मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाईदै

 मुस्ताङको स्याङ र मार्फा खोलामा बिहिबारदेखि नदी उकास घटाउन थालिएको  छ । कोरलानाका जोड्ने स्याङ खोला पुलमा बर्सेनि नदी उकास बढेसंगै पुल,वस्ती र खेतीयोग्य जमिन जोखिममा परेसंगै स्याङ खोलामा नदी नियन्त्रणका लागि नदी उकास घटाउन थालिएको हो ।

संरक्षण क्षेत्र व्यवस्थापन समिति (मार्फा)को पहलमा घरपझोङ—३ स्थित स्याङ र घरपझोङ—२ मार्फा खोलामा नदी नियन्त्रण गर्न थालिएको हो । संरक्षण व्यवस्थापन समिति (मार्फा)ले चालु वर्ष मार्फा र स्याङ खोलामा नदी नियन्त्रणका लागि एक÷एक लाख बजेट विनियोजन गरिएपछि  उक्त स्थानमा नदी धारलाई एकै दिशामा केन्द्रित गर्न खोलाको उकास घटाउने कार्य सुरु गरिएको संरक्षण व्यवस्थापन समितिका अध्यक्ष आसबहादुर थकालीले जानकारी दिनुभयो । कोरला सडक अन्तर्गत घरपझोङ २ स्थित मार्फा र घरपझोङ —३ स्याङ खोलामा बर्सेनि नदीजन्य पदार्थ ढुंगा,गिट्टी,बालुवा र ग्रेगान थुप्रिएर नदी उकास बढेकाले  पुलको भौतिक संरचना र आसपासका वस्ती र खेतीयोग्य जमिन जोखिममा पर्न थालेको समिति अध्यक्ष थकालीले उल्लेख गर्नुभयो ।

 स्याङ खोलाको धारलाई नियन्त्रणमा राख्ने उद्देश्यले मार्फा र स्याङ खोलाको पुल माथि र तलको भागमा नदी उकासलाई डाउन गर्न संरक्षण क्षेत्र व्यवस्थापन समितिले ईन्धनको व्यवस्था गरेको हो भने अमित बिल्डर्स र निर्माण व्यवसायी ङुटुक गुरुङ (टाईगर)ले निःशुल्क दुई वटा स्काभेटर (डोजर) उपलब्ध गराएका हुन् । कोरलानाका जोड्ने स्याङ पुल क्षेत्रको तल र माथि गरी करिव ५०० मिटर दुरीमा दुईतर्फी खोलाको गेग्रान पन्छाउन सुरु गरिएको समितिका अध्यक्ष आशबहादुर थकाली बताउँनुहुन्छ ।

 मुस्ताङमा कालिगण्डकी नदी तथा शाखा नदीहरुमा नदीजन्य पदार्थहरु बर्सेनि थुप्रिदै गर्दा यहाँका सडक ,पुलपुलेसा ,वस्ती र खेतीयोग्य जमिन कटानको उच्च जोखिममा छन् । प्राकृतिक स्रोत ढुंगा गिट्टी बालुवाहरुको समुचित उत्खनन तथा व्यवस्थापन नहुँदा कालिगण्डकी नदी र शाखा नदीहरुको जोखिम बढ्दै जान थालेको हो ।

 मुस्ताङको घरपझोङ—३ स्थित स्याङ खोलामा पुल ,वस्ती र खेतीयोग्य जमिन संरक्षण गर्न घरपझोङ गाउँपालिकाले २० लाख बजेट विनियोज गरी नदी नियन्त्रण तथा ग्याबिक तटबन्ध निर्मार्ण गरेको वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले जानकारी दिनुभयो । स्याङ खोला पक्की पुल रहेको स्थानमा सय थान ग्याबिन वाल प्रयोग गरी आठ सय मिटर दुरीमा तटबन्ध निर्माण गरिएको वडाध्यक्ष थकालीले उल्लेख गर्नुभयो ।

 स्याङ खोला पुलको सुरुवाती गहिराई २५ मिटर रहेकोमा बर्सेनि नदीजन्य गेग्रान भरिंदा हाल १५ मिटर नदी उकास बढेको वडाध्यक्ष थकालीको भनाई छ । स्याङ र मार्फा खोलामा बर्सेनि हुने बाढी पहिरोका कारण पुलक्षेत्रको नदी उकास बढेको हो । पुल क्षेत्रमा नदी उकास बढेसंगै मार्फा र स्याङ गाउँका केही वस्ती र खेतीयोग्य जमिन नदी कटानका जोखिममा परेको छ ।

 कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक योजनाका प्रमुख तेजस्वी शर्माले कालिगण्डकी नदी तथा शाखा नदीहरुमा  नदीजन्य पदार्थको उकास भरिदा सडक तथा पुलपुलेसाहरु जोखिममा रहेको बताउँनुभयो । कोरला सडक अन्तर्गत छुसाङ खोला,पान्डा खोला ,मार्फा खोला र स्याङ खोला लगायतका स्थानमा नदी उकासले गर्दा सडक तथा पुल जोखिममा पर्ने गरेको प्रमुख शर्माले बताउँनुभयो । कोरला सडकका योजना प्रमुख शर्माले नदी उकासले जोखिममा परेका सडक तथा पुलपुलेसा रहेको स्थानमा प्रारम्भिक र दीर्घकालिन योजना तयार गरी नदी नियन्त्रण योजना कार्यान्वयनमा ल्याईने बताउँनुभयो ।

 प्राकृतिक स्रोत ढुंगा,गिट्टी र बालुवाहरुको समुचित व्यवस्थापन गरी नदी उकास घटाउन कानुनी र प्राविधिक जटिलताहरु विद्यमान रहेको उल्लेख गर्दै योजना प्रमुख शर्र्माले नदी उकास र कटान हुने क्षेत्रको प्राविधिक अध्ययन गरी तत्काल गर्न सकिने र दीर्घकालिन योजना अघि बढाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया