जोमसोम—मुस्ताङको मार्फा भन्ने बित्तिकै आम मानिसले झट्ट सम्झन्छन मार्फा ,मार्फा यत्तिमै सीमित छैन,मार्फा भित्र लुकेका धेरै सास्कृतिक सम्पदा छन् ,जसले मुस्ताङको मार्फालाई पर्यटक हबको रुपमा अघि बढाउन महत्वपूर्ण योगदान दिईरहेको छ ।
मुस्ताङमा २०३० को दशकमा स्याउ खेती गर्ने प्रणालीको विकास भयो । जुन सुरुवात मार्फाबाटै भयो । सरकारले मुस्ताङका कृषकलाई शितोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा ताजा तरकारी खेती गर्ने तरिका सिकाउन त्यही मार्फामा वागबानी शितोष्ण कृषि मार्फ स्थापना भयो । त्यसको जगबाट मार्फाले सुरु गरेको स्याउ खेतीले मुस्ताङको ५ वटै तह ढाकियो । तर, मार्फा स्याउ खेतीमा मात्रै सीमित रहेन ,मार्फाले पर्यटन विकासको सम्भावनाको ढोका खोल्न विभिन्न माध्यमको सुरु ग¥यो । जसले मार्फा स्याउको राजधानीले मार्फा होईन, जोमसोमपछिको दोश्रो पर्यटकीय राजधानी बन्दै जान थालेको छ ।
मुस्ताङको मार्फाले कृषि र पर्यटनलाई एकसाथै अघि बढाईरहेको पाईन्छ । राष्ट्रिय गौरवको सडक (बेनी—जोमसोम—कोरला) सडक मार्ग विस्तारले मार्फा गाउँ आझेलमा पर्छकी भन्ने चिन्तामा रहेका त्यहाँका कृषि र पर्यटन व्यवसायीलाई सडक विकासले कुनै असर पारेन । मार्फा कृषि र पर्यटन दुबैमा अब्बल सावित भईरहेको छ । मुक्तिनाथ दर्शन र उपल्लो मुस्ताङ भ्रमण गरी फर्किएका आन्तरिक तथा बाह्य पर्यटकले मार्फा गाउँ भित्र रम्न छुटाउँदैन । मार्फामा धार्मिक तथा सांस्कृतिक सम्पदा अवस्थित रहेकै कारण मार्फा पर्यटकका लागि छुटाउनै नहुँने पर्यटक गन्तव्य बनेको हो ।
सडकमार्ग हुदा पैदल हिडेर यात्रा गर्ने पर्यटक मार्फाको साँघुरो गल्ली हुँदै गन्तव्य छिचोल्नु पथ्र्यो । २०६० को दशक अघि नेपाली सेनाले गाउँको स्याउ बगैचाभित्रबाट सडक खन्दा मार्फाली समुदायले व्यापक विरोध जनाए, अवरोध सृजना गरे । किनकी सडकले गाउँ आझेलमा पर्छ र आफुहरुको रोजीरोटी खाने पेशामा धक्का पुग्छ भन्नेमा भयभित थिए । तैपनी सेनाले मार्फाको अवरोध छिचोल्दै सडक खनेर छोड्यो । अहिले त्यही सडक ट्याकमा राष्ट्रिय गौरवको चिल्लो कालोपत्र सडक विस्तार भईसकेको छ ।
सडकले मार्फा गाउँनै विस्थापत हुन्छ भन्ने ठाँनेका मार्फाले उनीहरुले त्यसबेला कल्पना गरेको भन्दा भिन्न सावित भएको छ । किनकी सडक स्तरोन्नतिले उनीहरुको पर्यटन व्यवसायमा झनै अकल्पनीय रुपमा वृद्धि गरिदियो । मुस्ताङ घुम्ने अधिकाँश पर्यटकले मार्फा गाउँ नपसी सुखै पाउँदैनन् ।
मुस्ताङकोमार्फा गाउँको मुख्य चिनारी हो,त्यहाँका साँघुरो गल्ली र एकआपसमा जोडिएका ढुंगा र माटोले बनेका परम्परागत सास्कृतिक घरको भौतिक संरचना । जसले मुस्ताङ भित्रिएका पर्यटकलाई मार्फा तान्न केन्द्रित गरिएको छ । बेनी—जोमसोम सडकमार्ग नजिकै करिव २ सय मिटर पर मुस्ताङको ऐतिहाँसिक मार्फा बस्ती छ,जहाँ सय भन्दा बढी गुजमुच्च एकआपसमा जोडिएका घरहरु छन् । बेनीबाट उकालो उक्लिएर ६५ किलोमिटर यात्रा तय गरेपछि मुस्ताङको घरपझोङ—२ मार्फा आईपुग्छ । मार्फाको दक्षिण गल्लीको मुहानबाट उत्तरतर्फ करिव ५ सय मिटर लामो सांघुरो गल्ली छ । गल्ली भित्रको दायाँबाँया ठिङ्ग उभिएका ऐतिहाँसिक पुरानो घरहरु छन् । त्यहाँको मुख्य गल्लीबाट गाउँ भित्र पस्ने आधा दर्जन शाखा गल्ली पनि छन् । मार्फा गाउँ भित्रको गल्ली र आसपासमा भुमिमगत विद्युतीय लाईन विस्तार भईसकेको छ । २०७६ सालमा घरपझोङ गाउँपालिकाले मार्फाको गाउँ भित्र बिद्युतीय जोखिम न्यूनिकरण तथा मार्फा गाउँको सौन्दयतालाई जोगाउन बिद्युतीय तार भूमिगत गरेको थियो । गल्ली भित्रका सबै घरहरुमा दाँयाबाँया बुद्धिस धर्म सम्वन्धि लेखिएका लङ्ता झुन्ड्याईका छन् । पर्यटक आगमन बढेसंगै पछिल्लो समयमा मार्फा गाउँलाई बेहुली झै सिंगार्न थालिएको छ ।
मुस्ताङको मार्फामा स्वदेशी तथा विदेशी समेत गरी २ दर्जन बढी चलचित्र र म्युजिक भिडियो छायांकन भएर प्रर्दशन भईसकेका छन् । यीन चलचित्रहरुको छायांकनले पनि मुस्ताङको मार्फा गाउँको चर्चा चुलिएको हो । मार्फाको साँघुरो गल्लीमा पर्यटकीय गुल्जारले काठमान्डौंका झल्को दिने गरेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिह लालचन बताउँछन् । मुस्ताङ भित्रिएका शतप्रतिशत पर्यटकले मार्फाको पुरानो गाउँ चाहार्ने गरेको अध्यक्ष लालचनको भनाई छ ।‘ बेलुकी साँझ परेपछि मार्फा गल्ली भित्रमा पर्यटकहरु रमाईरहेका हुन्छन्, साँघुरो गल्लीमा फोटो खिच्ने र टिकटक बनाउनेको ताँती हुन्छ,अध्यक्ष लालचनले सुनाए, मार्फा गाउँ त ठमेल जस्तै भईसक्यो, विदेशी र नेपाली पर्यटक यहाँ आएपछि बेग्लै फरक अनुभुती लिएर फर्किन्छन् ।’
मार्फाको मुल गल्ली भित्र अरु दुई शाखा भित्री गल्लीहरु अहिले पर्यटकका लागि निकै चर्चित छ । मार्फामा जेरी गल्ली र कब्डी गल्ली नामका अलग÷अलग गल्ली छन् । यी गल्लीको नाममा चलचित्रको नामबाट नामाकरण गरिएको हो । गल्लीमा १० वर्षअघि मुस्ताङको मार्फा गल्ली भित्र अनमोल केसीको नेपाली चलचित्र जेरी र दयाह्यांङ्क राई अभिनित चलचित्र कबड्डी सुटिङ भएको थियो । चलचित्र हेरिसकेका दर्शकले मुस्ताङ घुम्न आउँदा मुस्ताङको मार्फा स्थित जेरी गल्ली र कबड्डी गल्लीलाई सम्झने गर्छन ।
मार्फा गल्ली भित्र एक दर्जन बढी पर्यटक लक्षित होटल छन् । मुख्य राजमार्ग सडक आसपास पनि नयाँ होटलहरु थपिदै छन् । मार्फामा तिब्बतीयन शरणार्थी नागरिकहरुले समथिंक र तिब्बतीयन र थकाली पोषाकहरु भाडामा प्रयोग गर्न पाउँने व्यवस्था गरेका छन् । त्यहाँको मौलिक पोषाक पहिरिएर फोटो खिच्ने र टिकटक बनाउने सेवाग्राहीको क्रेजले त्यहाँको बैकल्पिक आम्दानीमा थप टेपा पू¥याएको छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफुले प्राप्त गर्ने सरकारी तलब भत्तालाई सामाजिक कार्यमा लगानी गर्ने क्रममा मार्फा गल्ली भित्रको बस्ती सडक बत्ती जडान गरी झलमल्ल पारेका छन् । पर्यटकीय यामको साँझको समयमा मार्फा गाउँको सौन्दर्यताले त्यहाँ पुग्ने पर्यटक मोहित हुने गरेको अध्यक्ष लालचनको भनाई छ । त्यसो त अध्यक्ष लालचनले पालिकाको कतिपय गाउँहरुमा आफ्नै तलब भत्ता खचिएर सडक बत्तीको व्यवस्थापन गरिसकेका छन् । मुस्ताङको मार्फामा पर्यटकीय याममा पर्यटक आवागमनले थेगिनसक्ने हुने अध्यक्ष लालचनले उल्लेख गरे । सामान्य अवस्थामा पनि दैनिक सय भन्दा बढी पर्यटकले मार्फा गाउँको भ्रमण गर्ने गरेको उनले सुनाए ।
मार्फा गाउँको भित्री बजारमा पुराना ढुंगा र माटोले निर्मित परम्परागत घरहरु ,त्यस्ता घरहरुको छतमाथि लस्करै दाउँरा पाँजिएको सांस्कृतिक जिवन्त मौलिकता देख्न पाईन्छ । मार्फा गाउँमा ऐतिहाँसिक र पुरानो मार्फा सम्तेलिङ गुम्बा अवस्थित छ । मार्फामा जापाजिन जैन भिक्षु ईकाई कावागुची बसेको दुई तले घर छ । कावागुची भारत हुँदै त्यससमय नेपाल पसेका थिए । बौद्ध धर्म प्रचार र तिब्बती बौद्ध शुत्रको ज्ञान प्राप्त गर्ने सिलशिलामा कावागुची त्यससमय मुस्ताङ आएका थिए । उनी सन् १९०० ताका मुस्ताङ आएका थिए । यसैका कारणले पनि कावागुची बसेको घर विभिन्न खोज अनुसन्धान र अवलोकनका लागि चर्चित छ ।
यसैगरीमा मार्फामा कृषि खोज अनुसन्धान तथा अवलोकनका लागि शितोष्ण वागबानी विकास केन्द्र महत्वपूर्ण पर्यटक गन्तब्य बनेको छ । लटरम्म राताम्मे स्याउ बगैचा मार्फाको अर्को आर्कषण हो । मुस्ताङको घरपझोङ गाउँपालिकाले गतवर्ष मार्फामा एप्पल पार्क समेत निर्माण गरिसकेको छ । गाउँपालिकाकै पहलमा मार्फाको सुरुवाती र अन्तिम गल्लीमा मार्फा प्रवेशद्वार समेत निर्माण गरेको छ । मुख्य राजमार्ग सडकमा भने पछिल्लो समय सस्कृति मासिने गरी आरसीसी पक्की होटलहरु बनिरहेका छन् ।