लोघेकरको चराङमा प्रशासकीय भवन उद्घाटन

मुस्ताङ,१०, साउन ।

उपल्लो मुस्ताङको चराङमा लोघेकर दामोदरकुण्ड गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ । एक वर्षअघि निर्माण सम्पन्न भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको प्रशासकीय भवनको आईतबार मुस्ताङी सांस्कृतिक राजा जिग्मे सिङ्गी पलवर बिष्टको समउपस्थितीमा गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट ९राजु०ले उद्घाटन गर्नुभएको हो ।

 विस २०७८ सालमा निर्माण सुरु गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको प्रशासकीय भवन एक वर्षअघि सम्पन्न भएको थियो । गाउँपालिकाको तीन रोपनी क्षेत्रफलमा फैलिएको समथरिलो जग्गामा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको थियो । गाउँपालिकाको प्रशासकीय भवन कोभिड माहामारीका कारण निर्माणको काम केही समय रोकिएको थियो ।

संघीय तथा प्रादेशिक सरकारको अनुदान तथा गाउँपालिकाको निजी लागत साझेदारी रहने गरी चार करोड २४ लाख ५८ हजार रुपैयामा  ईमोटल कन्ट्रक्सन जेभीले ठेक्का सम्झौता गरी दुई तलाको चौबिस कोठे प्रशासकीय भवन निर्माण गरिएको थियो । गाउँपालिकाको प्रशासकीय भवन स्थानीय मौलिक संस्कृति झल्किने गरी निर्माण गरिएको थियो ।


 प्रमुख प्रशासकीय अधिकत सरोज उपाध्यक्षले एक वर्षअघि निर्माण सम्पन्न भएको प्रशासकीय भवन यार्तुङ पर्वको अवसरमा उद्घाटन गरिएको जानकारी दिनुभयो । यसअघि भवन उद्घाटन नभएपनि गाउँपालिकाको प्रशासकीय भवनमा गाउँपालिकाको कार्यसम्पादन हुँदै आईरहेको थियो । गाउँपालिकाका भवन नहुँदा क्लव भवनमा कार्यसम्पादन सञ्चालन गरिएको थियो ।

 लोघेकर दामोदरकुण्डको प्रशासकीय भवन उद्घाटनका क्रममा चराङ गाउँका ज्येष्ठ नागरिकहरुले स्याब्रो नाच देखाएका थिए ।


प्रतिक्रिया