मुस्ताङमा पाँचौ राष्ट्रिय स्की प्रतियोगिताका लागि प्रशिक्षण सुरु

यहाँ स्थित वारागुङ मुक्तिक्षेत्रमा  सेताम्मे हिउँमा खेलिने स्की रौनक सुरु भएको छ । नेपाल स्की संघको आयोजनामा मुक्तिनाथमा पाँचौ राष्ट्रिय स्की प्रतियोगिता हुन लागेको हो ।

हिउँमा खेलिने स्की खेलको विकास तथा प्रर्वद्धन गर्दै पर्यटन प्रर्वद्धनमा योगदान पु¥याउने उद्देश्यले नेपाल स्की संघले यसप्रकारको स्की प्रतियोगिता सन् २०१६ देखि सुरु गरेको थियो । पहिलो पटक रसुवाको क्यान्जेन भ्यालीबाट सुरु भएको प्रथम राष्ट्रिय स्की प्रतियोगित त्यसपछिका संस्करणहरु मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुदैआईरहेको छ । मुस्ताङमा सन् २०१९,२०२० र २०२२ मा स्की प्रतियोगिता सम्पन्न भएको थियो ।

 पाचौं राष्ट्रिय स्की प्रतियोगिताका लागि काठमान्डौंबाट खेलाडी तथा अफिसिय टोली मुस्ताङ आईसकेका छन् । टोलीले बुधबार मुक्तिनाथ क्षेत्रमा स्की खेल खेलाउनका लागि ग्राउण्ड स्लोप निर्माण गरिसकेको छ । मुस्ताङ स्की संघका अध्यक्ष सुरज गुरुङले स्की खेल तथा प्रतियोगिताका लागि बिहिबारदेखि तालिम प्रशिक्षण सुरु भईसकेको जानकारी दिनुभयो । स्की प्रतियोगिताका लागि आज जुनियर स्की खेलाडी प्रशिक्षण दिईने र शुक्रबार दोस्रोदिन सिनियर स्की खेलाडीहरुलाई तालिम प्रशिक्षण दिईने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताउँनुभयो । अध्यक्ष गुरुङका अनुसार शनिबार राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्ने कार्यतालिका रहेपनि मौसम हेरेर यसको कार्यतालिका तय हुने बताउँनुभयो ।

हिउँमा खेलिने साहशिक खेल स्की प्रतियोगिताका लागि १४ जना पुरुष र १० जना महिला खेलाडीहरुको सहभागिता रहने जनाईएको छ । यसैगरी मुस्ताङबाट पनि नेपाली सेनाबाट केही खेलाडीहरुले भाग लिने बताईएको छ ।

पाँचौ स्की राष्ट्रिय स्की प्रतियोगिताका लागि नेपाल ओलम्पिक कमिटी एवं नेपाल स्की संघका अध्यक्ष जिवनराम श्रेष्ठ र नेपाल स्की संघका महासचिव  विजय श्रेष्ठ लगायतका टोलीहरु मुस्ताङ आउँदै हुनुहुन्छ । प्रतियोगिता तथा खेलाडी प्रशिक्षणका लागि सिनियर प्रशिक्षक स्वराज श्रेष्ठ, सहायक प्रशिक्षकहरु दिनेश बोहरा,समिप लामिछाने, लक्ष्मी राई , आयुसी महर्जन र शारिरीक प्रशिक्षक बिमन्थ अधिकारी लगायतको टोली छन् ।

यसपटकको पाँचौ राष्ट्रिय स्की प्रतियोगितामा अल्पाईन स्की अन्तर्गत स्लालोम स्की र  ज्यान स्लालोम स्की विधि समेटिएको नेपाल स्की संघका महासचिव विजय श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताहरुलाई नेपाल स्की संघले पुरस्कार स्वरुप स्वर्ण,रजत र कास्य पदक प्रदान गर्ने महासचिव श्रेष्ठको भनाई छ ।

 प्रतियोगिताका लागि मुस्ताङ आएका खेलाडी तथा अफिसियलहरुको सम्पूर्ण आवास, खाजाखाना र यातायाता खर्च नेपाल स्की संघलेनै व्यवहोर्ने महासचिव श्रेष्ठले जनाउँनुभयो ।

 सन् २०२२ पछि आयोजना हुन नसकेको यसप्रकारका स्की प्रतियोगिता जारी सिजनमा मुक्तिनाथ क्षेत्रमा हिमपात भएपछि प्रतियोगिता आयोजना गर्न सम्भव भएको हो । जारी सिजन मुक्तिनाथ क्षेत्रमा चार पटक हिमपात भएको थियो । 

बन्दोवस्तीका पोशाक र उपकरणहरु प्रयोग गरी हिउँमा चिप्लेटी खेलिने खेललाई स्की प्रतियोगिता भन्ने गरिएको छ । विकशित मुलुकमा कृतिम हिउँमा यसप्रकारको स्की खेल खेलाईने भएपनि यसप्रकारको स्रोत साधन नेपालमा नहुँदा प्रतियोगिता संञ्चालन गर्न सक्ने अवस्था छैन । नेपाल स्की संघले हिउँदयामको मौसममा प्राकृतिक हिउँ परेको बखतमा मात्रै यसप्रकारको  स्की  प्रतियोगिता आयोजना गर्ने गरेको छ ।

 मुक्तिनाथ क्षेत्रको सेताम्मे हिउँमा स्की खेलको रौनक सुरु भएपछि पर्यटक तथा स्थानीय नागरिकहरुमा उत्साह छाएको छ ।  हिउँमा खेलिने स्की खेलको माध्यमबाट बेमौसमको पर्यटन घाटालाई कम गर्ने विश्वास गरिएको छ । यसप्रकारका हिउँमा खेलिने खेलकुदलाई राज्य पक्षले उच्चप्राथमिकता राख्नुपर्ने बताईएको छ ।


प्रतिक्रिया