यहाँ स्थित उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ मराङ गाउँमा १८ घरधुरीले ग्रामिण सामुदायिक होमस्टे संञ्चालनमा ल्याएका छन् । अन्नपूर्ण संरक्षेत्र आयोजना,ईलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङको समन्वयमा मराङमा लो—मराङ सामुदायिक होमस्टे सेवा बिहिबारदेखि संञ्चालनमा आएको हो ।
उपल्लो मुस्ताङको मराङ गाउँमा ४८ घरधुरीको बसोबास रहेको छ । जसमध्ये १८ घरधुरीले पाहुना राख्न मिल्ने होमस्टे सञ्चालन गरेका हुन् । राष्ट्रिय गोरवको जोमसोम—कोरला मुख्य राजमार्ग सडकदेखि पञ्चिमतर्फ करिव ५ किलोमिटर दुरीमा अवस्थित मराङ गाउँ पर्यटनका हिसाबले निकैनै ओझेलमा पर्दैआईरहेको गाउँ हो । उपल्लो मुस्ताङको मुख्य राजमार्ग सडक अन्तर्गत लोमान्थाङ र चराङ लगायतका गाउँहरुमा पर्यटकको ब्यापक चहलपहल हुँदा यहाँको मराङ गाउँमा पर्यटन प्रवद्र्धन हुन सकिरहेको छैन ।
कृषि र पशुपालन पेशामा मात्रै आश्रित मराङ गाउँका स्थानीय घरधुरीलाई होमस्टे मार्फत पर्यटनसंग जोड्ने गरी एक्यापले प्राविधिक सहयोग गरिरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । स्थानीयको आर्थिक विकास र जिविकोपार्जमा सुधार होस भन्ने उद्देश्यले मराङ गाउँका एक तिहाई घरधुरीलाई होमस्टेमा आवद्ध गरिएको एक्याप प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।
धार्मिक तथा सांस्कृति दृष्टिकोणले निकै महत्वपूर्ण रहेको उपल्लो मुस्ताङमा विश्वकै पहिलो र पुरानो दावी गरिएको लोघेकर गुम्बा (घर गुम्बा) अवस्थित छ । गुरु पद्यसम्भव अर्थात गुरु रिन्पोर्छेद्वारा निर्माण गरिएको लोघेकर गुम्बा आठौं शताब्दीताका निर्माण गरिएको बताईन्छ । गुरु पद्यसम्भवले राक्षसहरुको बध गरेका हुनाले मराङको सो स्थानमा धार्मिक गुम्बा निर्माण गरिएको बौद्ध धर्मग्रन्थमा उल्लेख छ । यसैका कारण यहाँको प्रचारप्रसार गर्न सकेमा पर्यटन प्रवद्र्धन हुने आशासहित मराङमा सामुदायिक लो —मराङ सामुदायिक होमस्टे संञ्चालन गरिएको हो ।
मराङ सामुदायिक होमस्टे सञ्चालन तथा व्यवस्थापनका लागि उपसमिति गठन गरिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका उपाध्यक्ष एवं स्थानीय छिरिङ ल्हामो गुरुङ अध्यक्ष र कुङ्गा गुरुङ सचिव रहेको होम स्टे संञ्चालन तथा व्यवस्थापन उपसमिति गठन भएको एक्याप लोमान्थाङले जनाएको छ ।
होमस्टेमा आवद्ध सबै घरधुरीले बेड विस्तारा, कोठा र शौचालय लगायतका पूर्वाधारहरुको व्यवस्थापन गरिसकेको लो—मराङ सामुदायिक होमस्टे उपसमिति अध्यक्ष छिरिङ ल्हामो गुरुङले जानकारी दिनुभयो । मराङमा सुरु गरिएको सामुदायिक होमस्टेमा ३३ कोठासहित ८८ वटा बेडको व्यवस्था गरिएको उपसमित अध्यक्ष गुरुङले बताउँनुभयो । होम स्टे आजैबाट सञ्चालनमा ल्याएका छौ, होमस्टे सबैले पाहुना राख्न मिल्ने व्यवस्थापन गरिसकेका छन, उपसमिति अध्यक्ष गुरुङले भन्नुभयो, मराङ होमस्टेले दुई बस अर्थात करिव ६०÷७० जना पाहुन राख्न सक्ने क्षमता तयार छ,हामी अब पर्यटन व्यवस्थापनका लागि सामुहिक रुपमा अघि बढ्ने छौं ।’
मराङ होमस्टेमा आएका पर्यटक पाहुनाहरुले स्थानीय अर्गानिक खानाका परिकारदेखि लो—मुस्ताङको स्थानीय संस्कृति अवलोकन गर्न पाउँने छन् । होमस्टेमा फापरकोे ढिंडो,याक र च्यांग्राको सकुटी लगायतका स्थानीय उत्पादनको स्वाद चाख्न पाईने व्यवस्था गरिएको छ । समुहगत रुपमा आएका पर्यटकले चाहेमा लो मुस्ताङको सांस्कृतिक कार्यक्रम तथा भेषभूषाहरु समेत देखाईन मिल्ने व्यवस्था गरिएको छ ।
एक्याप लोमान्थाङले मराङको सामुदायिक होमस्टे प्रवद्र्धनका लागि प्राविधिक सहयोगलाई जारी राख्ने बताएको छ । एक्याप प्रमुख उमेश पौडेलका अनुसार होमस्टेका लागि फोहोर व्यवस्थापनका लागि होमस्टेमा आवद्ध १८ वटै घरधुरीलाई दुई दुई थान फोहोर राख्ने डस्मिन वितरण गरेको जनाएको छ । यसै गरी होमस्टे घरधुरी नम्बर, होर्डिङ बोर्ड र होमस्टेलाई ब्रान्डिङ गर्ने कार्यमा एक्यापले सहयोग गरेको छ । मराङ गाउँलाई फोहोर मुक्त गाउँको रुपमा विकास गर्न सरसफाईलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
उपल्लो मुस्ताङको मराङ स्थित लो—मराङ सामुदायिक होमस्टे औपचारिक रुपमा संञ्चालनमा आएको हो । तर, यसको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको होमस्टे उपसमितिले जनाएको छ । गण्डकी प्रदेशको होमस्टे कार्यविधि २०७५ बमोजिम स्थानीय निकायमा होमस्टे दर्ता गरिने जनाईएको छ । यसैगरी एक्याप अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ को नियम २१ र २२ बमोजिम एक्याप कार्यालयमा दर्ता हुने अन्तिम तयारीमा रहेको होमस्टे उपसमिति अध्यक्ष छिरिङ ल्हामो गुरुङले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली