालिका—५ सम्मको पर्यटकीय पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिका लागि एक्याप अन्तर्गत दुई वटा समितिले अगल अलग रुपमा काम गरिएको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । छुसाङदेखि पा सम्मको दुरीमा छुसाङ समिति र ताङ्ग्यादेखि पा सम्मको दुरीमा सुर्खाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिले पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको प्रमुख पौडेलले जानकारी दिनुभयोे ।

 उपल्लो मुस्ताङ जाने पर्यटकीय पदमार्गको छुसाङदेखि पा हुँदै ताङ्ग्या पर्यटकीय पदमार्गको बैशाख १५ देखि पदमार्गको मर्मत तथा स्तरोन्नति कार्य थालिएको एक्यापले जनाएको छ ।  पदमार्गको मर्मत तथा स्तरोन्नतिका लागि स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिले घरेलु औजारहरु सहित कामकाजमा जनशक्ति परिचालन गरेको हो । एक्याप लोमान्थाङ प्रमुख पौडेलका अनुसार  छुसाङलेखि पा हुँदै ताङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत सुधार लगायतको कार्य दुई साता भित्र सम्पन्न हुने जानकारी दिए ।

 बर्सेनि बर्खायामको वर्षाका कारण हुने भेलबाढी र पहिरोका कारण उत्त पदमार्ग भत्किने र बिग्रिने गरेको र पदमार्गलाई बर्सेनि मर्मत सुधारको कार्य गरिरहनुपर्ने प्रमुख पौडेलको भनाई छ । छुसाङ देखि पा हुँदै ताङ्ग्या पदमार्गका कतिपय स्थानमा ग्याविक प्रोटेक्सन गरिएको छ भने पदमार्ग दुई वटा स्थानमा काठेपुल निर्माण गरिन लागिएको छ ।

यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिकाले राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ध्ये खोलादेखि त्याङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति कार्य गरेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । गाउँपालिकाले राष्ट्रिय रोजगार कार्यक्रमको कार्यविधि अनुसार दैनिक ज्यालादारी दिने गरी पदमार्ग मर्मत सुधारको कामकाजमा खटाएको उहाँले बताउँनुभयो ।

 पछिल्लो समय मुस्ताङका पर्यटकीय पदमार्गहरु सडक सञ्जालका कारण मासिंदै जान थालेका छन् । राष्ट्रिय गौरवको कोरला सडक र शाखा सडकको विकासले यहाँका पर्यटकीय पदमार्गहरु मासिन थालेको हो । कालिगण्डकी करिडोर सडकको पश्चिम छुसाङ,तेताङ देखि पा हुँदै ताङ्ग्या जोड्ने उपल्लो मुस्ताङको महत्वपूर्ण पर्यटकीय पदमार्ग हो ।

 पछिल्लो समय त्यहाँको पर्यटकीय पदमार्गहरु बर्खायामको भेलबाढी र पहिरोले क्षति पु¥याउँदा उपल्लो मुस्ताङ जाने विदेशी पर्यटक पदयात्रीहरुले निकै ठुलो जोखिम मोलेर यात्रा गर्नुपर्ने थियो ।

 पदमार्गको मर्मत तथा स्तरोन्नति गर्नुपर्ने भन्दै ्विभिन्न ट्रेकिङ एजेन्सीहरुले सम्वन्धि निकायहरुको ध्यानाकर्ष गराउँदै आईरहेका थिए । एक्याप लोमान्थाङ प्रमुख पौडेलले उपल्लो मुस्ताङ जाने छुसाङ—पा—त्याङ्ग्या पदमार्गको मर्मत तथा स्तरोन्नतिकार्यले विदेशी पर्यटकहरुको पदयात्रा सहज हुने बताउँनुभयो ।

प्रतिक्रिया