मुक्तिनाथ मन्दिरका चार योजना स्वीकृत हुँदै

यहाँ स्थित हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तिर्थस्थल मुक्तिनाथधाममा पाँच करोड बढी लागतका चार वटा पूर्वाधार योजना प्रस्ताव पुरातत्व विभागबाट स्वीकृत हुने अन्तिम तयारीमा रहेको छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा मुक्तिनाथ विकास समिति मार्फत पुरातत्व विभागमा पठाईएको भक्तजनमैत्री आठ वटा पूर्वाधार योजना मध्ये चार वटा योजनाहरु पुरातत्व विभागबाट स्वीकृत हुन लागेको हो ।

पुरातत्व विभागले मुक्तिनाथ विकास समितिद्वारा पेश गरिएका आठ वटा योजना मध्ये चार वटा भक्तजन मैत्री पूर्वाधार योजनाहरु स्वीकृत हुने तयारीमा रहेको पुरातत्व विभागका प्रवत्ता सन्दिप खनालले जानकारी दिनुभयो । समितिले पठाएका योजना मध्ये  पाँच करोड १९ लाख लागत अनुमान गरिएका चार वटा योजना एकैसाथ स्वीकृत गर्न केही प्राविधिक ड्रोईनको फेरिफाई गर्न बाँकी रहेको विभागका प्रवत्ता खनालको भनाई छ ।

 समितिले पुरातत्व विभागमा पेश गरिएका भक्तजनमैत्री आठ वटा पूर्वाधार योजना मध्ये आवश्यकता र औचित्यताका आधारमा ड्रेस  चेन्जिङ हल, शौचालय, नयाँ भक्तजन परिक्रमा पथ र १०८ धारा मर्मत तथा स्तरोन्नति योजनालाई पुरातत्व विभागले स्वीकृत गर्न लागेको विभागका प्रवत्ता खनालको भनाई छ । यसअघि समितिले पूर्वाधार निर्माणका लागि सबै योजनाहरुको प्राविधिक स्टमेट गरी लागत अनुमानसहित खुलाएर पुरातत्व विभागमा प्रस्ताव पठाएको थियो । विभागका प्रवत्ता खनालका अनुसार पेश गरिएका प्रस्तावको प्राविधिक ड्रोईङ नमिलेका कारण दुई पक्षिय प्राविधिक मिलेर टुङ्ग्याने बताउँनुभयो ।

यसैगरी मुक्तिनाथ विकास समितिका प्राविधिक ईन्जिनीयर विनय थकालीका अनुसार मुक्तिनाथमा भक्तजनले १०८ धारा र स्नान कुण्डमा नुहाएपछि कपडा फेर्नका लागि ड्रेस चेन्जिङ हल निर्माण गर्न २ करोड २० लाख, भक्तजनका लागि सार्वजनिक शौचालय निर्माणमा एक करोड ३४ लाख ,नयाँ परिक्रममा पथ निर्माणमा एक करोड ५७ लाख र १०८ धारा मर्मत तथा स्तरोन्नतिका लागि आठ लाख २२ हजार लागत स्टमेट गरी विभागमा पठाएको प्रस्ताव स्वीकृत भएको बताउँनुभयो ।

यसैगरी समितिले पुरातत्व विभागमा पेश गरेका अन्य चार वटा योजनाहरु तत्कालका लागि अध्ययनको क्रममा रहेको ईन्जिनीयर थकालीले बताउँनुभयो । समितिले मुक्तिनाथमा अवस्थित शिव मन्दिर जिर्णोद्वार, आनी आवास गृह, मन्दिर कम्पाण्ड वाल निर्माण र भीआईपी कक्ष र हाईअल्टिच्युड सिग्नेस सेन्टर लगायतका योजनाहरु पुरातत्व विभागबाट स्वीकृतीका लागि पठाएकोमा हाल उक्त योजनाहरु पेन्डिङमा रहेको उहाँको भनाई छ ।

समितिले शिव मन्दिर जीर्णोद्वारका लागि प्राविधिक स्टमेट गर्न बाँकी रहेको जनाएको छ । यस्तै, आनी आवास गृह निर्माणमा ३७ लाख मन्दिर कम्पाण्ड वाल निर्माणमा २ करोड ४२ लाख र भीआईपी हल तथा हाईअल्टिच्युड सिग्नेस सेन्टरका लागि ९० लागत अनुमान गरी विभागमा पेश गरिएको थियो ।

 मुक्तिनाथ विकास समिति लामो समयसम्म निष्कृय रहँदा मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी रकम र आर्थिक सहयोग रकम खर्च हुन सकेको थिएन । समिति आ.व. २०८०÷०८१ मा पुर्नरगठन भएसंगै मुक्तिनाथ विकास समितिमा रहेको कोषको रकम खर्च गर्ने बाटो खुलेको हो ।

 मुक्तिनाथ विकास समितिको कोषमा झन्डै १० करोड बढी रकम मौज्याद रहेको छ । भक्तजनले दान गरेको भेटी रकम खर्च हुन नसक्दा स्थानीय स्तरमा समितिको चर्को आलोचना हुने गरेको थियो । यसैगरी मुक्तिनाथ मन्दिरमा दिनहु सयौं भक्तजनहरुले दर्शन गर्ने भएपनि मन्दिर क्षेत्रमा भक्तजन मैत्री पूर्वाधार नहुँदा मुक्तिनाथमा दर्शन गर्ने दर्शनार्थी भक्तजनहरुलाई निकै समस्या र चुनौति हुने गरेको थियो ।

 पुरातत्वमा पेश गरिएका भक्तजन मैत्री पूर्वाधार योजनाहरु स्वीकृत भईसकेकाले समितिको कोषमा रहेको रकम त्यहाँको विकासमा खर्च गर्ने बाटो खुलेको हो ।


प्रतिक्रिया