मुस्ताङमा पर्यटक बढेसंगै फोहोरमैला व्यवस्थापनमा चुनौति

धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय फोहोरमैला व्यवस्थापन चुनौति बनिरहेको छ । बेनी—जोमसोम सडकमार्ग हुँदै पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकले लापारवाही र हेलचत्र्mयाईका कारण यहाँको फोहोरमैला व्यवस्थापन समस्या चुनौति बनेको पाईएको हो ।

विगतका वर्षहरु भन्दा चालु वर्ष भारतीय पर्यटकहरु मुक्तिनाथ दर्शन गर्न ओईरिएका छन् ।  भारतमा उखरामाउलो गर्मी बढेसंगै भारतीय पर्यटकहरु गर्मी छल्न मुक्तिनाथ दर्शन गर्न ओईरिएका हुन् । एक्याप कार्यालय जोमसोमका अनुसार जेठ महिनामा मुक्तिनाथ दर्शन गर्न भारतीय पर्यटकको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको हो । मुक्तिनाथमन्दिर दर्शन गर्ने मध्येमा ८० प्रतिशत बढी भारतीय पर्यटकनै रहेको जनाईएको छ ।  अनुकुल यामसंगै दैनिक १० हजार बढी भारतीय पर्यटकले मुस्ताङको मुक्तिनाथमा दर्शन गर्ने गरेका छन् ।

 मुक्तिनाथ दर्शनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटक सवार सवारी साधनले रानीपौवा बसपार्कका सबै पार्किङ स्थल भरिएका हुन्छ ।  मुक्तिनाथ मन्दिर दर्शन तथा राजमार्ग सडक र आसपासका होटलहरुमा पर्यटकको निकै चहलपहल बढेको छ । मुस्ताङमा थेगिनसक्नु पर्यटकको उपस्थिती बढेसंगै यहाँका पर्यटन व्यवसायीहरुमा उत्साहित भएको पाईएपनि तीनै मुस्ताङ भित्रिएका पर्यटकहरुबाट हुने जथाभाँवी फोहोरमैलाले यहाँका सौन्दर्यता र वातावरणीय सन्तुलन गुम्ने होकी चिन्ता थपिएको छ ।

 मुस्ताङमा आन्तरिक पर्यटकहरुबाट भन्दा भारतीय पर्यटकहरुबाट बढी फोहोर हुने गरेको गुनासाहरु बढ्दै जान थालेका छन् । मुक्तिनाथ मन्दिरमा स्नान गर्दा जथाभावी कपडा मिल्काउने, झक्तजनले ढुंगा उकासेर बनाएका धार्मिक आस्थाका घरहरु माथि जथाभावी कपडा सुकाउने गरिंदा धार्मिक क्षेत्र र यसका आस्था र विश्वास माथि अनादर भईरहेको गुनासो बढेको छ । यसैगरी मुक्तिनाथ बसपार्क क्षेत्रमा पर्यटकका कारण छिनछिनमा थुप्रिने फोहोरले बसपार्क क्षेत्रको वातावरणीय सौन्दर्यता माथि प्रश्न उठ्न थालेको छ । केही वर्ष अघि मुक्तिनाथ मन्दिर क्षेत्रका वृक्षहरुमा भक्तजनले फालेका कपडाहरुले मुक्तिनाथ क्षेत्रको गरिमा माथि निकै ठुलो प्रश्न उठेको थियो ।

 मुक्तिनाथ मन्दिर र त्यहाँको बसपार्क क्षेत्रमा देखिने फोहोरले स्वंयम पर्यटक आफै लज्जित हुने गर्छन । प्रसिद्ध धार्मिक स्थलको दर्शन गर्न आएका एकाध पर्यटकहरुबाटै  महोत्काक्षी व्यवहार प्रस्तुत हुँदा यहाँ आएका सिंगो पर्यटकहरु माथिनै प्रश्न उठ्ने गरेको हो । यसैगरी भारतीय पर्यटकहरुले खानेकुरा पकाएर खाने बन्दोवस्तीका सामान लिएर मुक्तिनाथ आउने गरेका कारण फोहोर व्यवस्थापन झन जटिल बनेको हो । सडकमार्ग र खोलानदीमा पकाएर खाने, शौचालय प्रयोग नगरी खुला स्थानमा दिशापिसाव गरिदिने र पकाएर खाईसकेपछि जथाँभावी फोहोर मिल्काएर हिड्ने गरिदिंदा धार्मिक तथा पर्यटकीय जिल्लामा फोहोरमैला व्यवस्थापनमा चुनौति थपिएको हो ।

प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ दर्शन गर्न आएका पर्यटकहरुबाट मनलाग्दी ढंगले फोहोरमैला गरिदिएका भिडियो र फोटोहरु सामाजिक सञ्जालमा देखिन थालेपछि यो विषय झनै जटिल बनेको हो । मुस्ताङ आउने सबैखाले पर्यटकको सचेतनाका लागि ट्राभल एजेन्सी,होटल व्यवसायी र यातायात व्यवसायीहरुले आवश्यक सहजीकरण गर्नुपर्ने घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले उल्लेख गर्नुभयो । सोमबार फेसबुकमा एक भिडियो साझा गर्दै अध्यक्ष लालचनले मुस्ताङ आउने पर्यटकहरुलाई जथाभावी फोहोर गर्न नपाईने सन्देश सरोकारवालाहरुले प्रवाहगर्नुपर्नेमा जोड दिनुभयो ।

 मुस्ताङको समग्र आर्थिक विकासको मेरुदण्ड पर्यटन व्यवसायनै भएको उल्लेख गर्दैै पर्यटकहरुबाट हुने गल्तीलाई ठुलो ईस्यु नबाईनक यसलाई सुधारको बाटोतर्फ अग्रसर हुनुपर्ने उल्लेख गर्नुभयो । धार्मिक आस्थाको पावन तपोभूमि मुक्तिनाथमा आउँदा जथाभावी फोहोर गर्नु हुँदैन र फोहोरमैला व्यवस्थापनका नियमहरु पालना गर्नुपर्छ भन्ने सन्देश सबै निकायबाट प्रवाह गर्नपर्ने आवश्यक रहेको अध्यक्ष लालचनको भनाई छ । पर्यटकहरु भगवान भएकाले उनीहरुलाई डोमिनेट भन्दा पनि सचेतनाको मूल पाटोमा जोडिनु पर्ने उहाँको भनाई छ ।

 मुक्तिनाथ बसपार्क क्षेत्रमा दुई जना कर्मचारीहरु फोहोर मैला संकलन गर्न राखिएको भएपनि पर्यटकहरुबाटै जथाभावी फोहोर मिल्काउने गर्दा फोहोर व्यवस्थापन चुनौति भएको मुक्तिनाथका पर्यटन व्यवसाय सुरज गुरुङले उल्लेख गर्नुभयो । मुक्तिनाथ दर्शन गर्न आउने पर्यटकहरुका लागि म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसामा पर्यटकलाई सचेत गराईनु पर्ने उहाँले जनाउँनुभयो ।

 धार्मिक तथा पर्यटकीय जिल्लाको मुस्ताङको पर्यावरणलाई स्वच्छता कायम गर्न सरोकारवालाहरुले सचेतनामूलक गतिविधिलाई अघि बढाईनुपर्ने हुन्छ । एक्याप,मुक्तिनाथ विकास समिति,स्थानीय तह,स्वास्थ्य क्षेत्र लगायत सुरक्षा निकायहरुनै जवाफदेही हुने गरी पर्यटकहरुबाट हुने फोहोर व्यवस्थापनकार्यलाई एजेण्डाको रुपमा अघि बढाईनु पर्ने हुन्छ । यसैगरी पर्यटकहरुलाई धार्मिक क्षेत्रको भ्रमणमा उकालो उक्लिदा पर्यटकहरुले पालना गर्नुपर्ने सामान्य नियम र अनुशासन सम्वन्धि ज्ञान दिलाउन पर्यटन,यातायात र ट्राभल्स एजेन्सीहरुले मुख्य भूमिका खेल्नुपर्ने बताईएको छ ।


प्रतिक्रिया