कोरलानाकाबाट आयात/निर्यात घट्दै

यहाँ स्थित (नेपाल—चिन) उत्तरी कोरलानाकाबाट आयात÷ निर्यात कारोवार न्यून हुँदै जान थालेको छ । (नेपाल—चिन) तातोपानी नाका र रसुवागढी नाका हालै संञ्चालनमा आएसंगै मुस्ताङको कोरलानाकाबाट हुने आयात÷निर्यात कारोवार न्यून हुँदै गईरहेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरलानाका स्थित चिनियाँ भन्सारमा नेपाल भित्रिने मालबाहक कन्टेनर न्यून हुँदै गईरहेको हो । मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालबाहक कन्टेनर हाल भन्सार कार्यालयमा हाल ८÷१० मात्रै भन्सार जाँचपासका लागि पेन्डिङमा रहेको बताउँनुभयो । भन्सार जाँचपासका लागि पेन्डिङमा रहेका कन्टेनर बाहेक कोरलानाकाबाट  थप मालकन्टेनर भन्सार कार्यालयमा नआएको सूचना अधिकारी सिंहको भनाई छ ।

‘यहाँ भन्सारमा सीमित मालवाहक कन्टेनर जाँचपासका लागि बसेका छन्, पारीबाट मालबाहक कन्टेनर थपिएका छैनन्, भन्सार सूचना अधिकारी सिंहले भन्नुभयो‘ यहाँ भन्सारमा दैनिक १÷२ वटा मात्रै मालबाहकको जाँचपास हुने गरेको छ, नयाँ थपिएमा यहाँ भएका मालबाहक कन्टेनरको जाँचपास एक साता भित्र सकिन्छ ।’

 यसअघि तातोपानी नाका र रसुवागढी नाका नखुल्दा दैनिक १५÷२० वटा मालबाहक कन्टेनरको भन्सार जाँचपास हुने गरेकोमा हाल त्यो संख्या लगभग पुरै घटिसकेको सूचना अधिकारी सिंहको भनाई छ । गत ३१ भदौदेखि पूर्ण रुपमा संञ्चालनमा आएको यहाँको (नेपाल—चिन) उत्तरी कोरलाबाट भित्रिएका मालवस्तुको भन्सार जाँचपास हुँदा हालसम्म साँढे पाँच अर्ब बढी राजश्व संकलन भईसकेको छ । भन्सार कार्यालयका सूचना अधिकारी सिंहका अनुसार नेपाल —चिन उत्तरी कोरलानाकाबाट हालसम्म एघार अर्ब बढीको मालवस्तु आयात भएको बताउँनुभयो । यसैगरी नेपालबाट करिव १९ करोड बढीको हस्तकला तथा नेपाली उत्पादन मालवस्तु चिनतर्फ निर्यात भएको उहाँको भनाई छ ।

भन्सार कार्यालयका सूचना अधिकारी सिंहका अनुसार  हालसम्म कोरलानाकाबाट दुई हजार १०० बढी विद्युतीय कार चिनबाट नेपाल भित्रिएका छन् । पछिल्लो पटक बीवाईडी कम्पनीले झन्डै ५०० बढी विद्युतीय कार कोरलानाकाबाट नेपाल भित्र्याएको सूचना अधिकारी सिंहको भनाई छ ।

 कोरलानाकालाई वैकल्पिक नाकाको रुपमा प्रयोग ल्याएको र तातोपानी नाका र रसुवागढी नाका खुलेपछि यहाँको आयात÷निर्यात कारोबार घटेपछि मुस्ताङ भन्सार कार्यालयका कर्मचारी केही फुर्सदिला भएका छन् । ब्यापारीहरुलाई यहाँको नाकाबाट चिनबाट मालसामान ढुवानी गर्दा आर्थिक भार बढी पर्ने भएकाले यहाँको कोरलानाकाबाट आयात÷निर्यातको परिमाण न्यून हुँदै गईरहेको हो । भन्सार प्रमुख सिंहले तातोपानी र रसुवागढी नाका खुलेपनि यहाँको भन्सार कार्यालयबाट प्रतिकूल मौसम बाहेक अन्यसमयमा आयात÷निर्यात कारोबार शून्य नहुँने दावी गनुभयो । ‘रसुवागढी र तातोपानी नाका बन्द हुँदा जस्तो आयात÷निर्यात त नहोला ,सूचना अधिकारी सिंहले भन्नुभयो,‘ तर , कतिपय ब्यापारीका लागि यहाँको कोरलानाकाबाटै आयात÷निर्यात गर्न सहज हुन्छ ,यसैले विगतको वर्ष जस्तो यहाँको भन्सार ठप्प भन्ने हुँदैन।’

नेपाल—चिन तातोपानी नाका खुलेपछि घटेको यहाँको आयात÷निर्यात र हिउँदयामको मौसम प्रतिकूलताका कारण यतिबेला कोरलानाका र भन्सार कार्यालयको चहलपहल घटेको छ । यद्यपी प्रतिकूल मौसमका बावजुद यहाँको भन्सार कार्यालयमा केही कर्मचारीले भन्सार कार्यालय धानेर बसेका छन् । समून्द्री सतहको ४६१० मिटरको उचाईमा ब्यापार गरेर बस्ने ब्यापारीहरु, चिनियाँ भन्सारबाट मालबाहक कन्टेनर र बिद्युतीय सवारी चलाएर बाहिर निकाल्ने स्थानीय युवाहरु पनि नाकाको चहलपहल घटेपछि जाँडो छल्न बेसी झरेका छन् । 

हिउँदयामको मौसम भएकाले कुनै बेला हिमपात भएको अवस्थामा कोरलानाका केही समयका लागि बन्द हुन सक्ने अवस्था रहेको बताईएको छ । हिमपात भएमा सडक अवरुद्ध भई नाकासम्म जाने सडक बन्द हुने भएकाले पनि ब्यापारीहरुले साविककै तातोपानी र रसुवागढीको नाका प्रयोग गरेको हुनसक्छ । भन्सार कार्यालयले तातोपानी र रसुवागढी नाका बन्द हुँदा डाईभर्ड गरिएका मालवस्तु मात्रैको आयात भएको जनाएको छ ।


प्रतिक्रिया