यहाँको थासाङ गाउँपालिकामा याकचौरी पालन व्यवसाय गर्ने २६ घरधुरी पशुपालक किसानलाई रेनकोट वितरण गरिएको छ । मुस्ताङमा आयोजित राष्ट्रिय याक दिवस २०८३ को दोस्रो तथा समापान कार्यक्रममा कृृषि तथा पशु विकास कार्यालय मुस्ताङले मंगलबार रेनकोट वितरण गरेको हो ।
मुस्ताङका उच्चलेंक,खर्क र पाटनका चरनक्षेत्रहरुमा याकचौरी चराउने बेला पानी परेर याकचौरी रेखदेख गर्ने गोठालाहरुलाई समस्या हुने भएकाले कार्यालयले याकचौरी पालकहरुको प्रोत्साहनका लागि २६ थान रेनकोट वितरण गरिएको कार्यालयका प्रमुख एवं पशुचिकित्सक डा. लालमणि अर्यालले जानकारी दिनुभयो । थासाङको घट्टे खोलामा आयोजित दोस्रो राष्ट्रिय याकचौरी दिवसको समापन कार्यक्रममा याकचौरी पालकहरुलाई रेनकोर्ट वितरण गरिएको उहाँले बताउँनुभयो ।
थासाङमा संस्थामा आवद्ध भएका र नभएका गरी २६ घरधुरीलाई कृषि तथा पशु विकास कार्यालय मुस्ताङले रेनकोर्ट उपलब्ध गराएको हो । थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचन,उपाध्यक्ष सोमल हिराचन,वडाध्यक्ष हरी गौचन, याकचौरी महासंघका केन्द्रिय सचिव सोजन हिराचन र कार्यालय प्रमुख डा. अर्यालसहितको टोलीले याकचौरी पालकहरुलाई पानी पर्दा लाउने रेनकोर्ट हस्तान्तरण गरिएको हो ।
सो अवसरमा सरकारी स्तरबाट हुने यसप्रकारका कृषक प्रोत्साहन कार्यक्रमहरुले लोपोन्मुख अवस्थामा रहेको याकचौरी पालन व्यवसायको संरक्षण हुने याकचौरी महासंघका केन्द्रिय सचिव सोजन हिराचनले उल्लेख गर्नुभयो । हिउँदयाममा बस्ती र बर्खायाममा उच्चलेंक र पाटनहरुमा घुम्ती गोठ खडा गरी पालन गर्नुपर्ने जोखिम र चुनौतिपूर्ण व्यवसाय याकचौरीलाई सरकारले उच्च प्राथमिकतामा राखिनु पर्ने उहाँको भनाई छ । जलवायु संकटका कारण चरनक्षेत्र र वन्यजन्तुको आक्रमणको जोखिमले याकचौरी पालनका लागि चरनक्षेत्र असुरक्षित बन्दै जान थालेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
मुस्ताङको ऐतिहाँसिक तथा सांस्कृतिक धरोहरको रुपमा रहेको परम्परागत याकचौरी पालन यहाँको जिविकोपार्जनको स्रोत मात्रै नभई सास्कृतिक सम्वन्ध रहेको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले बताउँनुभयो । सरकारले याकचौरी पालनलाई जोगाउन वन्यजन्तु तथा प्राकृतिक विपद्मा परी याकचौरी क्षति भएमा ८० प्रतिशत बिमा सुनिश्चित गरेको छ ।
थासाङमा याकचौरी पालन व्यवसायको संरक्षण,प्रर्वद्धन र पुस्तान्तरणका लागि संस्थागत रुपमा जिल्ला स्तरीय हिमालयन चौरी पालन तथा संरक्षण समिति गठन भएसंगै नयाँ याकचौरी पाल्ने किसान थपिन थालेका छन् । थासाङमा चालु वर्ष नयाँ याकचौरी व्यवसाय सुरु गर्ने पाँच घरधुरी थपिएका छन् । थासाङको टुकुचेमा २, कोवाङमा १ र झिप्रा देउरालीमा २ घरधुरीले याकचौरी पालन सुरु गरेका हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली