यहाँ स्थित नेपाली सेना शिक्षार्थी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमद्वारा राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको बृहत सरसफाई गरिएको छ । सैनिक उच्चशिखर शिक्षालय कैसाङको आयोजना तथा एक्याप जोमसोमको समन्वयमा बिहिबार मनाङ—मुस्ताङ सीमाना थोरङपासदेखि थोरङफेदीसम्मको पर्यटकीय पदमार्गको बृहत सरसफाई गरिएको हो ।
यहाँको सैनिक उच्चशिखर शिक्षालयका आयोजनामा उच्च हिमाली तथा तथा दुर्गम पहाडी क्षेत्रमा नेपाली सेनाका जवानहरुलाई हिमाली युद्ध कला तथा विपद् प्रतिकार्य सम्वन्धि तालिम दिने क्रममा मनाङ हुँदै मुस्ताङ प्रवेश गर्ने पर्यटकीय पदमार्गको सरसफाई गरिएको हो । समून्द्री सतहको ५४१६ मिटरको उचाईमा अवस्थित थोरङ्पासदेखि समून्द्री सतहको ४२ सय मिटरको उचाईमा रहेको थोरङफेदी (च्याम्बर भू) सम्म करिव १७० जना बढी सैनिक शिक्षाार्थीहरुले फोहोर संकलन गरी सरसफाई गरेको एक्याप जोमसोमका प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । उक्त पदमार्गको फोहोर संकलन केन्द्रमा जम्मा भएका फोहोर र सरसफाई गरी संकलन गरिएका फोहोर गरी ४० बोरा थोरङ्फेदीको सडकमार्गसम्म झारिएको थियो । त्यसपछि संकलित गरी थोरङफेदी झारिएका फोहोरलाई एक्यापले जोमसोम कार्यालयमा ल्याएको प्रमुख गुप्तले बताउँनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत लमजुङको बेसी सहरदेखि मनाङ हुँदै विदेशी पर्यटक उक्त पदमार्ग प्रयोग गरी मुस्ताङ आईपुग्छन् । राउण्ड अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत थोरङपास पर्यटकीय पदमार्ग निकै कठिन र चुनौतिपूर्ण पर्यटकीय पदमार्ग हो । उक्त पदमार्गमा बर्सेनि चैत्र र बैशाख र असोज र कार्तिक महिनामा विदेशी पर्यटकले बढी मात्रामा पदयात्रा गर्ने गरेको एक्याप प्रमुख गुप्तले बताउँनुभयो ।
मनाङ मुस्ताङ पर्यटकीय पदमार्गमा पर्यटकहरुले मिल्काएका फोहोरहरु संकलन गरी व्यवस्थापन गर्ने कार्य भएको प्रमुख गुप्तको भनाई छ । उच्च हिमाली पर्यटकीय पदमार्गहरुमा फोहोरमैला व्यवस्थापन गरी वातावरणीय स्वच्छता तथा दीगो पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सैनिक शिक्षार्थीहरुले महत्वपूर्ण भूमिका खेलेको एक्यापले उल्लेख गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली