पोखरा—जोमसोम हवाई उडान तीन महिनाका लागि स्थगित

हिउँदयामको प्रतिकूल मौसममा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या दिनप्रतिदिन घट्दै जान थालेपछि निजी वायु सेवा कम्पनीले (पोखरा—जोमसोम) हवाई उडान सेवा तीन महिनाका लागि स्थगित गरेका छन् ।

यहाँको (पोखरा—जोमसोम)हवाई मार्गमा नियमित रुपमा उडान भर्दैआईरहेका निजी वायु सेवा कम्पनी समिट एयरलाईन्स र तारा एयरलाईन्स कम्पनीले प्रतिकुल मौसम,हिमपातको संम्भावना र पर्यटक अफसिजन भएका कारण पोखरा—जोमसोम हवाई उडान स्थगित गरेका जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो । प्रमुख पोखरेलका अनुसार निजी वायु सेवा कम्पनीको नियमित हवाई उडान सेवा स्थगित भएपनि चार्टर हेलिउडान र आपत्कालिन हेली उडान सेवा भने नरोकिने बताउँनुभयो ।

बर्सेनि यहाँको पोखरा—जोमसोम हवाई उडान सेवा दुईदेखि तीन महिनाका लागि बन्द हुन्छ । यसपालि पनि पर्यटक अफसिजन सुरु भईसकेको र यहाँको मौसम पनि प्रतिकूल हुने भएका निजी वायु सेवा कम्पनीहरुले उडान स्थगित गरेका हुन् ।

तारा एयरलाईन्सका मुस्ताङ स्टेशन ईञ्चार्ज सुचन लालचनका अनुसार तारा एयरलाईन्स कम्पनीले डिसेम्बर ४ तारिख देखि मार्च एक तारिख सम्म तीन महिनाका लागि पोखरा—जोमसोम हवाई उडान स्थगित गरिसकेको जानकारी दिनुभयो । स्टेशन ईञ्चार्ज लालचनले पोखरा—जोमसोम हवाई रुटमा पर्यटक यात्रु घटेका लागि उडान स्थगित गर्नु परेको बताउँनुभयो ।स्थगित गरिएको उडान पर्यटकीय याम सुरु हुनुसाथ नियमित रुपमा संञ्चालनमा ल्याईने उहाँको भनाई छ ।

 यसैगरी यहाँ उडान भर्ने समिट एयरलाईन्स कम्पनी पनि आफ्नो नियमित हवाई उडान दुई महिनाका लागि स्थगित गरिसकेको जनाएको छ । समिट एयरलाईन्सका मुस्ताङ स्टेशन ईञ्चार्ज सुमन थकालीले हिउँयामसंगै चिसोका कारण मुस्ताङ भ्रमण गर्ने पर्यटक न्यून हुँदै गएका समिट एयरलाईन्सले आफ्नो नियमित हवाई उडान स्थगित गरेको बताउँनुभयो । स्टेशन ईञ्चार्ज थकालीका अनुसार समिट एयरलाईन्सले पोखरा—जोमसोम हवाई उडान डिसेब्बर एक तारिख देखि फ्रेब्रुअरी एक तारिखमा संञ्चालमा ल्याईने जनाईएको छ । यहाँको पोखरा—जोमसोम हवाई मार्गमा समिट एयरलाईन्सले दुई महिना र तारा एयरलाईन्सले तीन महिनाका लागि उडान स्थगित गर्ने निर्णय गरेका हुन् । 

यसवर्ष जेनजी युवाहरुको आन्दोलनको प्रभाव र प्रतिकुल मौसमका कारण गत भदौ र असोज महिनामा पोखरा—जोमसोम हवाई उडान सेवा प्रभावित बनेको थियो । हिउँदयामको मौसममा मुस्ताङमा उत्तरी बेजोडको हावाहुरी चल्ने भएकाले पनि पोखरा—जोमसोम हवाई उडान सेवा प्रभावित बन्ने गर्छ ।

पछिल्लो समय राष्ट्रिय गौरवको (ब्ेनी—जोमसोम—कोरला) सडक सहज हुँदै जान थालेपछि पोखरा—जोमसोम हवाई यात्रुको संख्या घट्दै जान थालेको छ ।


प्रतिक्रिया