कोरला जोड्ने (खन्ती—जोमसोम) सडकको ठेक्का तोडियो

उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गोरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजना अन्तर्गत निर्माणधीन मुस्ताङको (खन्ती—जोमसोम)  १७ किलोमिटर सडकको ठेक्का तोडिएको छ ।विस २०७४ साल जेठ ९ गते ठेक्का सम्झौता भएको यहाँको (खन्ती—जोमसोम) सडकको सातौं पटक म्याद हुँदा समेत निर्माण कम्पनीले सडक निर्माणकार्यमा वेवास्ता र ढिलासुस्ती गरेका कारण आयोजनाले सार्वजनिक सूचना प्रकाशित गरी ठेक्का तोडेको जनाएको छ ।

 यहाँको कोरलानाका जोड्ने सडक अन्तर्गत खन्ती—कोवाङ सडकको कालोपत्रसहित ११ मिटर चौडा सडकको निर्माणकार्य गर्न पप्पु—गौरी पार्वती— कोशी एण्ड न्यौपाने जेभी नयाँ बानेश्वरले रु. ७० करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता अवधि साँढे दुई वर्ष रहेको निर्माणधीन खन्ती—जोमसोम सडक विस २०७६ साल फागुन १५ गते सम्पन्न भई आयोजनालाई हस्तान्तरण गरिनुपर्ने थियो । तर,निर्माण कम्पनीको चरम ढिलासुस्ती र वेवास्ताका कारण खन्ती —जोमसोम सडकको पटक÷पटक म्याद थप हुँदै चालु वर्षको असोज २५ गते अन्तिम पटकको म्याद सकिएको थियो ।

आयोजनाका अनुसार सातौं पटक थपिएको समयसिमामा निर्माणधीन सडक सम्पन्न हुनुपर्नेमा म्याद सकिएको २०० दिन पुरा हुँदा समेत कार्यसम्पन्न नभएको र निर्माण कम्पनीले सो अवधिमा आफुले लिएको बहन गर्नुपर्ने जिम्मेवारी,आफ्नो प्रतिवद्धता तथा ठेक्का सम्झौताका सर्तअनुसार निर्माणकार्य सम्पन्न गर्नेतर्फ पहल नगरेका कारण निर्माण कम्पनीसंगको ठेक्का सम्झौता तोड्नु परेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

यसअघि सडक निर्माणको कार्यलाई निरन्तरता दिन आयोजनाले पटक पटक लिखित तथा मौखिक रुपमा निर्माण कम्पनीसंग अनुरोध गरिएपनि निर्माण कम्पनीले ठेक्का सम्झौताका शर्तहरु बमोजिम आफ्नो करारीय दायित्व पुरा गर्न नसकेको आयोजनाले स्पष्ट पारेको छ ।

आयोजना प्रमुख शर्माले निर्माण कम्पनीले ठेक्का सम्झौताका शर्तको अधिनमा रहेर कार्यसम्पादन नगरेका कारण सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (७) अनुसार ठेक्का सम्झौता तोड्नु परेको बताउँनुभयो । आयोजनाले निर्माणधीन खन्ती—जोमसोम सडकको ठेक्का भईसकेकाले यथाशिघ्र कार्यस्थल छाड्न र ७ दिनभित्र निर्माण कम्पनीका आधिकारिक प्रतिनिधिले ठेक्का तोडिएपछिको कार्यप्रगति मूल्यांकन गर्न आयोजना कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

कोरला सडक अन्तर्गत खन्ती —जोमसोम निर्माणधीन सडकको ८५ प्रतिशत भौतिक प्रगति हुँदा निर्माण कम्पनीको ढिलासुस्ती,वेवास्ता र अटेरीका कारण आयोजनाले ठेक्का सम्झौता तोडेको हो । उत्त सडकका निर्माण कम्पनीलाई असोजदेखि २०० दिनका लागि दैनिक हर्जाना जरिवाना रकम लगाउँदै आईरहेको थियो ।

निर्माणधनी खन्ती कोवाङ १७ किलोमिटर सडक अन्तर्गत थासाङको टुकुचेमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसीसी सडक बाँकी छ । सोही सडक अन्तर्गत मुस्ताङको मार्फा स्थित राजखोलामा एक हजार २०० मिटर सडक कालोपत्र गर्न बाँकी छ भने जोमसोम नेपाली सेनाको ब्यारेक अगाडीको सडकमा ५०० मिटर सडक स्टक्चर र कालोपत्र गर्न बाँकी छ ।


प्रतिक्रिया