स्याउको राजधानीका रुपमा परिचित हिमाली जिल्ला मुस्ताङमा किसानलाई स्याउ खेती गर्न सिकाउने सरकारी संस्थाको नाम हो शीतोष्ण बागवानी विकास केन्द्र । घरपझोङ गाउँपालिका—२ मार्फामा विस २०२३ सालमा किसानलाई स्याउ खेती सम्वन्धी प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले शीतोष्ण बागवानी विकास केन्द्र स्थापना गरिएको थियो । झन्डै पचपन्न वर्ष पुरानो ईतिहाँस बोकेको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रको योगदानकै कारण यहाँका किसानले स्याउ खेती गर्ने तरिका सिके ।
केन्द्रमा स्याउ लगायतका शीेतोष्ण हावापानीमा उत्पादन हुने फलफूलहरुको प्रविधि हस्तान्तरण, उत्पादन तथा बिक्री वितरण गरी राजश्व संकलनमा समेत टेवा पु¥याईएको थियो । केन्द्रले स्याउ लगायतका हिमाली फलफूल तथा तरकारी उत्पादन, नर्सरी स्थापनाका साथै तन्तु प्रजनन् प्रविधिबाट बेर्ना उत्पादन समेत गर्ने गरेको छ ।
केन्द्रले स्याउ खेती मात्रै होईन यहाँका किसानलाई स्याउको ब्रान्डी बनाउने प्रविधिसमेत हस्तान्तरण गर्ने गरेको छ । स्थापनाको करिव दश वर्षपछि विस २०३२÷०३३ सालमा केन्दले स्याउ तथा शीतोष्ण फलफूलहरुको ब्रान्डी बनाउने उद्योग स्थापना गरेको थियो । सरकारी स्वामित्वमा रहेको केन्द्रले व्यवसायिक प्रयोजन नभई देशभरका किसानलाई स्याउ प्रशोधन गरी ब्रान्डी बनाउने सीप सिकाउँदै आईरहेको छ । केन्द्रले झन्डै ५० वर्षदेखि किसानहरुलाई स्याउको ब्रान्डी बनाउने प्रविधि हस्तान्तरण गर्दैआईरहेको छ भने अर्कोतर्फ केन्द्रको फार्ममा उत्पादित कमसल खालका र सहज रुपमा बजारमा बिक्री हुन नसक्ने स्याउ लगायतका फलफूलहरुलाई सदुपयोग गर्दै ब्रान्डी उत्पादन गरी राजश्व वृद्धिमा सहयोग पु¥याएको छ ।
बर्सेनि मुस्ताङसहित देशका विभिन्न जिल्लाबाट स्याउ खेती र केन्द्रमा रहेको ब्रान्डी,वाईन लगायतका विभिन्न प्रविधिहरु सिक्न किसानहरु मुस्ताङ आउने गरेका हुन्छन् । मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रका प्रमुख प्रकाश पन्तले तत्कालका लागि सरकारको मौखिक निर्देशन अनुसार केन्द्रमा संञ्चालनमा रहेको ब्रान्डी उद्योग बन्द गरिएको जानकारी दिनुभयो । केन्द्रको स्यामित्वमा रहेको स्याउ बगैचामा फलेका कम गुणस्तरका स्याउ लगायतका फलफूलहरुलाई सदुपयोग गर्ने तथा किसानमैत्री प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले खोलिएको उद्योग अहिले आएर बन्द हुन पुगेको प्रमुख पन्तको भनाई छ । सरकारी निकायबाट संञ्चालन गरिएका यसप्रकारका प्रविधि हस्तान्तरण उद्योगलाई संरक्षण गर्न सरकारलेनै नीतिगत निर्णय गरे उपयुक्त हुने पन्तले बताउँनुभयो ।
परम्परागत पुरानो प्रविधिद्वारा दाउराको उर्जा प्रयोग गरी भट्टाबाट ब्रान्डी उत्पादन गर्ने केन्द्रको यो उद्योग अहिले संकटमा परेको हो । केन्द्रको बगैचामा खेर जाने स्याउलाई ब्रान्डी उत्पादन गरी राजश्व संकलनमा टेवा पु¥र्याईरहेको सञ्चालित उद्योग बन्द हुँदा यसले आमजनमानसमा चिन्ता थपिदिएको छ । सरकार निकायको उद्योगबाट निःशुल्क प्रविधि सिक्न पाईने अवसर अबका दिनमा चल्छ वा चल्दैन टुंगो छैन ,तर,यसले केन्द्रको ५० वर्ष पुरानो ब्रान्डी उद्योग सञ्चालनमा तत्कालका लागि पूर्णविराम लागेको छ ।
