मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिईएका बीवाईडी कम्पनीको चाईनिज विद्युतीय सवारी (ईभी) गाडी फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिईएका विद्युतीय सवारी साधन(ईभी) गाडी आईतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म जोमसोमले जनाएको छ ।
मुस्ताङको उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका ७७५ वटा विद्युतीय सवारी (ईभी) गाडीहरु नेपाल भित्रिएका थिए । भित्रिएका सवारी साधन मध्ये ६४९ वटा विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको जनाएको थियो । कोरला नाकाबाट यसरी भित्रिएका चाईनिज बीवाईडी कम्पनीका विद्युतीय सवारी साधनको पैठारी प्रक्रियामा कैफियत हुनसक्ने आशंकामा सशस्त्र प्रहरी बल नेपालले उक्त सवारी साधनहरु नियन्त्रणमा लिईएको थियो ।
कोरलानाकाबाट पैठारी गरिएका सबै विद्युतीय सवारी साधन(ईभी) गाडी साईमन ईंकले खरिद गरी कोरलानाकाबाट नेपाल भित्र्याएको थियो । यसरी नेपाल—चीन उत्तरी कोरलानाकाबाट नेपाल भित्रिएका सवारी साधनको कैफियत रहेनरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा संञ्चालन महाशाखा अन्तर्गतको मूल्यांकन शाखा प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको थियो ।
सरकारद्वारा गठित छानबिन समितिको टोली २१ जेठमा कास्की,पर्वत र मुस्ताङको जोमसोम र कोरलानाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिईएका विद्युतीय सवारी साधनको स्थलगत अनुमगन गरी अनुसन्धान सुरु गरेको थियो । उक्त छानबिन समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारी साधनमा कुनै कैफियत फेला नपरेको प्रारम्भिक निश्कर्ष निकालेको जनाईएको छ ।
यसअघि सशस्त्र प्रहरी बल नेपालले गत दुई सातादेखि कास्कीको हेमजामा ९८ वटा र पर्वतको कुश्मा १७ वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको थियो । यसैगरी मुस्ताङको कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ वटा र कोरलानाकामा ३९४ वटा विद्युतीय सवारी (ईभी) गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा लिएका विद्युतीय सवारीसाधन (ईभी) गाडी आईतबार साँझ सम्वन्धित पक्षको जिम्मा लगाईएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपालको केन्द्रिय निर्देशन अनुसार नियन्त्रणमा लिईएका सबै विद्युती सवारी साधन आईतबार साँझदेखि फुकुवा गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक गिरीले उल्लेख गर्नुभयो ।
कैफियतको आशंकामा कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारी साधन दुई सातासम्म सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको थियो । कैफियत फेला नपरेपछि जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिईएका विद्युतीय सवारी (ईभी) गाडीहरु फुकुवा भएसंगै गन्तब्यतर्फ प्रस्थान गरेका सशस्त्र प्रहरी नायव उपरीक्षक भेषराज गिरीले बताउँनुभयो ।
उहाँको अनुसार जोमसोम बसपार्कमा राखिएका २६६ वटा विद्युतीय सवारी साधन मध्ये आईतबार र सोमबार गरी २२३ वटा विद्युतीय सवारी साधन गन्तब्यतर्फ प्रस्थान गरेको जनाईएको छ । जोमसोम बसपार्कमा अहिले २६६ वटा विद्युतीय सवारी साधन मध्ये ४३ वटा मात्रै बाँकी रहेको सशस्त्र प्रहरीले उल्लेख गरेको छ ।
यसैगरी कोरलानाकामा राखिएका विद्युतीय सवारी मध्ये भन्सार जाँचपास भएका सवारी साधन पनि क्रमशः गन्तब्यतर्फ लैजाने र भन्सार जाँचपाँस नभएका विद्युतीय सवारी साधनको पनि आवश्यक भन्सार प्रक्रिया पुरा गरी गन्तब्यतर्फ लैजान कुनै समस्या नभएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली