मुस्ताङमा मंगलबार रातिदेखि परेको भारी हिमपातका कारण आवश्यक सुरक्षा सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय बुधबार एक सूचना प्रकाशित गरी पर्यटक तथा स्थानीय नागरिकहरुलाई हिमपातका कारण जोखिम सृजना हुने भएकाले सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको हो ।
गएराति परेको भारी हिमपातका कारण मुस्ताङको वारागुङ मुक्तिक्षेत्र— ४ कागबेनीदेखि माथिको मुक्तिनाथ क्षेत्र, कागबेनी—कोरला सडक, माथिल्लो मुस्ताङका अधिकाँश क्षेत्र, मुस्ताङ—डोल्पा सडक (५८००) मिटर पदमार्ग , मुस्ताङ—मनाङ थोरङ्लापास पदमार्ग (५४५०) मिटर पर्यटकीय पदमार्ग, मुस्ताङ—मनाङ सरिबुङ पास (६०००) मिटर पदमार्ग र मुस्ताङ—मनाङ (५२४५) मिटरको उचाईको पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले अनुरोध गरेको प्रजिअ अजिता शर्माले जानकारी दिनुभयो ।
यसैगरी मुस्ताङको तल्लो क्षेत्र स्थित मुस्ताङ—म्याग्दी धौलागिरी आईसफल पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरुमा भारी हिमपात भएकाले तत्काल अर्को सूचना जारी नहुँदासम्म उक्त स्थानको पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले अनुरोध गरेको प्रजिअ शर्माको भनाई छ ।
मुस्ताङमा गएराति देखि निरन्तर परेको हिमपातका कारण राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (कागबेनी—कोरला) एक सय किलोमिटर सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रजिअ शर्माले जानकारी दिनुभयो । यसैगरी भारी हिमपातका कारण बुधबारदेखि प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जाने (कागबेनी—मुक्तिनाथ) सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रजिअ शर्माले मुक्तिनाथ जाने दर्शनार्थीहरुलाई तत्काल माथि नउक्लिन अनुरोध गरेको छ । मुक्तिनाथ सडकमा बाँक्लो हिउँ जमेकाले सवारी साधन लैजान जोखिम हुने भएकाले त्यसतर्फ यात्रा नगर्न नगराउन हुन सूचित गरिएको प्रजिअ शर्माको भनाई छ ।
मुस्ताङ प्रशासनले मुस्ताङमा हिमपात र वर्षा थप संम्भावना रहेकाले पर्यटक तथा तिर्थयात्रीहरुले मौसम पूर्वानुमान सम्वन्धि आवश्यक जानकारी लिएर उच्च सर्तकताका साथ यात्रा गर्नहुन सम्वन्धित सबैलाई अनुरोध गरेको छ ।
मुस्ताङमा भारी हिमपातका कारण कागबेनी—मुक्तिनाथ अवरुद्ध सडक खुलाउन बुघबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले पहल गरेपनि हिमपातको सम्भावना रहेकाले तत्कालका लागि स्थागित गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । जोमसोमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा घरेलु उपकरणसहित कागबेनी—मुक्तिनाथ सडक खुलाउन गएको टोली हिमपात सुरु हुन थालेपछि जोमसोम फर्किएको छ । सशस्त्र प्रहरीको टोली करिव २०० मिटर दुरीको सडकमा हिउँ पन्छ्याएको भएपनि थप हिउँ पर्न थालेपछि टोली त्यहाँबाट जोमसोम फर्किएको छ ।
हिमपातका कारण कागबेनी—मुक्तिनाथ सडक अवरुद्ध भएपछि मुक्तिनाथ जाने दर्शनार्थीहरु कागबेनीमा रोकिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव निरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । कागबेनीमा हिमपातले सडक अवरुद्ध झन्डै तीन दर्जन सवारी साधन र सयौं यात्रुहरु कागबेनीमा रोकिएको बताउँनुभयो ।
यसैगरी सडक अवरुद्धका कारण रोकिएका मुक्तिनाथ जाने दर्शनार्थीहरु सेताम्मे हिउँ रमाएका छन् । मुक्तिनाथ गन्तब्य हिउँका कारण रोकिएको भएपनि यहाँ आउँदा हिउँ परेकाले मुक्तिनाथ दर्शन रोकिएपनि आफुहरुलाई यहाँको सेताम्मे हिउँले मोहित तुल्याएको बताएका छन् ।
गएराति परेको भारी हिमपातले माथिल्लो मुस्ताङका बस्ती र डाँडाकाँढा चाँदी झै हिउँले सेताम्मे भएको एक्याव लोमान्थाङका कर्मचारी सलिना नेपालीले जानकारी दिनुभयो । कर्मचारी नेपालीले लोमान्थाङमा बस्तीमै दुई फिट बढी हिउँ परेको जानकारी दिनुभयो । हिमपातका कारण माथिल्लो मुस्ताङको जनजिवन प्रभावित भएको कर्मचारी नेपालीले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता