भारतीय राजदुत श्रीवास्तवले गरे छात्रावास भवन उद्घाटन

 उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—१ स्थित लोवो निफुग नाम्ड्रोल नोर्बुलिङ गुम्बा विद्यालयको नवनिर्मित छात्रावास भवनको सोमबार भारतीय राजदुत नविन श्रीवास्तव  र लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । नेपाल—भारत विकास सहयोग अन्तर्गत भारत सरकार र लोमान्थाङ गाउँपालिकाको संयुक्त लागत साझेदारीमा निर्मित छात्रावास भवनको आज एक समारोहकाबीच उद्घाटन गरिएको हो ।

सडकमार्ग हुँदै उपल्लो मुस्ताङ पुग्नु भएका महामहिम भारतीय राजदुत श्रीवास्तवले  नेपाल र भारतबीचका पारस्परिक सम्वन्ध पुरानो भएको र भारत सरकार सधै नेपालको बृहत्तर विकासमा सहयोगी बनेको बताउँनुभयो । भारत सरकारले मुस्ताङमा शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण लगायतका कार्यहरुमा लागत साझेदारी गर्दैआईरहेको बताउँनुभयो । राजदुत श्रीवास्तवले भारतीय अनुदान सहयोगमा निर्मित छात्रावास समयमै सम्पन्न गरिएकोप्रति खुसी प्रकट गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।


 गाउँपालिका अध्यक्ष टसीनर्बुले भारत सरकारबाट मुस्ताङका लागि प्राप्त सहयोग महत्वपूर्ण भएको र आगामी दिनहरुमा पनि भारत सरकारको सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 लोमान्थाङ—१ स्थित नवनिर्मित गुम्बा विद्यालयको छात्रवास भवन कुल लागत चार करोड ७२ लाख ७० हजार रुपैयामा सम्पन्न भएको हो । भारत सरकारको  तीन करोड ३१ लाख ४३ हजार र लोमान्थाङ गाउँपालिकाको एक करोड ४१ लाख २६ हजार रुपैया रहने गरी गुम्बा विद्यालयको दुई तलाको ४१ कोठे सुविधा सम्पन्न छात्रावास भवन निर्माण भएको लोमान्थाङ गाउँपालिकाका सवईन्जिनीयर उदय तिमिल्सिनाले जानकारी दिनुभयो ।

 विस २०८१ साल जेठ २५ गते सन्त निर्माण सेवासंग दुई वर्षमा सम्पन्न गर्ने गरी छात्रावास निर्माणको ठेक्का सम्झौता गरिएको थियो । छात्रावास भवनको सम्झौता अवधि विस २०८३ जेठ २० गतेसम्म तोकिएको थियो । भारत सरकारको अनुदान सहयोगमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन निर्धारित समयमा सम्पन्न भएको सवईन्जिनीयर तिमिल्सिनाले उल्ल्ेख गर्नुभयो ।

 यसअघि उक्त गुम्बा विद्यालयको भवन जीर्ण हुँदा गुम्बा विद्यालयको छात्रावासमा बस्ने विद्यार्थीहरुलाई निकै असहज हुने पुगेकोमा भवन निर्माणसंगै उक्त समस्या समाधान भएको छ ।

 यसअघि मुस्ताङमा भारत सरकारको आर्थिक अनुदान सहयोगमा आधा दर्जन भन्दा बढी विद्यालयहरुको शैक्षिक भवन निर्माण गरिएको थियो । भारत सरकारले यहाँका स्वास्थ्य संस्था,शैक्षिक संस्था र गुम्बाहरुलाई बिरामी बोक्ने एम्बुलेन्स समेत सहयोग गर्दैआईरहेको छ ।


प्रतिक्रिया