बर्सेनि आलोपालो संञ्चालन हुने (नेपाल—चीन) सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सम्पन्न भएको छ । चीनको तिब्बत स्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालतर्फ मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुबीच उपल्लो मुस्ताङको लोमान्थाङ स्थित एक होटलमा दुई देशबीचको संयुक्त सीमा सुरक्षा सम्वन्धी समन्यात्मक बैठक बसेको हो ।
मुस्ताङको कोरलानाका स्थित लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङमा आयोजित (नेपाल—चीन) संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठकमा झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका ८ जना चिनियाँ प्रतिनिधि मण्डलको सहभागी रहेको थियो । चिनिया प्रतिनिधि मण्डलमा झोङ्बा काउन्टीका जनसरकारका उप—काउन्टी प्रमुख डुन्जु युजिए, सुरक्षा ब्युरोका निर्देशक लोयिङ, काउन्टीका सुरक्षा ब्युरोका बैदेशिक सम्पर्क अधिकृत सिरेन झाशी र झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका ५ जना कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
यता,नेपालतर्फबाट मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा,सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी लगायतको उपस्थिती रहेको छ । यसैगरी नेपाल—चीन संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठकमा लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छ्युमी बिष्ट लगायतको उपस्थिती रहेको थियो ।
लोमान्थाङमा आयोजित नेपाल—चीन संयुक्त सीमा सुरक्षा बैठक दुई पक्षिय आपसीहितका बिषयमा छलफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो । प्रजिअ शर्माले कोरलानाका क्षेत्रको सीमा सुरक्षा, कोरलानाकाको सीमा सुरक्षा आवागमनमा कसरी सहज बनाउने र सीमाक्षेत्रमा हुनसक्ने संम्भावित अपराध,चोरी तस्करी र अवान्छित गतिविधिहरुको नियन्त्रणमा कसरी भूमिका खेल्ने लगायतका बिषयमा मौखिक छलफल भएको बताउँनुभयो । यसैगरी आगामी दिनमा दुई देशबीचको स्थानीय जनसरकार र प्रशासनबीचको सम्वन्धलाई थप प्रभावकारी र परिस्कृत तुल्याउँदै लैजाने भन्ने बिषयमा छलफल भएको प्रजिअ शर्माले उल्लेख गर्नुभयो ।
यसैगरी लोमान्थाङमा आयोजित (नेपाल—चीन) संयुक्त सुरक्षा समन्यात्मक बैठकको सहजीकरण लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले गर्नुभएको थियो । नेपाल—चीन कोरला स्थित सीमावर्ती दुईदेशबीचको स्थानीय जनसरकार र प्रशासनबीचको सुमधुर सम्वन्धलाई सुधार गर्दै थप परिस्कृत बनाउँदै लैजाने मौखिक सहमति भएको गाउँपालिका अध्यक्ष बिष्टले उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा देखिएका समस्या र चुनौतिहलाई दुई देशका स्थानीय सुरक्षा अधिकारी र जनप्रतिनिधिहरु मिलेर आपसी समन्वय र सहकार्य गर्दै जाने प्रतिवद्धता जनाईएको छ ।
नेपाल—चीन उत्तरी कोरलाना स्थित नेपाल—चीनका सुरक्षा अधिकारी र स्थानीय जनव्रतिनिधिहरुबीच बर्सेनि आलोपालो समन्वयात्मक बैठक बस्ने प्रचलन छ । चालु वर्षको भदौ महिनामा चीनको स्वशासित क्षेत्र तिब्बतको झोङ्बा काउन्टीमा नेपाल—चीन संयुक्त सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको थियो । यसप्रकारको बर्सेनि हुने नेपाल—चीन संयुक्त सुरक्षा अधिकारीहरुबीचको छलफलले दुई देशबीचको समन्धलाई थप प्रभावकारी बनाउने र यसले एकअर्काबीचका मित्रतालाई प्रगाढ तुल्याउने विश्वाश गरिएको छ ।
यसअघि बैठकका लागि चिनियाँ टोली कोरलानाका हुँदै मुस्ताङको लोमान्थाङ आईपुगेका थिए । यसैगरी मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्मा लगायत सुरक्षा प्रमुखको टोली बिहिबारनै बैठकका लागि लोमान्थाङ पुगेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली