मुस्ताङको घरपझोङमा सिसाजन्य बियर मदिरा नष्ट

जोमसोम— मुस्ताङको घरपझोङ गाउँपालिकाले सिसाजन्य बियर मदिरा तथा पेय पदार्थ आयातमा प्रतिबन्ध लगाउँदै बजार अनुगमनलाई तिब्र बनाएको छ ।

प्रतिबन्ध गरिएको सिसाजन्य बियर मदिरा बिक्रीमा राखिएको भन्दै मुस्ताङको घरपझोङ गाउँपालिकाले सदरमुकाम जोमसोमको एक होटलबाट बुधबार बियर मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

गाउँपालिकाको नियमित बजार अनुगमनका क्रममा  जोमसोम स्थित होटल लेकाली चुल्हो एण्ड होमस्टेबाट सिसाजन्य बियर मदिरा नियन्त्रणमा लिएको हो । उक्त होटलबाट सिसाजन्य मदिरा ३३० एमएलको गौर्खा एक्स स्ट्रेड बियर २६ वटा, गोर्खा बियर स्ट्रङ मदिरा ६२० एमएलको ८ वटा र टुबोर्ग बियर ६५० एमएलको ९ वटा गरी ४३ वटा सिसाको बोतलमा भण्डारण गरिएको बियर मदिरा गाउँपालिकाको अनुगमन टोलीले नियन्त्रणमा लिएको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थापामगरले जानकारी दिनुभयो । 

यसैगरी बजार अनुगमनका क्रममा रिजाल स्टोरीबाट खानका लागि अयोग्य कुहिएको आलु ११ केजी ७२० ग्राम बरामद गरिएको उपाध्यक्ष थापामगरले उल्लेख गर्नुभयो ।

 बजार अनुगमनपछि घरपझोङ गाउँपालिकाले प्रहरी,प्रशासन र पत्रकारहरुको रोहबरमा जोमसोम स्थित कालिगण्डकी छेउ खाडल खनी नष्ट गरेको कार्यपालिका सदस्य भिषण थकालीले जानकारी दिनुभयो । कार्यपालिका सदस्य थकालीले मदिराजन्य बियर मदिरा र कुहिएको खान अयोग्य आलु नष्ट गरिएको र बियरको बोतललाई फोहोरमैला संकलनमा व्यवस्थापन गरिएको बताउँनुभयो ।

 मुस्ताङको घरपझोङ गाउँपालिकाले सिसाजन्य पेय पदार्थ बिक्री बितरणमा २ वर्षअघिनै प्रतिबन्ध लगाएको छ । सिसाजन्य पेय पदार्थ बिक्री वितरणले वातावरणीय क्षति हुने र यसले सदरमुकामको सौन्दर्यतामा समेत प्रतिकुल असर पु¥याउने भएकाले सिसाजन्य मदिरा बिक्री बितरणमा प्रतिबन्ध लगाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा प्लास्टिक र सिसाजन्य पदार्थ प्रयोगमा प्रयोग नल्याईएको गाउँपालिकाले व्यवसायीहरुलाई सचेत गराउँदै आईरहेको छ । सिसाजन्य पेय पदार्थ स्वास्थ्यका लागि हानिकारक र जोखिम हुने भएकाले गाउँपालिकाले त्यसको सट्टामा क्यान मदिरा बिक्री बितरण गर्न समेत आग्रह गरेको छ ।


प्रतिक्रिया