अस्तित्वको अन्तिम प्रार्थना
विधाता पौडेल (स्याङ्जा)
बिहान सुर्योदय सगै
फेवा तालको ऐनामा
पोखराको अनुहार खोजेँ
तर त्यो ऐनामा नीलो आकाश
माछापुच्छ्रेको मुस्कान भन्दा
चिन्ताको धर्सा बढी देखेँ।
हिउँकै मुकुट लगाएको
सुन्दर माछापुच्छ्रे
समयले उसको अनुहारमा
कालो घाउ थपिदिएको छ ।
जहाँ हिउँ पग्लिदा, पानी होइन
मेरो भबिश्य बगेको देखेँ ।
मैले बाबाको आँखामा हेर्दै
बाबा कै शब्द छामिरहेकी थिएँ
सेती नदिको गर्जन
पहिले जीवनको गीत थियो
आज चेतावनीको शंखनाद ।
आज फेरि बाबाकै अनुहारमा
चिन्ताको धर्सा बढी देखेँ ।
रानी बनका रूखहरू
पहिले हावासँग प्रेमपत्र साट्थे
आज धुलोको भारी बोकेर
मौन उभिएका छन् ।
चराहरू चिर्बिराउन बिर्सिएका छन्
र पातहरूले हरियो भाषा
बोल्न छोडेका छन् ।
आजकल बादलहरू पनि
विश्वासिला छैनन् छोरी ।
असारमा ल्याउनुपर्ने पानी
मंसिरमा आँसु बोकेर झर्छ,
कहिले अतिवृष्टि
घरको सपना बगाउँछ,
कहिले अनावृष्टि
हाम्रा आँखामा
दरार पार्छ।
फेवा सुक्यो भने
ताल मात्र सुक्दैन
हाम्रो आत्मा सुक्छ।
डुंगा रोकिनु भनेको
पानी रोकिनु मात्र होइन,
आशा किनारमै अडिनु हो छोरी
बाबाको अनुहारमा चिन्ताको धर्सा अझै बढी देखेँ ।
हामीले रूख काट्यौँ
र भन्यौँ, विकास भयो।
नदी थुन्यौँ
र भन्यौँ, सुविधा आयो।
धुवाँ उडायौँ
र भन्यौँ, समृद्धि आयो।
तर कसैले सोधेन
सास किन गह्रौँ भयोरु
कसैले लेखेन
हावा किन बिरामी भयो रु
कसैले रोएन
हिमाल किन कालो भयो रु
साच्चै१ कि कसैले देखेन रु
प्रकृति रिसाउँदिन,
ऊ केवल हिसाब मिलाउँछे।
मानौ बाढी उसका आँसु
पहिरो उसको पोखिएको मन
सुख्खा मौसम उसको मौन प्रतिवाद ।
हामीले नसुनेका उसका चेतावनीहरू
आज विपत्तिको भाषामा
कराइरहेका छन्।
हिमाल पग्लिँदैछ
समय पग्लिँदैछ ।
अब ढिला नगरौं
एउटा बिरुवा रोप्न
एउटा खोलालाई
उसको पुरानो बाटो फिर्ता दिन
एउटा जंगललाई
फेरि श्वास भर्न
एउटा हिमालको
सेतो सपना फर्काउन
म, हजुर, हजुर गरौं
अस्तित्वको अन्तिम प्रार्थना ।।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता