कोरला सडकमा चार पुल थपिंदै

उत्तर/दक्षिण व्यापारिकमार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडकमा चार पुल थपिने भएको छ ।  बुधबार बेनी—जोमसोम सडकमा चार वटा पक्की मोेटरेबल पुल निर्माण गर्न आयोजनाले एकैसाथ ठेक्का खुलाएको हो ।

  पर्वतको मालढुंगा—बेनी र बेनी—जोमसोम सडकखण्डमा करिव ६५ करोड बढी लागतमा  नयाँ पुल बनाउने ठेक्का लागेको हो । यसअघि गत बैशाख महिनामा नेपाल सरकार अर्थमन्त्रालयले उत्तर÷दक्षिण जोड्ने कोरला सडककोे विभिन्न स्थानमा पक्की पुल निर्माण गर्ने गरी पाँच वटा पुलका लागि छयानब्बे करोड ८० लाख बराबरको स्रोत सहमति प्रदान गरेको हो । सोही अनुसार आयोजनाले कोरला सडकका लागि बहुवर्षीय ठेक्का आह्वान गरेको हो ।

  कोरला सडकका लागि पाँच वटा पुलको स्रोत सहमति प्राप्त गरेपनि तत्कालका लागि चार वटा पुलको मात्रै बहुवर्षीय ठेक्का आह्वान गरेको आयोजनाले जनाएको छ । कोरला सडकका लागि चार वटा पुल निर्माण गर्न तीन वटा अलग÷अलग ठेक्का आह्वान भएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

 पर्वतको मालढुंगादेखि कोरला सडकको दुरी २०२ किलोमिटर छ । उक्त सडकको पर्वतको मालढुंगा —बेनी जोड्ने कालिगण्डकी नदीमा पुल निर्माण गर्न ठेक्का आह्वान गरिएको हो । यसैगरी बेनी—जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङमा तीन वटा पुल निर्माण गर्न ठेक्का आह्वान भएको आयोजना प्रमुख शर्माले उल्लेख गर्नुभयो ।

 बेनी—जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका—२ स्थित सुन खोला र सोही स्थान नजिकैको घट्टे खोलामा पक्की पुल निर्माण गर्न एउँटै ठेक्का खुलाईएको आयोजनाको सूचनामा उल्लेख छ । यसैगरी बेनी—जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचे स्थित थापाखोलामा पुल निर्माण गर्न अर्को ठेक्का आह्वान भएको हो ।

 बेनी—जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपुर्ण गाउँपालिका—३ दाना रुप्से स्थित खोलामा निर्माण गर्ने भनिएको पक्की पुलको केही प्राविधिक काम बाँकी रहेकाले तत्कालका लागि ठेक्का आह्वान गर्न नसकेको आयोजना प्रमुख शर्माको भनाई छ ।

पर्वत—बेनी जोड्ने कालिगण्डकी नदीमा दुईतर्फी सवारी आवागमन सहज बनाउन पक्की पुलको ठेक्का आह्वान गरिएको हो । यसैगरी मुस्ताङको घट्टे खोला र थापाखोलामा हाल सञ्चालनमा रहेको बेलिब्रिज विस्थापित गर्ने गरी नयाँ पक्की पुलको ठेक्का खुलाईएको हो । सुनखोलामा भने पुल बनेको थिएन । त्यहाँ थासाङ गाउँपालिकाले अस्थायी काठेपुल निर्माण गरी कामचलाउ गराएको थियो ।

 पर्वत—बेनी जोड्ने पुलका लागि कार्यअवधि ३४ महिना तोकिएको छ । थासाङको सुनखोला र घट्टे खोलाको कार्यअवधि ३७ महिना तोकिएको छ भने थापाखोला पुल निर्माणको कार्यअवधि ३२ महिना तोकिएको आयोजनाले उल्लेख गरेको छ ।

विस २०७३/०७४ सालदेखि सुरु भएको राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकमा हालसम्म पन्ध्र वटा पक्की मोटरेबल पुल सम्पन्न भईसकेका छन् । जसमध्ये गतवर्ष तीन वटा पुलको निर्माण सम्पन्न भएको थियो । आयोजना अन्तर्गत कोरलानाका जोड्ने जोमसाम—कोरला सडकको घमी खोला पुल निर्माणको अन्तिम चरणमा रहेको जनाईएको छ । घमी खोलामा निर्माणधीन पुलको एप्रोज सडक र पुल फिनिसिंङका कामहरु बाँकी रहेको जनाईएको छ ।

 योसंगै राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत पर्वतको मालढुंगादेखि कोरलासम्मका अधिकाँश शाखा नदी र मुख्य नदीहरुमा पुल निर्माण सम्पन्न, निर्माणधीन र निर्माणको चरणमा रहेको आयोजनाले बताएको छ ।

  आयोजनाले गतहप्ता मुस्ताङको छुसाङदेखि घमीसम्मको बयालिस दशमलव २ किलोमिटर सडकको दुई प्याकेजमा  स्तरोन्नति तथा कालोपत्र गर्ने गरी करिव दुई अर्ब बजेटको ठेक्का आह्वान गरिसकेको छ ।


प्रतिक्रिया