बिहिबारदेखी मुक्तिक्षेत्रमा पाचौं राष्ट्रिय स्की प्रतियोगिता हुँदै

जोमसोम ।

हिमाली जिल्ला मुस्ताङमा पाँचौं राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ । नेपाल स्की संघको आयोजना तथा मुस्ताङ स्की संघको समन्वयमा यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ मुक्तिक्षेत्रमा पाँचौं राष्ट्रिय स्की प्रतियोगिता हुन लागेको हो ।

हिउँमा खेलिने स्की प्रतियोगिता मार्फत नेपाललाई विश्व माँझ चिनाउन सकिने यसप्रकारको हिउँमा खेलिने साहसिक खेल प्रतियोगिताले हिमाली क्षेत्रको पर्यटन प्रर्वद्धन गर्नमा टेवा पु¥याउने उद्देश्यसहित मुस्ताङमा फेब्रुअरी २ देखि ७ सम्म पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नेपाल स्की संघका महासचिव विजय श्रेष्ठले जानकारी दिनुभयो । मुस्ताङमा यसप्रकारको प्रतियोगिता आयोजना गर्न स्की संघका पदाधिकारीसहित खेलाडी टोली मुस्ताङतर्फ प्रस्थान गरिसकेको महासचिव श्रेष्ठले उल्लेख गर्नुभयो ।

मुस्ताङमा आयोजना हुन पाँचौ राष्ट्रिय स्की प्रतियोगिताका लागि नेपाल स्की संघले अनलाईन आवेदन मार्फत स्की प्रतियोगिताका लागि खेलाडीहरु छनौट गरिसकेको छ । पाँचौ राष्ट्रिय स्की प्रतियोगितामा अल्पाईन स्की अन्तर्गत स्लालोम स्की र ज्यान स्लालोम स्की विधि समेटिने योजना रहेको नेपाल स्की संघले जनाएको छ ।

मुस्ताङमा बुधबारदेखि आयोजना हुने पाँचौ राष्ट्रिय स्की प्रतियोगिता संञ्चालनका लागि नेपाल ओलम्पिक कमिटी एवं नेपाल स्की संघका अध्यक्षसहित संघका पदाधिकारी तथा खेलाडी टोली गरी करिव ४० जना बढीको सहभागिता रहने जनाईएको छ । प्रतियोगिताका लागि ३० जना बढी खेलाडी छनौट भईसकेको नेपाल स्की संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो ।

 नेपाल स्की संघले यसअघि चार पटकसम्म स्की प्रतियोगिता आयोजना गरिसकेको छ । नेपाल स्की संघका अनुसार  रसुवाको क्यानजेन भ्यालीमा एक पटक र मुस्ताङमा तीन पटक राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न भईसकेको छ ।

नेपाल स्की संघले सन् २०१६ मा  रसुवाको क्यानजेन भ्यालीमा पहिलो राष्ट्रिय स्की प्रतियोगिता आयोजना गरेको थियो । त्यसपछि सन् सन् २०१९, २०२० र २०२२ मा लगातार तीन पटक दोस्रो, तेस्रो र चौथो राष्ट्रिय स्की प्रतियोगिता आयोजना गरेको थियो ।

 यहाँ बुधबारदेखि शुक्रबारसम्म तीन दिन स्की प्रतियोगिताका लागि तालिम प्रशिक्षण हुने र शनिबारका दिन पाँचौं राष्ट्रिय स्की प्रतियोगिता संञ्चालन गरिने प्रतियोगिता आयोजक नेपाल स्की संघले जानकारी दिएको छ ।

पछिल्लो दुई वर्ष मुस्ताङमा हिमपात नभएका कारण स्की प्रतियोगिता रोकिएको थियो । सन् २०२३ र सन् २०२४ मा मुस्ताङमा हिउँ नपर्दा नेपाल स्की संघले प्रतियोगिता आयोजना गर्न नसकेको मुस्ताङ स्की संघका अध्यक्ष सुरज गुरुङले बताउँनुभयो ।

 मुस्ताङमा पर्यटकीय अफसिजन रहेको बेला आयोजना हुने यसप्रकारको हिउँमा खेलिने स्की खेलकुद प्रतियोगिताले पर्यटन व्यवसायीहरुलाई बेमौसमको पर्यटन घाटालाई पूर्ति गर्ने र स्की प्रतियोगिताको माध्यमबाट हिउँमा खेलिने खेलकुदको विकास र राज्यका तीन तहका सरकारको ध्यानाकर्षण गराउने मुस्ताङ स्की संघका अध्यक्ष गुरुङको भनाई छ ।

 मुस्ताङमा गत मंगलबार भारी हिमपात भएका कारण स्की प्रतियोगिता आयोजना गर्न सम्भव भएको हो । हिउँ माथि चिप्लेटी खेल्दै कुद्ने खेललाई स्की प्रतियोगिता भनिने गरिएको छ ।


प्रतिक्रिया