जोमसोम ।
हिमाली जिल्ला मुस्ताङका स्याउ बगैचाका बोटहरुमा तीन महिना अगावै फूल फूल्न थालेको छ । यहाँको घरपझोङ गाउँपालिका—३ स्याङ स्थित कोन्दो स्याउ फार्ममा अपत्यारिलो तरिकाले स्याउ बोटहरुमा फूल फूल्न थालेको हो ।
मुस्ताङमा भदौंदेखि कार्तिक महिनासम्म स्याउको पोष्ट हार्भेस्ट सुरु हुन्छ । यहाँका स्याउ बगैचामा स्याउको पोस्ट हार्भेस्ट गरिएपछि स्याउका बोटहरु पाँत झरेर नांगा हुन्छ । स्याउ बोटमा पूर्ण रुपमा पात झरेपछि मात्रै यहाँका किसानले स्याउ बगैचा व्यवस्थापनकार्य सुरु गर्ने गर्छन । स्याउको बोटका पातहरु पूर्ण रुपमा झरेर उजाड नभएसम्म स्याउ बगैचाको व्यवस्थापन गर्न उपयुक्त हुँदैन । मंसिर महिना महिना लागेपछि विस्तार यहाँका स्याउ बगैचाहरु पाँत झरेर उजाड बनेका छन् ।
मुस्ताङमा पूर्ण रुपमा स्याउ बोटहरु पतझड बनेपछि यहाँका किसानले स्याउ बोटको अनाधिकृत हाँगाबिगाको काटछाँट, गर्ने ,सिचाईको प्रवन्ध गर्ने,मल हाल्ने र बगैचाका स्याउ बोटहरुमा रोगकिरा नियन्त्रणका लागि बोरो मिक्चर र बोरो पेस्ट लगायतका औषधिहरु छर्किने गर्छन । मुस्ताङमा पुस र माघ महिनामा यहाँका किसानले अनुकुल समय मिलाएर स्याउ बगैचाको व्यवस्थापन गर्ने प्रचलन छ । गुणस्तरीय र उत्पादन क्षमता वृद्धि गर्न स्याउ बगैचा व्यवस्थापन महत्वपूर्ण क्रियाकलापको रुपमा लिने गरिन्छ ।
तर, यसपालि यहाँ स्याउ बगैचा व्यवस्थापनको चटारो चलिरहेका बेला यहाँको स्याउ बोटहरुमा पुस महिनामै फूल फूल्न थालेपछि स्यानीय किसान आश्चार्य चकित परेका छन् । यहाँ पुस र माघ महिनामा स्याउ बगैचाको व्यवस्थापन गरिएपछि बैशाख र जेठ महिनामा स्याउ बगैचाका बोटहरुमा पालुवा पलाउने फूल फूल्ने गर्छ । चिसो याममा स्याउका बोटहरु डर्मिन अर्थात सुशुप्त अवस्थामा हुन्छन् । स्याउ बोट अचेत अवस्थामा रहँदा बगैचा व्यवस्थापन गर्नु प्रभावकारी मानिन्छ ।
बैशाख र जेठ महिनामा स्याउ बगैचामा फूल फूल्न थाल्दा अनुकुल र सन्तुलित हावापानी आवश्यक पर्दछ । तर,बैमौसमे वर्षा,अतिवृष्टि र अनुकुल मौसममा हिउँ नपर्दा स्याउ बोटहरुमा परागसेचन (पोलिनेसन) हुन पाउँदैन । जसका कारण स्याउ बोटहरुमा रोगकिराको संक्रमण र स्याउको गुणस्तरमा समेत ह्रास आउँछ ।
मंगलबार घरपझोङ गाउँपालिकाले रेखदेखको जिम्मा पाएको कोन्दो फार्मको बगैचा व्यवस्थापन गर्न जाँदा त्यहाँका स्याउ बोटहरुमा फूल फूल्न थालेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । बेमौसममै स्याउ बोटमा फूल फूलेको तस्विर सामाजिक संञ्जालमा सार्वजनिक गर्दै अध्यक्ष लालचनले भने,‘यो के हुन लागेको ?पुस महिनामै स्याउको फूल फूल्न लाग्यो त ?’ अध्यक्ष लालचनले यहाँको स्याउ बगैचामा स्थानीय जातको परम्परागत लोकल स्याउको बोटमा फूल फूलेको बताउँनुभयो । यहाँ उच्च घनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउ पनि बैशाख महिना नलागी फूल नफूल्ने उल्लेख गदै अध्यक्ष लालचनले पुस र माघ महिना भने स्याउ फूल्ने सिजन नभएको प्रतिक्रिया दिनुभयो ।
मुस्ताङकै ईतिहाँसमा पहिलो पटक यहाँको स्याउ बगैचा भित्रको बोटमा फूल फूलेको र यसको कारण जलवायु परिवर्तनको असर हुनसक्ने अध्यक्ष लालचनको अनुमान छ । यहाँका स्याउ बगैचामा चैत÷बैशाख फूलेर भदौ ÷असोज महिनामा स्याउ फल्ने प्राकृतिक नियम रहेको अध्यक्ष लालचनको भनाई छ । अध्यक्ष लालचनका अनुसार पुस महिनामै यहाँ स्याउ बोटमा फूल फूल्ने मात्रै नभई स्याउ बोटको हाँगाहरुमा झुसिल्किराको संक्रमण देखिएको अध्यक्ष लालचनले जानकारी दिनुभयो ।
यसैगरी यहाँको घरपझोङ गाउँपालिकाका कतिपय किसानको स्याउ बगैचामा पनि पुस महिनामै स्याउ बोटमा फूल फलेको बताईएको छ । यहाँको स्याउ बगैचामा पुस महिनमै स्याउ बोटमा फूल फूल्नु जलवायु परिवर्तनका असर हुनसक्ने शीतोष्ण बागवानी विकास केन्द्रका जैविक प्रविधि प्राविधिक अशोक लिम्बुले उल्लेख गर्नुभयो । जलवायु परिवर्तनका कारण पछिल्लो केहीवर्ष यता अनुकुल समयमा हिउँ नपरेका कारण स्याउ बोटको जमिनको तापमान वृद्धि भएकाले यस्तो हुनसक्ने भएकाले यो अनुसन्धानको पाटो भएको प्राविधिक लिम्बुको भनाई छ ।
मुस्ताङमा पछिल्लो तीन वर्ष अनुकुल याममा पनि हिउँ परेको छैन । यसवर्षको गत कार्तिक १० गते यहाँ स्थित माथिल्लो मुस्ताङमा आशिंक हिमपात भएको थियो । हिउँदयामको चिसो याममा पनि अनुकुल याममा हिउँ नपर्दा बाहिरी वातावरण चिसो भएपनि जमिनको भित्री तहको तापमान वृद्धि भएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली