मुस्ताङको घरपझोङमा शैक्षिक तथा व्यवहारिक उत्प्रेरणा कार्यशाला

यहाँको हिमाली जिल्ला मुस्ताङमा विद्यालयप्रति उत्प्रेरणा जगाउने उद्देश्यले पहिलो पटक तीन दिने शैक्षिक तथा व्यवहासिक उत्प्रेरणा कार्यशाला आयोजना गरिएको छ । घरपझोङ गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले पाँच वटै वडाका शिक्षक तथा विद्यार्थी,जनप्रतिनिधि,अभिभावक र कर्मचारीहरुलाई लक्षित गरी कार्यशाला आयोजना गरिएको हो ।

शिक्षासंग आवद्ध लक्षित बर्गको शैक्षिक उत्थानलाई अझ थप प्रभावकारी तुल्याउने उद्देश्यले विद्यालयसंग आवद्ध सबै सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर कार्यशाला चलाईएको हो । कार्यशालामा प्रार्थना व्यवस्थापन  तथा सांगितिक पीटी लगायतका शैक्षिक तथा व्यवहारिक उत्प्रेरणामूलक अभ्यास गराईएको छ ।

यहाँको जनहित माध्यमिक विद्यालयमा आयोजित कार्यशालाको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले उद्घाटन गर्नुभयो । कार्यशालाको समुद्घाटन गर्दै प्रमुख गुरुङले विद्यालय सुधार र शैक्षिक विकासका लागि यसप्रकारको कार्यशालाले बिद्यार्थी,शिक्षक,अभिभावक र जनप्रतिनिधिहरुबीचको समन्धलाई थप मजबुद तुल्याउने उल्लेख गर्नुभयो । कक्षा कोठा  र पाठ्यक्रमको शिक्षामा केन्द्रित शिक्षालाई फराकिलो बनाउँदै कार्यशालाको सिकाई अभ्यासले शिक्षा क्षेत्रमा देखिने गरेका बेथिती र अनुशासनहीनताको पराकाष्ठालाई न्यूूनिकरण गर्दै सम्भ समाजको परिकल्पना निर्माणमा योगदान पुग्ने प्रमुख गुरुङको भनाई छ ।

यहाँ आयोजित कार्याशालाको पहिलो दिन भएको प्रार्थना व्यवस्थापन कार्यक्रममा चलिरहँदा उपस्थित शिक्षक,बिद्यार्थी र अभिभावक ,जनप्रतिनिधि र कर्मचारी लगायत सबैका आँखा रसाए । कार्यशालाका प्रशिक्षक एवं सांगितिक पीटीका राष्ट्रिय अभियान्ता एवं सिक्दै सिकाउँदै शैक्षिक अभियान्ता हरिश वलीको प्रवचन र अभ्यासबाट बिद्यार्थी तथा शिक्षकसंगै शैक्षिक सरोकारवालाहरु भावविह्व बनेका हुन् ।

यहाँको घरपझोङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख शिव गिरीका अनुसार मुस्ताङमा पहिलो पटक शिक्षाको गुणस्तर विकासका लागि कार्यशाला आयोजना गरिएको बताउँनुभयो । शैक्षिक प्रवचन तथा व्यवहारिक अभ्यासबाट शिक्षक,विद्यार्थी,अभिभावक र जनप्रतिनिधिहरुलाई सैद्धान्तिक शिक्षामा केन्द्रित नभई  कर्तव्य ,अनुशासन र व्यवहारिक शिक्षाप्रति उत्प्रेरणा जगाउने गरी कार्यक्रम आयोजना गरिएको प्रमुख गिरीको भनाई छ । यस खालको कार्यशालाले शिक्षक,विद्यार्थी र अभिभावकबीचको सम्वन्धलाई प्रगाढ तुल्याउने बताउँनुभयो । राम्रो कार्यको सुरुवात प्रारम्भिक चरणबाटै हुने भएकाले गुणस्तरीय शिक्षा र विद्यालयको गरिमा उकास्न कार्यक्रमका गरिने क्रियाकलाप फलदायी रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यशाला प्रशिक्षक हरिश वलीले शैक्षिक तथा व्यवहारिक उत्प्रेरणा कार्यशालाले विद्यार्थीहरुको शैक्षिक मानसिकतालाई उर्जाशील बनाउँदै विद्यालयको उद्देश्य प्राप्तिमा सहज हुने बताउँनुभयो । विद्यार्थी,शिक्षक र अभिभावक लगायतलाई एकै ठाउँमा राखेर प्रशिक्षित बनाउँदा विद्यालयप्रतिको अपनत्व अनभूति हुने प्रशिक्षक वलीको भनाई छ ।

 यहाँ आयोजित यसप्रकारको कार्यशाला मेचीदेखि महाकाली सम्म आयोजना हुँदै आईरहेको प्रशिक्षक वलीले जानकारी दिनुभयो । हालसम्म देशका २३७ पालिकाहरुको एक हजार ६३० वटा विद्यालयहरुमा शैक्षिक तथा व्यवहारिक कार्यशाला आयोजना भईसकेको उहाँले जानकारी दिनुभयो ।

जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीका अनुसार शैक्षिक तथा व्यवहारिक कार्यशालाले शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यशालाको सिकाईले विद्यार्थीहरुमा नैतिक बोध,अनुशासनको ज्ञान र शैक्षिक अभिवृद्धिमा मद्यत पुग्ने उहाँको भनाई छ ।

 कार्यशालाको पहिलो र दोस्रोदिन जोमसोमको जनहित माध्यमिक विद्यालय र तेस्रो तथा अन्तिमदिन घरपझोङ—२ मार्फाको जनवाल माध्यमिक विद्यालयमा सञ्चालन हुने जनाईएको छ ।


प्रतिक्रिया