मुस्ताङको घरपझोङमा दुई ज्येष्ठ महिला सम्मानित

जोमसोम— ११५ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा मुस्ताङमा दुई ज्येष्ठ महिलालाई सम्मान गरिएको छ । मूस्ताङको घरपझोङ गाउँपालिका स्याङको आयोजना भएको दिवस कार्यक्रममा गाउँपालिका र पाईला नेपालले दुई महिलाहरुलाई अगल÷अलग रुपमा सम्मान गरेको हो ।

 सम्मान पाउँनेमा मुस्ताङको घरपझोङ —३ स्याउ गाउँकी ८६ वर्षीय ज्येष्ठ महिला नर्साङ्मो थकालीलाई गाउँपालिकाले दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेको हो । यसैगरी पाईला नेपाल मुस्ताङ शाखाले घरपझोङ—१ चिमाङ बस्ने ९० वर्षीय ज्येष्ठ महिला कान्छी थकालीलाई नगदसहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेको हो । सम्मानित ज्येष्ठ महिलाहरुका प्रतिनिधिहरुलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसाल र घरपझोङ गाउँपालिकी उपाध्यक्ष जमुना रानामगरले दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।


 स्याउ गाउँको मुख्य आयोजना भएको ११५ औं अन्तराष्ट्रिय नारी दिवसलाई घरपझोङ गाउँपालिका, सामाजिक विकास कार्यालय मुस्ताङ,स्वास्थ्य कार्यालय, एक्याप र सुरक्षा निकाय लगायतले समन्वय र सहकार्य गरेका थिए । दिवसमा महिलाहरुको लागि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । हाजिरी जवाफमा पुथाङ आमा समुह प्रथम, ठिनी आमा समुह द्धितीय र जोमसोम महिला समुह  तृतीय भए ।  हाजिरी जवाफको विजेतालाई उपाध्यक्ष जमुना रानागमरले पुरस्कार प्रदान गरिन् ।  अन्तराष्ट्रिय नारी दिवसका अवसरमा सरसफाई, स्वास्थ्य शिबिर, रैथाने बाली उत्पादनका परिकार प्रर्दशनी, प्रभातफेरी, सांस्कृतिक नृत्य प्रर्दशनी र महिलाहरुको लागि स्तन क्यान्सर सम्वन्धि सचेतनामूलक अभिमुखिकरण लगायतका कार्यक्रम आयोजना गरिएको घरपझोङ गाउँपालिकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सरिता थकालीले जानकारी दिईन् ।


 दिवसका अवसरमा आयोजित प्रभातफेरीमा घरपझोङका महिला समुह,आमा समुह,महिला अधिकारकर्मी, सुरक्षा निकाय,पत्रकार, विभिन्न सरकारी तथा गैरसरकारी निकाय लगायतले सक्रिय सहभागी जनाएका थिए ।


प्रतिक्रिया