कोरला जोड्ने (जोमसोम—कागबेनी) कालोपत्र सडक स्तरोन्नति सुरु

कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरला सडकको जोमसोम—कागबेनी सडकखण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम—कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो ।

राष्ट्रिय गौरवको कोरला सडक आयोजना अन्तर्गत  २०७६ साल अघिनै निर्माण सम्पन्न भईसकेको (जोमसोम—कोरला) सडकको पहिलो खण्डको (जोमसोम—कागबेनी) कालोपत्र सडक वर्षा र पहिरो लगायतका कारणले सडक संरचनामा आशिंक क्षति भएको छ । उक्त सडकको केही स्थानमा गतवर्षको साउन महिनामा सडक भाँसिएको र कतिपय स्थानमा सडक संरक्षणका लागि ड्रेन र सडक वाल लगायतका पूर्वाधार तयार नहुँदा केही स्थानमा सडक संरचनामा क्षति पुगेको थियो ।

 कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरलानाका र मुक्तिनाथ जोड्ने जोमसोम—कागबेनी सडक स्तरोन्नतिका लागि करिव सात करोड लागतमा ठेक्का भई सडक स्तरोन्नतिकार्य सुरु भएको जानकारी दिनुभयो । कोरला जोड्ने सडकलाई दीर्घकालिन बनाउन जोमसोम—कागबेनी कालोपत्र सडकको संरक्षण तथा स्तरोन्नति स्तरोन्नतिका लागि ठेक्का सम्झौता भई काम अघि बढिसकेको आयोजना प्रमुख शर्माले बताउँनुभयो ।

जोमसोम—कागबेनी सडक स्तरोन्नतिका लागि  (कालिमाता—थापाकाजी— रसुवा) जेभी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको हो । चालु वर्षको बैशाख महिनामा ठेक्का सम्झौता भएको जोमसोम—कागबेनी सडक स्तरोन्नतिकार्य जेठको पहिलो हप्तादेखि सुरु गरिएको निर्माण कम्पनीका साईड ईञ्चार्ज सिताराम थापाले जानकारी दिनुभयो । चार महिनाको सम्झौता अवधि रहेको जोमसोम—कागबेनी सडक स्तरोन्नति कार्य भदौ १५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने साईड ईञ्चार्ज थापाले उल्लेख गर्नुभयो । सडक स्तरोन्नतिकार्यका लागि कागबेनीदेखि सडक स्तरोन्नतिकार्य सुरु गरिएको उहाँको भनाई छ ।

 राष्ट्रिय गौरवको कोरलानाका जोड्ने सडक अन्तर्गत (जोमसोम—कागबेनी) नौ किलोमिटर दुरीको सडकमा एक हजार ८०० घनमिटर ग्याविन वाल ,तीन हजार ५०० घनमिटर मेशिनरी वाल,२०० घनमिटर प्लम्प कंक्रिट र ९०० घनमिटर आरसीसी ढलान लगायतको कार्य गरिने आयोजनाले जनाएको छ ।

 जोमसोम—कागबेनी सडक अन्तर्गत जोमसोमदेखि माथि एक किलोमिटर दुरीमा वर्षाका कारण सडक भाँसिएर क्षति भएकाले उक्त स्थानमा सडक संरक्षणका लागि ग्याविन वाल लगाउने कार्य गरिने छ । जोमसोम—कागबेनी खण्डको पान्डाखोला पुलको उत्तरतर्फ पुलसंगै आरसीसी ढलानकार्य गरिने भएको छ ।

यस्तै, सडकको ड्रेन र प्रोट्रेक्सन वाल नभएका स्थानमा  ड्रेन निर्माण र मेशिनरी वाल लगाईने छ  ।


प्रतिक्रिया