कोरलानाकाबाट एक सातामै भित्रियो नेपाल ६१४ विद्युतीय सवारी

नेपाल—चीन उत्तरी कोरलानाका हुँदै एकसाता अवधिमा चीनयाँ कम्पनी ६१४ वटा विद्युतीय सवारी साधन (ईभी) नेपाल भित्रिएका छन् । कोरलानाका स्थित लोमान्थाङ—१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका अनुसार कोरलानाका हुँदै नेपालतर्फ ७ जेठदेखि १५ गतेसम्म ६१४ वटा विद्युतीय सवारी (ईभी) नेपाल भित्रिएको जनाएको छ ।

 कोरला स्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालका अनुसार कोरलानाका हुँदै चीनबाट पैठारी गरिएका विद्युतीय सवारी साधन मध्ये ६१४ वटा विद्युतीय सवारी साधन (ईभी) को भन्सार जाँचपाँस भईसकेको जानकारी दिनुभयो । कोरलानाका हुँदै नेपाल भित्रिएर भन्सार जाँचपास भईसकेका विद्युतीय सवारी साधनहरु बीवाईडी कम्पनीको रहेको भन्सार प्रमुख चुडालले उल्लेख गर्नुभयो ।

 चीनियाँ कम्पनीमा बनेका विद्युतीय सवारी साधन बीवाईडीले कति संख्यामा नेपाल भित्र्याउँदै छ भन्ने एकिन जानकारी प्राप्त हुन नसकेको भन्सार प्रमुख चुडालले बताउँनुभयो ।‘ हिउँदयामपछिको पहिलो लटका विद्युतीय सवारी कोरलानाकाबाट भित्रिन थालेका छन्,अझै धेरै ठुलो संख्यामा कोरलानाकाबाट नेपाल भित्रिने जानकारी पाईएको छ ,भन्सार प्रमुख चुडालले भन्नुभयो,बीवाडीले कति वटा नेपाल भित्र्याउदैछ भन्ने पत्तो छैन, नेपाल भित्रिएका कतिपय थप बिद्युतीय सवारीको भन्सार जाँचपास हुने क्रममा छ ।’

 कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी(ईभी)को भन्सार जाँचपास भई गन्तब्यतर्फ प्रस्थान गरेका प्रमुख चुडालले उल्लेख गर्नुभयो । कोरलाबाट नेपाल भित्रिएका सवारी साधनहरु भन्सार जाँचपास गरी लोमान्थाङ हुँदै जोमसोम झर्ने क्रममा रहेका छन् । हिउँदयामपछि पहिलो लट अन्तर्गत एक साता अवधिमा भन्सार जाँचपास भएका बिद्युतीय सवारी साधन मध्ये करिव दुई सय भन्दा बढी बिद्युुतीय सवारी साधन मुस्ताङको जोमसोम आईपुगेका छन् । नाकाबाट भित्रिएका सवारी साधन मध्ये यहाँको घरपझोङ—४ जोमसोम स्थित सार्वजिक बस पार्कमा पार्किङ गरिएका विद्युतीय सवारी साधनहरु चार्जिङका लागि रोकिएका हुन् । नेपाल—चीन कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी साधनलाई चार्जिक स्टेशन कम हुँदा चार्जिङका लागि होल्डिङ गरी बस्नु पर्ने अवस्था रहेको छ । उपल्लो मुस्ताङको चराङमा एक र जोमसोममा दुई वटा बिद्युतीय सवारी चार्जिङ स्टेशन संञ्चालनमा रहेका छन् ।

यहाँको नेपाल—चीन उत्तरी कोरलानाका गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा संञ्चालनमा ल्याईएको हो । तातोपानी नाका र रसुवागढी नाकाको विकल्पमा प्रयोग गरिएको यहाँको कोरलानाकालाई सरकारले पूर्ण रुपमा सञ्चालनमा ल्याएसंगै  चीनतर्फ निकासी तथा पैठारी कारोबार वृद्धि भएको हो । यहाँ स्थित नेपाल —चीन कोरलानाकाबाट पुस मसान्तसम्म  दुई हजार ३२९ वटा विद्युतीय सवारी साधन(ईभी) नेपाल भित्रिएका थिए ।

 मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुुर चुडालका अनुसार ३१ भदौदेखि बैशाख महिनासम्म कोरलानाकाबाट निकासी तथा पैठारी गरी भन्सार राजश्व पाँच अर्ब ७८ करोड ६ लाख रुपैया संकलन भएको छ । कोरलानाकाबाट बिद्युतीय सवारी साधनसहित अन्य सामानहरुको चीनतर्फ निकासी तथा पैठारी हुँदा स्थानीय युवाहरुले वैकल्पिक रोजगारी प्राप्त गरेका छन् । चीनबाट भित्रिने विद्युतीय सवारी साधन तथा मालबाहक कन्टेनरहरु सीमावर्ती स्थानीय चालकहरुले चलाएर लाने र लैजाने गर्दा स्थानीय युवाहरुको रोजगारीको ढोका खुल्ला भएको हो ।

प्रतिक्रिया