मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न

हिमाली जिल्ला मुस्ताङमा एक हजार ४३१ व्यापारिक प्रतिष्ठानको आर्थिक गणना सम्पन्न भएको छ । गत बैशाख २ गतेदेखि असार ७ सम्म समयअवधि तोकिएको राष्ट्रिय आर्थिक गणनामा  आईतबारसम्म उक्त संख्यामा आर्थिक गणना सम्पन्न भएको जिल्ला आर्थिक गणना कार्यालय मुस्ताङले जनाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका जिल्लाहरुमा अर्थतन्त्र मापनका लागि आर्थिक गणना सुरु गरेको हो । राष्ट्रिय तथ्यांक कार्यालयले‘ देशका विभिन्न जिल्लामा सञ्चालन भएका दर्ता भएका र दर्ता नभएका स्थायी र अस्थायी प्रकृतिका सबै किसिमका उद्यम तथा व्यवसायिक प्रतिष्ठानहरुको आर्थिक तथा जनशक्ति लगायत विवरणहरु संकलन गरी समग्र देशको आर्थिक तथ्यांक संकलन गरी अर्थतन्त्र मापन गर्न खोजिएको हो ।

यसअघि राष्ट्रिय तथ्यांक कार्यालयले वि.स. २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरेको थियो । त्यसबेला हिमाली जिल्ला मुस्ताङमा ७७५ वटा व्यापारिक प्रतिष्ठानहरु राष्ट्रिय तथ्यांक विभागको आर्थिक गणनामा समेटिएका थिए । प्रत्येक पाँच पाँच वर्षमा हुने आर्थिक गणना पछिल्लो दुईवर्ष ढिलो गरी सञ्चालनमा ल्याएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालय अन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय मुस्ताङले यहाँका पाँच स्थानीय तहमा विस. २०७५ को आर्थिक गणनाको तुलनामा १८४ दशमलव ६४ प्रतिशत प्रतिष्ठानको आर्थिक गणना सम्पन्न भएको जनाएको छ । आर्थिक गणना कार्यक्रम २०८२ अन्तर्गत हिमाली जिल्ला मुस्ताङमा एक हजार ३ वटा प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य रहेकोमा उक्त लक्ष्य भन्दा ४२ दशमलव ६८ प्रतिशत बढी प्रतिष्ठानको आर्थिक विवरण संकलन गरिएको जिल्ला आर्थिक गणना अधिकारी सुदिप पौडेलले जानकारी दिनुभयो । मुस्ताङमा आर्थिक गणना कार्यक्रम अन्तिम चरणमा पुगेको र हालसम्म ९० प्रतिशत भन्दा बढी प्रतिष्ठानको विवरण संकलन भईसकेको आर्थिक गणना अधिकारी पौडेलको भनाई छ ।

जिल्ला आर्थिक गणना कार्यालयका अनुसार मुस्ताङको लोेघेरक दामोदरकुण्डमा ११६, घरपझोङमा ४७७,वारागुङमा ३१५,लोमान्थाङमा २७७ र थासाङ गाउँपालिकामा २४६ वटा ब्यापारिक प्रतिष्ठानहरुको आर्थिक गणना गरिएको आर्थिक गणना अधिकारी पौडेलले उल्लेख गर्नुभयो ।

 मुस्ताङमा आर्थिक गणनाका लागि  एक हजार ४१८ वटा प्रतिष्ठानहरुको गणकहरुले घरदैलोमै पुगेर कागजी प्रश्नावली अनुसार विवरण संकलन गरेका छन् । बाँकी १३ वटा प्रतिष्ठानहरुले आफै डिजिटल आर्थिक गणनाको सफ्टवेयरमा प्रविष्ट गराएको गणना अधिकारी पौडेलले बताउँनुभयो । मुस्ताङमा २०७५ सालको आर्थिक गणनामा समेटिएका ६३ वटा प्रतिष्ठानहरु बन्द भएको छ ।

 आर्थिक गणना अन्तर्गत मुस्ताङका पाँचै पालिकामा रहेका प्रतिष्ठानहरुको संख्या लक्ष्य भन्दा बढी रहेको हो । प्राप्त विवरण अनुसार  १०० प्रतिशत लक्ष्य हासिल गर्नुपर्ने लोघेकरमा  एक सय .४ दशलव ५० प्रतिशत,घरपझोङमाएक सय १२ दशलव ७७ प्रतिशत,वारागुङ मुक्तिक्षेत्रमा एक सय ५५ दशमलव ५४ प्रतिशत ,लोमान्थाङमा दुई सय ५६ दशलमव ४८ प्रतिशत र थासाङ गाउँपालिकामा एक सय ५४ दशमलव ७२ प्रतिशत गणना भएको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ ।

 मुस्ताङमा संकलन गरिएको आर्थिक गणना कार्यक्रममा ८० प्रतिशत बढी पर्यटन लक्षित होटल व्यवसाय रहेको पाईएको छ । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक सहज भएसंगै मुस्ताङमा पर्यकीय क्षेत्र चलायमान भएकाले होटलहरुको संख्या अपेक्षाकृत वृद्धि भएको राष्ट्रिय आर्थिक गणना तथ्यांकले देखाएको छ । यसैगरी अन्य प्रतिष्ठानहरु पनि पर्यटनसंगै लक्षित रहेको पाईएको छ ।

मुस्ताङमा राष्ट्रिय आर्थिक गणनाका लागि एक जिल्ला आर्थिक गणना अधिकारी, एक जना सहायक आर्थिक गणना अधिकारी,एक जना लेखापाल,एक जना सुपरिवेक्षेक, पाँच जना गणक  र एक जना कार्यालय सहयोगी गरी कुल १० जना कर्मचारी खटिएका छन् ।


प्रतिक्रिया