मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ मन्दिरको शीरमा भगवान विष्णुले भोजन गर्ने ठाउँ अनौठो ‘विष्णु चुल्हो’ अवस्थित छ । मुक्तिनाथ मन्दिरबाट उत्तर÷पूर्वको मनाङ—मुस्ताङ थोरङ फेदीको केही तल चार हजार १०० मिटरको उचाईमा विष्णु चुल्हो रहेको छ ।
पौराणिक कालमा मुक्तिनाथ मन्दिर माथिको अग्लो विशाल पर्वतमालामा अवस्थित शालिग्राम ढुंगा जस्तै देखिने विष्णु चुल्होमा भगवान विष्णुले खाना पकाएर खाने गरेको धार्मिक किवंदन्ती रहेको छ । उक्त स्थानमा अरु धेरै स—साना पत्थर रुपी ढुंगाहरुमा विष्णु चुल्होको आकृतिहरु देख्न सकिन्छ । मुक्तिनाथ क्षेत्रको पर्वतमालामा अवस्थित विष्णु चुल्होमा भगवान विष्णुले तपस्या गर्दा खान पकाएर खाने गरेको धार्मिक जनविश्वास रहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो ।
पौराणिक मान्यता अनुसार उक्त विष्णु चुल्हो रहेको स्थानमा बसेर भगवान विष्णुले तपस्या गरी बसेको भन्ने भनाई छ । पौराणिक कालमा विष्णु भगवान तपस्यामा लीन हुँदा ब्रह्माजीले ‘विष्णु चुल्होमा खीर पकाएर विष्णु भगवान र अन्य देवीदेवताहरुलाई खुवाएको धार्मिक जनविश्वास रहेको व्यवस्थापक भुसालले बताउँनुभयो । उहाँका अनुसार ब्रह्माजीले विष्णु भगवानलाई खीर पकाएर भोजन गराएको स्थान ‘विष्णु चुल्हो’ भन्दा केही तल मुक्तिनाथ परिसरको ज्वालामाई रहेको स्थानमा खीर परेको भन्ने भनाई छ । यसैका कारण ज्वालामाई रहेको माटो सुँघ्दा खीर जस्तो वासना आउने गरेको व्यवस्थापक भुसालले उल्लेख गर्नुभयो ।
भगवान विष्णु तपस्या गरी बसेको स्थानमा रहेको विष्णु चुल्हो दुरुस्तै कालो शालिग्राम ढुंगामा कुदिएको जस्तो आकृतिको छ । विष्णु चल्होको आकार करिव तीन फिट लम्बाई र एक फिट चौडाईको छ । चुल्होको उचाई पनि करिव एक फिट बढी छ । यो चुल्हो भगवान विष्णुको शक्तिबाट प्राकृतिक रुपमा उत्पती भएको बताईन्छ । विष्णु चुल्हो ढुंगामा खानेकुरा पकाउने ठाउँ,अचार पिस्ने ठाउँ, डाडु पन्यु र दाबिलो आदी राख्ने ठाउ लगायतका विभिन्न आकृतहरु अवलोकन गर्न सकिन्छ ।
हिन्दु शास्त्रमा उक्त स्थानमा अवस्थित विष्णु चुल्होलाई भगवान विष्णुले तपस्या गर्दा खानेकुरा पकाएर खाने गरेको उल्लेख गरिएपनि बौद्ध मागीहरुले उक्त कालो ढुंगामा रहेको चुल्हो आकृतिको ढुंगालाई फरक ढंगले अथ्र्याउने गरेको पाईएको छ ।
यहाँका स्थानीय बौद्धमार्गीहरुका अनुसार मुक्तिनाथ मन्दिरको शीरमा रहेको उक्त विष्णु चुल्होलाई स्थानीय भाषामा ‘आमा झ्यातङ धोङ्बु’ भन्ने गरेको पाईएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङका अनुसार मुक्तिनाथ पर्वतमालामा अवस्थित विष्णु चुल्होलाई बौद्धमागीहरुले ‘आमा झ्यातङ धोङ्बु’ भन्ने गरिएको बताउँनुभयो । गुरु पद्यसंम्भव अर्थात गुरु रिन्पोर्छेले ध्यान साधना गर्ने बेलामा खाना पकाएर खानका लागि उक्त ढुंगालाई चुल्होको रुपमा प्रयोग गरेको अध्यक्ष गुरुङको भनाई छ ।
यसैगरी घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जोमसोमदेखि तल्लो क्षेत्रका थकाली समुदायले उक्त स्थानको विष्णु चुल्होलाई स्थानीय भाषामा ‘कोदो झ्योदो’ भन्ने गरिएको बताउँनुभयो । ‘हामी बाल्य अवस्थामा पनि यहाँ आएर चुल्हो हेर्न गरेका थियौं, साथीभाईहरुलाई पनि ‘कोदो झ्योदो’ जाउँ भन्ने गथ्यौं’’, उहाँले भन्नुभयो ।
हिन्दु तथा बौद्ध धर्म अनुसार फरक फरक धारणा रहेपनि पवित्र मुक्तिनाथ पर्वतमालामा अवस्थित विष्णु चुल्होलाई व्यवस्थित र आवश्यक प्रचार÷प्रसार गर्न सकिएमा धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताईएको छ । बर्सेनि लाखौलाख धार्मिक पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरेपनि उक्त विष्णु चुल्होको बारेमा जानकारी नहुँदा उक्त स्थान गुमनाम जस्तै रहेको छ ।
मुक्तिनाथ मन्दिरबाट आधा घण्टाको पैदल दुरीमा सहज पुग्ने सकिने उक्त स्थानको विष्णु चुल्हो रहेको स्थानमा मन्दिर स्थापना गरिएको छ । मन्दिर भित्र रहेको चुल्होमा आकलझुकल स्थानीयहरुले कहिलेकाही दर्शन र पुजा गर्ने गरेको पाईएको छ । विष्णु चुल्हो रहेको स्थानमा एक जना साँधुले नियमित पुजाअर्चना गर्ने गरेको पाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली