यहाँका पाँच स्थानीय तह मध्ये चार स्थानीय तहका उच्चलेंकमा औषभीय गुण भएको बहुमूल्य जटीबुटी यार्सा गुम्बा संकलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एक्याप जोमसोम र एक्याप लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्चलेंकहरुमा धमाधम यार्सा संकलन भईरहेको छ ।
यहाँका आधा दर्जन बढी उच्चलेंक, खर्क र पाटनमा यार्सा गुम्बा संकलन भईरहेको एक्यापले जनाएको छ । समून्द्री सतहको चार हजार माथिको उच्चउचाई क्षेत्रमा वन्य औषधीय जटिबुटी यार्सा पाईने गर्छ । बर्सेनि बैशाख महिनादेखि असार महिना संकलन गरिने यार्सा संकलन गर्न स्थानीय र जिल्ला बाहिरका मानिसहरुले सम्वन्धित संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी)ले तोकेको शुल्क तिरेर यार्सा संकलन अनुमति पत्र (पूर्जी) लिई उच्चलेंक र पाटनतर्फ प्रस्थान गरेका एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दिपक ओलीले जानकारी दिनुभयो । यार्सा संकलन छोडपूर्जी अनुमतिका लागि यहाँका विभिन्न समितिहरुले एक्याप कार्यालयबाट पूर्व लिखित अनुमति लिनुपर्ने प्रावधान रहेको उहाँको भनाई छ ।
मुस्ताङको पाँच स्थानीय तह मध्ये थासाङ,घरपझोङ,वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रका उच्चलेंक,खर्क र पाटनमा यार्सा संकलन कार्य सुरु भईसकेको हो ।एक्याप कार्यालयका प्राकृतिक स्रोत संरक्षण सहायक ओलीका अनुसार थासाङ गाउँपालिकाको कुञ्जो,कोवाङ,टुकुचे लगायतका संरक्षण व्यवस्थापन समितिले बैशाख २ गतेदेखि उच्चलेंकमा यार्सा संकलन फुकुवा गरेका हुन् ।
यसैगरी यहाँका घरपझोङ गाउँपालिका स्थित संरक्षण व्यवस्थापन समिति जोमसोमले बैशाख २५ गतेदेखि यार्सा संकलन फुकुवा गरेको समितिका सचिव पवन गुरुङले जानकारी दिनुभयो । जोमसोम संरक्षण क्षेत्र व्यवस्थापन समितिको मातहतमा रहेको घरपझोङ—५ छत्रबाङ लेंकदेखि नमखुलेंक, हुँदै लुप्रा लेंकसंग सिमाना जोडिएको कुङ्ले लेंकसम्मको क्षेत्रमा यार्सा संकलन फुकुवा गरिएको समिति सचिव गुरुङले उल्लेख गर्नुभयो । जोमसोम समितिले यार्सा संकलनका लागि जोमसोम समिति अन्तर्गत ढुम्बा,सम्ले,ठिनी र जोमसोमका रैथाने कुरिया दर्ता भएका स्थानीयलाई चार हजार र स्थानीयको घर खेत अधिया कमाएर बसेका व्यक्तिहरुलाई छ हजार शुल्क लिने गरी यार्सा संकलन गर्न अनुमति पत्र (पूजी) दिने गरेको सचिव गुरुङले बताउँनुभयो । जोमसोम समिति अन्तर्गतको लेंकमा हालसम्म ६५ जनाले अनुमति लिएका समिति सचिव गुरुङले जानकारी दिनुभयो ।
एक्याप अन्तर्गत वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले आईतबारदेखि यार्सा संकलन फुकुवा गरेको जनाएको छ ।समिति मातहतको उच्चलेंकमा यार्सा संकलन गर्ने अनुमतिका लागि स्थानीय व्यक्तिलाई तीन हजार र जिल्ला बाहिरका व्यक्तिलाई छ हजार रुपैया शुल्क तोकिएको समितिका सचिव लाक्पाटसी गुरुङले जानकारी दिनुभयो ।
मुक्तिनाथ माथिको रिसम्बा लेंक र लुप्रा गाउँ माथिको नेर झोङ उच्चलेंकमा यार्सा संकलन गर्न दुईदिनको फेरोमा १६५ जना व्यक्तिले अनुमति पत्र लिईसकेका छन् । मुक्तिनाथ क्षेत्रको उच्चलेंक ,खर्क र पाटनमा उच्चलेंकमा यार्सा अनुमति लिनेहरु शतप्रतिशत जिल्ला बाहिरका व्यक्तिहरु भएको सचिव गुरुङले बताउँनुभयो ।
गतवर्ष यार्सा गुम्बाको मूल्य भार कम भएकाले यसवर्ष यासां संकलनकर्ताहरु कम मात्रामा आएका मुक्तिनाथ समितिले जनाएको छ। गतवर्षको तुलनामा यसवर्ष मुक्तिनाथ लेंकमा यार्सा संकलन गर्नेको संख्या ५० प्रतिशतले घटेको समिति सचिव गुरुङको भनाई छ ।
वारागुङ मुक्तिक्षेत्र—२ को झोङ संरक्षण व्यवस्थापन समितिले पनि एक्यापबाट अनुमति लिएर उच्चलेंकमा यार्सा संकलन गर्न फुकुवा गरेको जनाईएको छ ।यसैगरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड—५ ताङ्ग्या स्थित सुर्खाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिले पनि यार्सा संकलन फुकुवा गरिसकेको एक्याप लोमान्थाङ प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । समिति अन्तर्गतको पा लेंकमा यार्सा संकलन गर्न समितिले एक्याप कार्यालयबाट अनुमति लिएको प्रमुख पौडेलको भनाई छ । प्रमुख पौडेलका अनुसार लोमान्थाङ गाउँपालिकामा यार्सा संकलन नहुने गरेको र लोघेरक दामोदरकुण्डमा सुर्खाङ समितिले मात्रै यार्सा संकलन फुकुवा गरेको जानकारी दिनुभयो ।
अन्नपूर्ण संरक्षित क्षेत्र अन्तर्गत यहाँका उच्चलेंकहरुमा एक्याप अन्तर्गतको समितिबाट यार्सा संकलन अनुमपतिपत्र (पूर्जी) वितरण गरिएको भएपनि यहाँका कतिपय गाउँका लेंकहरुमा यार्सा संकलन गर्न एक्यापको अनुमति नलिई गाउँसमाजबाटै यार्सा गुम्बा फुकुवा गरिएको छ । यहाँको घरपझोङ—२ मार्फा ,वारागुङ मुक्तिक्षेत्र अन्तर्गत छेङ्गुर,कागबेनी र छुसाङ लगायतका गाउँहरुबाट एक्यापको समन्वय नभई गाउँ समाजबाटै यार्सा संकलन फुकुवा गरिएको छ ।
मुस्ताङमा यार्सा गुम्बा संकलन गर्ने सिजन सुरु भएसंगै यहाँका उच्चलेंक,खर्क र पाटनहरुमा यार्सा संकलनकर्ताको चहलपहल बढेको छ । यार्सा संकलनका लागि एक दुई महिनासम्म लेंकमा बस्ने गरी खाने र बस्ने लगायतका बन्दोबस्तीका सामान साथै लिएर यार्सा संकलन गर्ने व्यक्तिहरु उच्चलेंकमा पुगिसकेका छन् ।
मुस्ताङका उच्चलेंकमा संकलन गरिएका यार्सा गुम्बा जिल्ला बाहिर लैजान परेमा सम्वन्धित स्थानीय तह,संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई राजश्व र दस्तुर बुझाउनु पर्ने हुन्छ । यसका अलावा यार्सा संकलन गर्ने व्यापारीले जिल्ला बाहिर ढुवानी गर्नु परेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नियम अनुसार प्रति केजी एकतिस हजार रुपैया राजश्व बुझाउनु पर्ने प्रावधान रहेको छ ।
यार्साको सिजन सुरु भएसंगै एक्यापले वन्यजन्तुको चोरी शिकारी,बन डढेलो नियन्त्रण र उच्चलेंक ,खर्क र पाटनमा हुनसक्ने अवान्छित गतिविधि रोकथाम गर्न यसैवर्षदेखि एआई जडित ड्रोन क्यामेरा प्रयोगमा ल्याएको छ । उच्चलेकमा हुने सबै प्रकारको जोखिम र अपराध नियन्त्रण तथा त्यसको पहिचान गर्न एआई ड्रोन क्यामेरा प्रयोगमा ल्याएको हो । यसका अलावा वन तथा उच्चलेकहरुमा अपराधिक क्रियाकलाप रोक्न एक्यापद्वार प्रशासन,प्रहरी र संरक्षण क्षेत्र व्यवस्थापन समितिको रोहबर पैदल गस्ती समेत गर्ने गरिएको एक्यापले जनाएको छ ।
हिमाली क्षेत्रको उच्चलेंक,खर्क र पाटनमा पाईने औषधीय जटिबुटी यार्सा गुम्बा एक प्रकारको प्राकृतिक जीव र वनस्पति मिश्रित जीव हो । यसलाई कतिपयले यार्सा नभनी किरा टिप्न जाने भनेर समेत भन्ने गर्छन । हिमाली क्षेत्रको उच्चलेंकमा पाईने एक विषेश प्रकारको पुतलीको लार्भा (किरा) जमिनभित्र बस्छ । त्यस किराको शरीरमा ‘कर्डिसेप्स’नामको ढुसी प्रवेश गर्छ ।
ढुसीले विस्तारै किराको शरीरभित्र विकशित हुँदै किरालाई मारेपछि त्यसभित्र बस्छ । हिउँदयामको जाडो महिना सुरु हुँदा मृत किराको टाउँकोबाट सानो घाँस जस्तो डाँठ पैदा भई बाहिर निस्कन्छ । सोही किराको शरीर र माथि उम्रिएको ढुसी मिलेर बनेको वस्तुलाई यात्रा गुम्बा भन्ने गरिएको हो । समग्रतामा यार्सा भनेको गर्मीयामको घाँस र गुम्बा भनेको जाडोयामको किरा भन्ने तिब्बती अर्थबाट यसको नामाकरण गरिएको हो ।
हिमाली क्षेत्रमा पाईने यार्सा गुम्बाको सेवनले शारिरीक तन्दुरुस्ती र ताकत क्षमता बढाउने गर्छ । यार्साको सेवनले यौन क्षमता र रोग प्रतिरोधात्मक क्षमत बढाउन उपयोगी मानिन्छ । यार्सा गुम्बालाई विदेशीहरुले औषधी उत्पादनका लागि प्राकृतिक केमिकलको रुपमा प्रयोग गरिने भएकाले विश्व बजारमा बहुमूल्य यार्सा गुम्बाको खपत बढी हुने गरेको पाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली