यहाँको उपल्लो मुस्ताङ स्थित लोमान्थाङ—१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म छ अर्ब ६६ करोड २६ लाख राजश्व संकलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रुपमा संञ्चालनमा आएको ( नेपाल—चीन ) उत्तरी कोरलानाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारी वापत उक्त परिमाणमा भन्सार राजश्व संकलन भएको हो ।
नेपाल—चीन उत्तरी कोरलानाका हुँदै चीनबाट १३ अर्ब ८७ करोड ७८ लाख मुल्य बराबरको मालवस्तु पैठारी भएको भन्सार प्रमुख बिदुर चुडालले जानकारी दिनुभयो । बिद्युतीय सवारी(ईभी) गाडीसहित चाडपर्व लक्षित लत्ताकपडा,कस्मेटिक सामान,ईलेक्ट्रोनिक सामान लगायतका सामानहरु पैठारी भएको भन्सार प्रमुख चुडालले उल्लेख गर्नुभयो ।
यसैगरी नेपालबाट कोरलानाका हुँदै चीनतर्फ २० करोड ५५ लाख ७४ हजार मुल्य बराबरको मालवस्तु निर्यात भएको छ । नेपालबाट हस्तकलाका सामान र नेपाली उत्पादन लगायतका सामाग्री चिनतर्फ निकासी भएको हो ।
यसैगरी गरी नेपाल—चीन उत्तरी कोरलानाकाबाट गत भदौदेखि १६ जेठसम्म दुई हजार ९९७ वटा बिद्युतीय सवारी साधन नेपाल भित्रिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । चीनबाट कोरलानाका हुँदै भन्सार जाँचपास भई ६ अर्ब ७६ करोड २ मुल्य बराबरको बिद्युतीय सवारी (ईभी) गाडी नेपाल भित्रिएको हो ।
पछिल्लो समय गत जेठको दोस्रो साता चीनबाट कोरलानाका हुँदै नेपाल भित्रिएका बिद्युतीय सवारी साधनको पैठारी प्रक्रिया विवादमा परेको छ । कोरलानाबाट नेपाल भित्रिएका ६४९ वटा बिद्युतीय सवारीसाधनको भन्सार जाँचपास भईसकेको जनाईपनि सरकारले यसलाई अनुसन्धानको घेरामा तानेको हो । सरकारले कोरलानाकाबाट भित्रिएका बिद्युतीय सवारी साधनको पैठारी प्रक्रियामा कैफियत रहे नरहेको एकिन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको छ । उक्त समितिले कास्कीको हेमजा,पर्वतको कुश्मा ,मुस्ताङको जोमसोम र कोरलानाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बिद्युतीय सवारीसाधनको अनुगमन गर्ने कार्यसम्पन्न गरिसकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली