मुस्ताङमा सामाजिक कुरिति, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइयो

मुस्ताङ, जेठ २१ — मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङमा सामाजिक कुरिति, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन तथा निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस विविध कार्यक्रम गरी मनाइएको छ।

मुस्ताङस्थित एकीकृत सेवा कार्यालयको आयोजनामा तथा विभिन्न सरकारी कार्यालय र सुरक्षा निकायको समन्वयमा दिवस मनाइएको हो। सो अवसरमा सामाजिक कुरितिविरुद्ध अभियान सञ्चालन तथा पुनर्स्थापना सम्बन्धी सचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो।

कार्यक्रमको पहिलो सत्र जनकल्याण आधारभूत विद्यालय, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र स्याङ गाउँ समाजको समन्वयमा सञ्चालन गरिएको एकीकृत सेवा कार्यालय मुस्ताङले जनाएको छ।

कार्यालय प्रमुख निरुपति दर्जीका अनुसार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस र निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको राष्ट्रिय दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आईतेलाल थकाली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै जिल्ला न्यायाधिवक्ता सुशिला ज्ञवाली, वडा अध्यक्ष फलेन्द्रप्रसाद थकाली, प्रहरी निरीक्षक सन्तोष बस्याल, गाउँ समाज, विद्यालय, आमा समूह तथा युवा क्लबका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा सामाजिक विभेद, छुवाछुत, बालअधिकार संरक्षण तथा सामाजिक सद्भाव प्रवर्द्धनका विषयमा छलफल तथा सचेतनामूलक गतिविधि सञ्चालन गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया