नयाँ पुस्तालाई ‘स्याब्रो र टुङ्ना’ सिकाउँदै एकिकृत सेवा कार्यालय

यहाँको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका— १ स्थित चराङमा नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नृत्य स्याब्रो र टुङ्ना बाजा बजाउने प्रशिक्षण दिईएको छ ।

‘ज्येष्ठ नागरिकमा रहेको परम्परागत ज्ञान सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण’ कार्यक्रममा लोघेकर दामोदरकुण्ड —१ चराङ गाउँका नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नाच स्याब्रो र टुङ्ना बाजाको प्रशिक्षण दिईएको हो । गण्डकी प्रदेश सरकार,उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास,युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको एकिकृत सेवा कार्यालय मुस्ताङले सोमबार परम्परागत ज्ञान सीप र अनुभव अन्तरप पुस्ता हस्तान्तरण कार्यक्रम आयोजना गरेको हो । अन्तर पुस्ता हस्तान्तरणको समन्वय लोघेकर दामोदरकुण्ड गाउँपालिकाले गरेको थियो ।

 स्थानीय लोपोन्मुख अवस्थामा रहेको स्थानीय सांस्कृतिक नाच स्याब्रो र टुङ्ना बाजालाई संरक्षण,सम्वद्र्धन तथा प्रर्वद्धन गर्ने उद्देश्यले अन्तर पुस्ता ज्ञान सीप र अनुभव हस्तान्तरण कार्यक्रम आयोजना गरिएको एकिकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । चराङ स्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सभाहलमा आयोजित ज्ञान सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण कार्यक्रममा  चराङ मानेपेमे आमा समूहका ज्येष्ठ नागरिकहरुले चराङ गुम्बा विद्यालय र आनी गुम्बा विद्यालयका  विद्यार्थीहरुलाई परम्परागत नाच स्याब्रो नाच्ने कलाको प्रशिक्षण गराइएको छ । यसैगरी परम्परागत टुङ्ना बाजाको प्रशिक्षण स्थानीय ज्येष्ठ नागरिक टै आङगे गुरुङले गर्नुभएको थियो ।


सदिंयौ वर्षदेखि सांस्कृतिक धरोहरको रुपमा रहेको स्याब्रो नाच र परम्परागत बाजा टुङ्ना उपल्लो मुस्ताङको मौलिक संस्कृति रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गर्नुभयो । माथिल्लो मुस्ताङको महत्वपूर्ण चाडपर्वहरुमा यसप्रकारको स्याब्रो नाच देखाईने गरिएको उहाँको भनाई छ । 

‘स्याब्रो र टुङ्ना बाजा चाडपर्वहरुमा देखाईने गरिन्छ, यसप्रकारको परम्पराले यहाँको मौलिक कलासंस्कृतिलाई जिवन्त राखेको छ, अध्यक्ष बिष्टले भन्नुभयो,‘पछिल्लो समय नयाँ पुस्ताहरु विदेश पलायन हुने र गाउँघरमा भएकाले युवाहरुले पनि आधुनिकतालाई पछ्याउँदै संस्कृति जोगाउन मुश्किल परेको छ ।’

 उपल्लो मुस्ताङमा बर्सेनि मनाईने यार्तुङ पर्व, तिजी पर्व र धज्याङ पर्व लगायतका सांस्कृतिक चाडपर्वमा स्याब्रो नाच र टुङ्ना बाजा बजाउने प्रचलन रहेको छ ।

  परम्परागत ज्ञान सीप र अनुभवको अन्तर पुस्ता हस्तान्तरण कार्यक्रमले स्थानीय लोपोन्मुख नाच र बाजा बजाउने कलालाई पछिल्लो पुस्तासम्म लैजान टेवा पुग्ने कार्यालय प्रमुख निरपति दर्जीले उल्लेख गर्नुभयो । ज्येष्ठ नागरिकहरुले आफ्ना विगतका रहनसहन र संस्कार, संस्कृति,ईतिहाँसलाई जीवनको अमूल्य अनुभवहरुको जिवन्त प्रस्तुतीकरण गर्दै पुस्तान्तरणको सन्देश प्रवाह गरेको प्रमुख दर्जीले बताउँनुभयो ।

 एकिकृत सेवा कार्यालय मुस्ताङको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उपल्लो मुस्ताङको सांस्कृति परम्परा जोगाउन नयाँ र पुराना पुस्ताबीचको सम्वन्धलाई थप प्रगाढ तुल्याउने विश्वाश गरिएको छ ।


प्रतिक्रिया