बर्सेनि ५०० लिटर भन्दा बढी स्याउको ब्रान्डी बनाउने केन्द्रको उद्योगमा यसवर्ष प्रविधि प्रशारण तथा ब्रान्डी उत्पादन हुन नसकेको केन्द्र प्रमुख पन्तको भनाई छ । प्रति लिटर ५५० रुपैयामा ब्रान्डीको बिक्री हुने गरेको र सो वापतको आम्दानी सरकारको राजश्वमा संकलन हुने थियो । तर, सरकारले मदिरा र मदिराजन्य कम्पनीमा अन्तशुल्कमा दर्ता अनिवार्य गराएकै कारण केन्द्रको ब्रान्डी उद्योगमा उक्त कानुनी प्रावधानले उद्योग संञ्चालनमा समस्या उत्पन्न भएको हो ।
गतवर्ष महालेखा परीक्षकको कार्यालयले केन्द्रको वार्षिक लेखा परीक्षण गर्दा अन्तशुल्क स्टिकर नभईकन ब्रान्डी वितरण गरेको र राजश्व घाटा भएको उल्लेख गर्दै करिव ३२ लाख रुपैया बेरुजु राखेको केन्द्र प्रमुख प्रकाश पन्तको भनाई छ । मलेपले ब्रान्डी उत्पादन गरिरहेको मूल्य बराबरका अन्शुल्क राजश्व परिमाणको रकम बेरुजु राखेकाले कृषि वन तथा पर्यावरण मन्त्रालयको मौखिक निर्देशनमा तत्कालका लागि ब्रान्डी उद्योग सञ्चालन नगर्न भनेकाले ब्रान्डी उद्योग बन्द गरिएको उहाँको भनाई छ ।
सरकारले अन्तशुल्क स्टिकर बिना मदिराजन्य पदार्थ बिक्री गर्न नपाईने नियम कानुन प्रचलित कानुन अनुसारनै भएको उल्लेख गर्दै सरकार निकायको हकमा केन्द्रिीय तहबाट वैकल्पिक बाधा÷अवरोध फुकाउने गरी नीतिगत निर्णय भईदिए उद्योग सञ्चालन गर्ने बाटो खुल्ला हुने प्रमुख पन्तको भनाई छ । अन्तशुल्क स्टिकर वापत उठ्ने राजश्व र केन्द्रले स्टिकर लेवल नटाँगिकन बिक्री गर्ने आम्दानी दुबै सरकारको राजश्वमा जाने भएपनि सरकारको मदिराजन्य पदार्थमा लाग्ने अन्तशुल्क राजश्व प्रचलित कानुन भएकाले सरकारी र निजी उद्योगलाई समान रुपमा कार्यान्वनयन गर्न खोजिनुपनी सान्दर्भिक नै रहेको केन्द्रको बुझाई छ ।
मुस्ताङको घरपझोङ—२ मार्फाका अंग्रज डिस्टिलरी उद्योग व्यवसाय एवं पूर्व जिविस सभापति बिष्णुराज हिराचनले केन्द्रबाट सिकेको प्रविधि हस्तान्तरले आफुले निजी क्षेत्रबाट मुस्ताङमा पहिलो उद्योग खोलेको बताउँनुभयो । केन्द्रले यहाँका किसानलाई स्याउ खेती गर्न र स्याउको ब्रान्डी बनाउने प्रविधि सिकाएको व्यवसायी हिराचनको भनाई छ । केन्द्रबाट प्रविधि सिकेर विस २०३६ सालदेखि उद्योग संञ्चालन गरेपछि अन्यले पनि यस्तै उद्योग सञ्चालन गरिआएको अंग्रज व्यवसायी हिराचनको भनाई छ ।
मुस्ताङमा केन्द्रको स्याउ तथा अन्य शीतोष्ण फलफूलहरुको ब्रान्डी र वाईन बनाउने उद्योगको योगदानकै कारण मुस्ताङमा ८ वटा भन्दा बढी निजी क्षेत्रबाट संञ्चालन ब्रान्डी बनाउने डिस्टिलरी सञ्चालनमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको अन्तशुल्क एकाईको तथ्यांकमा उल्लेख छ । मुस्ताङको मार्फामा ५ वटा, स्याउ,टुकुचे र घाँसमा एक÷एक वटा ब्रान्डी उद्योग सञ्चालनमा रहेको अन्तशुल्क अधिकृत शालिकराम सापकोटाले जानकारी दिनुभयो ।
मुस्ताङमा सञ्चालित निजी क्षेत्रका ८ ब्रान्डी उद्योगबाट अन्तशुल्क स्टिकर वापतको राजश्व गतवर्ष तीन करोड ८६ लाख र चालु वर्षको जेठ १५ सम्म चार करोड ९७ लाख बढी राजश्व संकलन भएको अन्तशुल्क अधिकृत सापकोटाले उल्लेख गर्नुभयो ।
मुस्ताङमा ८ डिस्टिलरी उद्योगबाट गतवर्ष एक लाख ५० हजार ७७३ लिटर र चालु वर्षको जेठ १५ गतेसम्म एक लाख ८३ हजार १४६ लिटर ब्रान्डी उत्पादन भएको थियो । सरकारले दुर्गम क्षेत्रमा फलफूलमा आधारित मदिरा उद्योगलाई ८० प्रतिशत अन्तशुल्क राजश्व छुट दिने व्यवस्था गरेको अन्तशुल्क अधिकृत सापकोटाले उल्लेख गर्नुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली