मुस्ताङको थासाङमा दोस्रो राष्ट्रिय याकचौरी दिवस मनाईयो

यहाँको थासाङ गाउँपालिका—२ घट्टे खोलामा दोस्रो राष्ट्रिय याकचौरी दिवस विभिन्न कार्यक्रमका साथ मनाईएको छ । यहाँ स्थित हिमालय चौरी पालन तथा संरक्षण समितिको आयोजनता तथा थासाङ गाउँपालिकाको आर्थिक सहयोगमा सोमबार राष्ट्रिय याक दिवस हर्षउल्लासका साथ मनाईएको हो ।

सदिंयौ वर्षदेखि चल्दै आईरहेको परम्परागत संस्कृतिको याकचौरी पालन व्यवसायलाई संरक्षण,प्रर्वद्धन र पुस्तान्तरण गर्ने उद्देश्यसहित यसवर्ष मुस्ताङसहित रसुवा र पाँचथर जिल्लामा राष्ट्रिय याक दिवस मनाईएको छ ।

मुस्ताङको घट्टे खोलामा आयोजित राष्ट्रिय याक दिवसको उद्घाटन गर्दै थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले  ऐतिहाँसिक तथा सास्कृतिक धरोहरका रुपमा परम्परागत याकचौरी पालन व्यवसायलाई संरक्षण,सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्ने आवश्यक रहेको औल्याउनु भयो । हिमाली क्षेत्रमा पालन गरिने परम्परागत याकचौरी पालन व्यवसायीहरुको हकहित र अधिकारी प्रत्याभूतिका लागि गत वर्ष राष्ट्रिय याकचौरी महासंघ विधिवत दर्ता भएको अध्यक्ष गौचनले बताउँनुभयो । जैविक विविधता र पारिस्थितीक प्रणालीमा महत्वपूर्ण योगदान पु¥याउने यसप्रकारको याकचौरी पालन व्यवसाय लोपोन्मुख अवस्थामा रहेकाले संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । याकचौरी पालन व्यवसाय महंगो र जोखिमयुक्त व्यवसाय रहेको उल्लेख गर्दै यसको दिगो व्यवस्थापनका लागि राज्य पक्षले याकचौरी पालन व्यवसायहरुको उत्थान गर्न ठोस कार्यक्रम अवलम्व गर्नुपर्ने आवश्यक रहेको बताउँनुभयो । पछिल्लो समय याकचौरी पालन व्यवसायको संरक्षणका लागि ८० प्रतिशत बिमा सुरक्षित गरेकाले उच्चलेंक र खर्कमा हुने प्राकृतिक तथा वन्यजन्तुबाट हुने क्षतिबाट कृषकलाई आशिंक राहत उपलब्ध भएको अध्यक्ष गौचनको भनाई छ ।

यसैगरी राष्ट्रिय याकचौरी महासंघका केन्द्रिय सचिव सोजन हिराचनले गतवष महासंघको पहलमा सरकारले मन्त्रिपरिषदबाट बर्सेनि बैशाख ७ गतेका दिनलाई राष्ट्रिय याक दिवस मनाउने घोषणा गरेकाले मुस्ताङमा दोस्रो याक दिवस आयोजना गरिएको बताउँनुभयो । दिवसले याकचौरी पालन व्यवसायलाई उत्साहित तुल्याएपनि याकचौरी पालन गर्ने किसानका समस्या र चुनौतिहरु बग्रेल्ती रहेको सचिव हिराचनले बताउँनुभयो । चरनक्षेत्रमा वन्यजन्तुबाट हुने आक्रमणको जोखिम, बमौसमी हिमपातका साथै जलवायु परिवर्तनको असरले याकचौरी पालन व्यवसाय संकटमा पर्न थालेको उल्लेख गर्नुभयो ।उच्चलेंकका चरनक्षेत्रमा जलवायुका कारण अनाधिकृत घाँस पलाउने र पानीका स्रोतहरु सुक्दै जान थालेकाले परम्परागत याकचौरी पालन व्यवसाय लोपोन्मुख अवस्थामा रहेकाले यसको संरक्षण गर्नु चुनौति रहेको सचिव हिराचनको भनाई छ ।

यस्तै, थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले याकचौरी पालन व्यवसायलाई जोगाउन गाउँपालिका सदैव तयारी रहेको बताउँनुभयो । गाउँपालिकाले सम्भव भएसम्म यहाँका याकचौरी पालन गर्ने किसानको उत्थानमा आर्थिक ,भौतिक र प्राविधिक सहयोगका लागि तयार रहेको बताउँनुभयो ।

मुस्ताङमा आयोजित दोस्रो राष्ट्रिय याक दिवसका अवसरमा हिमालयन चौरी पालन तथा संरक्षण समितिले यसवर्ष थासाङ—२ लार्जुङका याकचौरी पालक राजेन्द्र तुलाचनलाई दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरेको छ । विगत २० वर्षदेखि निरन्तर रुपमा याक नाक (चौरी) पालन व्यवसाय अपनाउँदै आईरहेका तुलाचनलाई हिमाली क्षेत्रको परम्परा र संस्कृतिको संरक्षण,स्थानीय आर्थिक विकास तथा रोजगारी सृजनामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उत्कृष्ट याक नाक (चौरी)पालन व्यवसायीको रुपमा सम्मान गरिएको हो । दिवसका अवसरमा मुस्ताङमा पालन गरिएका याक नाक (चौरी) मध्ये सर्वोउत्कृष्ट याकचौरी पालन गरेवापत थासाङ—२ सौरुका स्थानीय सोजन हिराचनलाई संस्थाले सम्मान गरेको हो ।

परम्परागत याकचौरी पालन व्यवसाय लोपोन्मुख अवस्थामा रहँदा थासाङ गाउँपालिकामा नयाँ थपिएका पाँच घरधुरी याकचौरी पालन व्यवसायलाई स्वागतसहित सम्मान गरिएको छ । थासाङ गाउँपालिका अन्तर्गत टुकुचेमा दुई घरधुरी,कोवाङमा एक घरधुरी र थासाङ—४ देउरालीमा दुई घरधुरीले यसवर्ष नयाँ व्यवसायीका रुपमा याकचौरी पाल्न सुरु गरेको बताईएको छ ।

 दोस्रो राष्ट्रिय याक दिवसका अवसार म्यूजकल चियर,घैटो फुटाउने खेल ,तारा खेल प्रतियोगिताका साथै सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । प्रतियोगितामा विजयी खेलाडी तथा टिमलाई थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचन, उपाध्यक्ष सोमल हिराचन,थासाङ—३ का वडाध्यक्ष हरी गौचन, हिमालयन याक नाक पालन उपसमितिका अध्यक्ष बुद्धिरत्न तुलाचन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

 यसैगरी गरी दिवसका अवसरमा कृषि तथा पशु विकास कार्यालय मुस्ताङले संस्थामा दर्ता भएका र नभएका गरी कुल २६ घरधुरी याकचौरी पालकलाई रेनकोट वितरण गरेको कार्यालय प्रमुख डा. लालमणि अर्यालले जानकारी दिनुभयो । चरनक्षेत्रमा याकचौरीको सरक्षण गर्दा वर्षाका कारण गोठालाहरुलाई समस्या हुने भएकाले कार्यालयले रेनकोट वितरण गरेको उहाँको भनाई छ ।

 मुस्ताङमा शनिबारदेखि चौरीको आलो रगत खाने मेला समेत लागेको छ । चौरीको आलो रगतका खाने मेलामा आएका सर्वसाधरणले समेत याक दिवसको कार्यक्रममा उत्साहजन रुपम सहभागि जनाएका थिए ।


प्रतिक्रिया