मुस्ताङको लोघेकरमा ‘‘शिक्षक र विद्यार्थीसंग पालिका अध्यक्ष’’ कार्यक्रम ल्याईने

जोमसोम—   देशको ७५३ वटै स्थानीय तहहरुको बजेट चालु भन्दा पुँजिगत बजेट कम हुने गरेको विद्यमान छ । तर, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको बजेट भने चालु भन्दा पुजिंगत बजेट बढी रहेको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत विनियोजित बजेटमा चालु खर्च भन्दा पुंजिगत खर्च बढी रहेको जनाईएको छ ।

उत्तरी चीनसंग सीमाना जोडिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाकाृ २० औं गाउँसभा अधिवेशनमा कुल ३२ करोड ५८ लाख ९५ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले गाउँपालिकाको कुल बजेट मध्ये  १५ करोड ३१ लाख अर्थात  ४७ प्रतिशत बजेट चालु र १७ करोड २७ लाख २४ हजार बजेट पुँजिगत रहेको जानकारी दिनुभयो ।

 गाउँपालिकाको विनियोजन गरेको कुल बजेटमा चालु वर्षसम्मको बैंक मौज्याद ५ करोड र आगामी आर्थिक वर्ष संकलन हुने राजश्व २५ लाख प्रक्षेपण गरिएको उपाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।

 लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि आगामी आर्थिक वर्षको बजेटमा संघीय राजश्व बाँडफाँड  ९ करोड ९५ लाख ५० हजार र प्रदेश राजश्व बाँडफाँड ४२ लाख ३८ हजार रहेको छ । संघीय वित्तिय समानिकरण अनुदान ७ करोड र प्रदेश वित्तिय समानिकरण अनुदान ५० लाख रहेको बजेट वक्तव्यमा उल्लेख छ ।

संघीय सशर्त अनुदान ६ करोड ७६ लाख छ भने प्रदेश सशर्त अनुदान २ लाख रहेको छ । यसैगरी संघीय विशेष अनुदान ७५ लाख र प्रदेश विशेष अनुदान ४० लाख छ । संघीय समपुरक अनुदान ९३ लाख छ । प्रदेश समपुरक अनुदान ६० लाख रहेको गाउँपालिका उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

 गाउँपालिकाले सबैभन्दा बढी बजेट पूर्वाधार र सामाजिक विकासमा विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  सरोज उपाध्यक्षले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वाधार विकासतर्फ १३ करोड ७७ लाख र सामाजिक विकासतर्फ ६ करोड ३६ लाख बजेट विनियोजन भएको बताउँनुभयो । गाउँपालिकाले विपद् व्यवस्थापनतर्फ ५० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले उल्लेख गर्नुभयो ।

 मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा र स्वास्थ्य लक्षित सृजनात्मक कार्यक्रम ल्याउने भएको छ । गाउँसभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले गाउँपालिकाले विद्यार्थी र शिक्षकसंग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने बताईएको छ । नेतृत्वदायी भूमिकामा रहेका जनप्रतिनिधिसंग शिक्षक र विद्यार्थीहरुले चरणवद्ध रुपमा अन्तरक्रिया गरेर शैक्षिक पठन÷पाठन र शिक्षा क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुको अन्तर सम्वादबाट समाधानको बाटो खोजिने गाउँपालिका अध्यक्ष बिष्टले जनाउँनुभयो ।

यसैगरी गाउँपालिका सुरक्षित बर्थिङलाई प्राथमिकतामा राखेर गाउँपालिका स्वास्थ्य संस्थामा नवजात शिशु र सुत्केरी महिलासंग उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । 

उपल्लो मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीय नागरिकहरुको स्वास्थ्य सुविधालाई मध्यनजर गरी आगामी आर्थिक वर्षदेखि गाउँपालिका केन्द्र चराङमा अत्याधुनिक प्रविधिको प्याथोलोजी ल्याव सञ्चालन गर्ने जनाईएको छ । गाउँ घरको नागरिकहरुलाई घरदैलोमै स्वास्थ्य सेवा प्रवाह गर्न र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई हाईअल्टिच्युड जोखिम न्यूनिकरण गर्न ल्याव सञ्चालन गर्ने तयारी भएको अध्यक्ष बिष्टले बताउँनुभयो ।

 लोघेकर दामोदरकुण्ड गाउँपालिकाले प्रद्धि धार्मिक स्थल दामोदरकुण्ड जाने पदमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्डको सीमाना स्याङवचेमा स्वागत गेट निर्माण गर्न बजेट विनियोजन गरेको छ ।

 गाउँसभा अधिवेशनमा गाउँपालिकाको लोगो र गाउँपालिका गीत विमोचनसहित सार्वजनिक गरिएको छ । गाउँपालिकाले लोगो डिजाईनर र गीतका सर्जक शोभा पुनलाई प्रमाणपत्रद्वारा सम्मान गरेको छ । गाउँपालिकाको आर्थिक प्रशासन शाखामा योगदान पु¥याए वापत लोमान्थाङ गाउँपालिकाका लेखा अधिकृत उज्वल चपाईलाई लोघेकर दामोदरकुण्ड गाउँपालिकाले गाउँसभामा सम्मान गरेको छ ।


प्रतिक्रिया