जोमसोम, जेठ २२ — मुस्ताङको घरपझोङ गाउँपालिका मा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० को सहजीकरण एवं समन्वयमा आर्थिक वर्ष २०८२र०८३ को शिक्षा क्षेत्रअन्तर्गत संघीय सशर्त कार्यक्रममार्फत उक्त अभिमुखीकरण सञ्चालन गरिएको हो। कार्यक्रम गाउँपालिका उपाध्यक्ष जमुना थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा वडा अध्यक्षहरू, सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, विद्यालय दिवा खाजा तयार गर्ने भान्छे, शिक्षा, कृषि, स्वास्थ्य, महिला तथा बालबालिका शाखाका प्रमुख तथा कर्मचारी, कृषि तथा पशु विकास कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
अभिमुखीकरणमा सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको विद्यालय दिवा खाजालाई स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाजाको अवधारणाअनुसार अघि बढाउनुपर्ने विषयमा विशेष जोड दिइएको थियो। सहभागीहरूले विद्यालय दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्ने, विद्यालयमा टिकाइ राख्ने तथा सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा राखेका थिए।
कार्यक्रममा स्थानीय कृषि उपज तथा स्वदेशी खाद्यवस्तुको प्रयोगमा आधारित दिवा खाजा कार्यक्रम सञ्चालन गर्न सके बालबालिकाको भोक निवारण, पोषण तथा स्वास्थ्यमा सुधार, विद्यालय भर्ना र निरन्तरतामा वृद्धि तथा दक्ष मानव पुँजी निर्माणमा सकारात्मक योगदान पुग्ने अपेक्षा व्यक्त गरिएको थियो।
दिवा खाजामा स्थानीय खाद्यवस्तुको प्रयोगले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने, साथै जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजासम्बन्धी कानुनी तथा नीतिगत पक्षबारे शिक्षा शाखा प्रमुख शिव गिरीले सहजीकरण गरेका थिए। त्यसैगरी विद्यालय दिवा खाजामा स्थानीय उत्पादन समावेश गर्ने, पालिकास्तरीय मेनु तयार गर्ने तथा खाजामा समेटिनुपर्ने पोषकतत्वसम्बन्धी विषयमा विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक लाक्पा तामाङले प्रस्तुति दिएका थिए।
अभिमुखीकरणले विद्यालय दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी, पोषणयुक्त तथा स्थानीय उत्पादनमैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता