मुस्ताङको बागवानीमा हाईब्रिड स्याउका विरुवा उत्पादन गर्न सुरु

  यहाँको घरपझोङ गाउँपालिका—२ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड एम नाईन स्याउ रुट स्टक विरुवा उत्पादन गर्न सुरु गरेको छ । केन्द्रमा रहेको तन्तु प्रजनन प्रयोगशाला मार्फत तन्तु प्रजनन प्रविधिको उपयोग गरी यहाँ उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका विरुवाहरुलाई नर्सरी स्थापना गरी उत्पादनतर्फ जोड दिईएको हो ।

 हालसम्म तन्तु प्रजनन् प्रविधिबाट नेपालमा उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउको रुट स्टक स्याउका विरुवा उत्पादन भएको छैन । यहाँको केन्द्रले हाईब्रिड स्याउको रुटस्टक विरुवा उत्पादनको वि.स. २०७८ सालमा विभिन्न चरणहरुको परीक्षण गरी बृहत लागि विरुवा उत्पादनतर्फ जोड दिन थालेको हो ।

 नेपालका विभिन्न स्थानमा विभिन्न उद्देश्यका लागि प्रयोगशालाहरु प्रयोग रहेका छन् । यहाँको केन्द्रले यसप्रकारकोे हाईब्रिड स्याउको रुटस्टक विरुवा उत्पादनका लागि प्रयोगशाला मार्फत एम नाईन रुटस्टक विरुवा  उत्पादन गर्न थालेको केन्द्रका जैविक प्रविधि प्राविधिक अधिकृत अशोक लिम्बुले जानकारी दिनुभयो । यसप्रकारको हाईब्रिड स्याउका रुटस्टक विरुवा उत्पादन गर्न नेपालका अन्य तन्तु प्रजनन प्रयोगशालामा पनि प्रयास गरिएको भएपनि हाल यहाँ केन्द्रको तुलनामा सीीमत मात्रामा परीक्षण भईरहेको उहाँको भनाई छ ।

यहाँ स्थित मुस्ताङको घरपझोङ—२ मार्फा स्थित केन्द्रमा २०७८ सालमा तन्तु प्रजनन प्रयोगशाला प्रविधि स्थापना भएको थियो । स्थापनाको पहिलो तीन वर्ष लगातार यहाँ तन्तु प्रजनन् प्रयोगशाला मार्फत हाईब्रिड स्याउको प्रविधि प्रशारणतर्फ काम गर्दैआईरहेको केन्द्रका  जैविक प्रविधि प्राविधिक लिम्बुले उल्लेख गर्नुभयो । त्यस अवधिमा केन्द्रले प्रविधिको उपयोग गरी विभिन्न प्रोटोकलको विकास गरिहेको उहाँको भनाई छ ।

यसका अलावा यहाँको केन्द्रले तन्तु प्रजनन प्रयोगशाला प्रविधिलाई पछ्याउँदै फिल्डमा पनि दिशानिर्देशको रुपमा काम गर्दै हाईब्रिड स्याउ विरुवा उत्पादनको व्यवस्थापनमा जान सकिने निश्कर्षका साथ प्रयोगशाला मार्फत बीउँ उत्पादन गरी स्याउका एम नाईन रुट स्टक विरुवा उत्पादनतर्फ अग्रसरता देखाएको अधिकृत लिम्बुको भनाई छ ।

यहाँ स्थित शीतोष्ण बागवानी विकास केन्द्रले यसवर्ष केन्द्रको नाममा रहेको मुस्ताङको घाँसामा एक रोपनी र केन्द्रको मार्फा स्थित एक रोपनी जग्गामा तन्तु प्रजजन प्रयोगशालामा प्रशारण भएका करिव ६०००  हाईब्रिड एम नाईन रुट स्टक स्याउका कलमी विरुवा उत्पादन गर्ने गरी प्रक्रिया अघि बढाईएको अधिकृत लिम्बुले जानकारी दिनुभयो । यसैगरी केन्द्रले आ.व. २०८०÷०८१ मा तन्तु प्रजनन प्रविधि प्रयोगशालाबाट तीन सय विरुवा उत्पादन भईसकेको र यो परीक्षणको रुपमा रहेको जानकारी दिनुभयो । यसका लागि कृषकहरुलाई वितरण गर्नुअघि केन्द्रले पर्याप्त अध्ययन अनुसन्धान गर्ने तयारी गरेको बताउँनुभयो । केन्द्रले चालु आर्थिक वर्षभित्रमा यसको विस्तृत अध्ययन गरेर खरिदकर्ता किसानलाई उपलब्ध गराउने तयारी गरेको जैविक प्रविधि प्राविधिक लिम्बुले उल्लेख गर्नुभयो ।

 केन्द्रले उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका विरुवा उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार नहुुँदा सीमित मात्रामा विरुवा उत्पादन गर्न थालेको छ । केन्द्रमा पर्याप्त मात्रामा सिसा घर (हाईटेक) भएमा तन्तु प्रजनन् प्रविधि प्रयोगशालामाबाट छोटो समयमा ५० हजारदेखि ६० हजारसम्म हाईब्रिड स्याउका रुट स्टक विरुवा उत्पादन गर्न सकिने संम्भावना रहेको अधिकृत लिम्बुले बताउँनुभयो । यसवर्षको दोस्रो फेजमा यहाँ जेठ महिनाबाट प्रयोगशालामा विरुवा उत्पादनका लागि विभिन्न प्रोटोकल अपनाएर बिउँ उत्पादन गरी रोपण गर्न थालिएको हो ।

मुस्ताङमा पहिलो पटक परीक्षणका रुपमा आफ्नो उत्पादन सुरु गरेको केन्द्रले यहाँको उच्च उचाई,मध्यम उचाई र न्युन उचाईको स्थानमा लगेर परीक्षण आरम्भ गर्ने तयारी गरिएको हो । केन्द्रले यसअघि उत्पादन गरेका एम नाईन रुट स्टक विरुवामा  गाला ,फुजी,डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउलाई रुट स्टक गरिसकेको र त्यसको परीक्षण हुन बाँकी रहेको अधिकृत लिम्बुले उल्लेख गर्नुभयो ।

 यहाँ स्थित केन्द्रमा रहेको यसप्रकारको तन्तु प्रजनन प्रविधि प्रयोगशाला (ल्याबमा  एम नाईन रुट स्टकको एक अंशलाई ल्याबमा राख्ने र त्यसपछि विभिन्न विधि अपनाएर विरुवाका लागि बिउँ उत्पादन गर्ने गरिन्छ । यसप्रकारको प्रविधिबाट बृहत रुपमा तन्तु प्रजनन प्रविधिको प्रशारण गरी गुणस्तरीय तथा आनुवशिंक रुपमा चुस्त एकैनासको विरुवा उत्पादन गर्न सकिन्छ ।

 मुस्ताङमा वि.स. २०७० सालपछि उच्चघनत्व प्रविधिमा आधारित स्याउ खेती सुरु गरिएको हो । थोरै क्षेत्रफलमा धेरै र छोटो समयमा सोचे अनुरुपमा उत्पादन दिने भएकाले यहाँका किसानहरु यसप्रकारको हाईब्रिड स्याउ खेतीतर्फको आकर्षण बढेको हो । यहाँ ईटालीबाट आयात गरिएका हाईब्रिड स्याउलाई संघीय र प्रादेशिक सरकारले अनुदान सहुलियतमा वितरण गरेपछि मुस्ताङमा हाईब्रिड खेती विस्तार भएको हो ।  केन्द्रले आफ्नो प्रविधिको प्रशारण गरी हाईब्रिड स्याउका विरुवा उत्पादन गरेमा हाईब्रिड स्याउका विरुवा भनेको बेलामा सस्तो मुल्यमा उपलब्ध हुनसक्ने सुनिश्चितता रहेको केन्द्रले जनाएको छ । ईटालीबाट आयात गरिएको हाईब्रिड एउँटै रुट स्टक विरुवको एक हजार बढी मुल्य पर्छ ।  यहाँ उत्पादन हुने एक नाईन रुट स्टक विरुवमा विभिन्न प्रजातीका स्याउहरुको कलमी गर्न सकिने छ ।

मुस्ताङमा ८३७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । जसमध्ये ५७२ हेक्टर क्षेत्रफलमा लगाईएको स्याउले उत्पादन दिएको छ । यहाँको पाँच पालिकामा गरी ६२ हेक्टर क्षेत्रफलमा २५० मेट्रिक टन हाईब्रिड स्याउ उत्पादन भएको थियो ।


प्रतिक्रिया