मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

यहाँको घरपझोङ—२ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै  गएराति हिउँ चितुवाको आक्रमणमा परी १६ वटा भेडा र ३ वटा च्यांग्रा मरेका छन् । स्थानीय सन्तोष परियारको भेडाच्यांग्रा खोरमा मध्य राति हिउँ चितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ ।

स्थानीय भेडाच्यांग्रा पालक किसान सन्तोष परियारको मार्फा स्थित गाउँ भित्रको भेडाच्यांग्रा हुल्ने खोरमा पसेर ४५ वटा भेडाच्यांग्राको हुल मध्ये  १९ वटा भेडाच्यांग्रा हिउँ चितुवाको आक्रमणबाट मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो ।

यता, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल मार्फातर्फ जाँदै गरेको एक्याप प्रमुख गुप्तले बताउँनुभयो ।

यहाँ हिउँ चितुवाको आक्रमणमा परी १९ वटा पशुचौपाया क्षति हुँदा स्थानीय पशुपालक किसान सन्तोष परियारको करिव ६ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । पशुपालक किसान सन्तोष परियारका अनुसार करिव ३० हजार मुल्य पर्ने आफ्नो खोरमा हुलिएका भेडाच्यांग्रालाई हिउँ चितुवाले आक्रमण गरी क्षति तुल्याएको बताउँनुभयो ।

पछिल्लो समय मानव र हिउँ चितुवा बिचको द्धन्द बढ्दै जान थालेको छ । हिउँदयाममा चरनक्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजातीहरु चरनक्षेत्र खोज्दै वस्ती नजिक आउने गर्छन । हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकहरुको पशुधनमा क्षति पु¥याउने गरेको पाईएको छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँ चितुवा बिचको सहअस्तित्व निर्माण गर्न चुनौति देखिएको छ । यसैका कारण मुस्ताङका कतिपय किसानहरु पशुपालन व्यवसाय त्याग्न थालिसकेका छन् ।

प्रतिक्रिया